आज वडा दशैंको दोस्रो दिन अर्थात एकादशी । आज पनि मान्यजनबाट टीका र आर्शिवाद ग्रहण गरिदैछ । चाडपर्व नेपाली समाजको सांस्कृतिक पहिचान, पारिवारिक एकता र सामाजिक सद्भावका प्रतीक हुन्। दशैँ, तिहार, छठलगायतका पर्वले परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर प्रदान गर्छन्। तर, चाडपर्वको यही उल्लासका बीच जुवातास, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र लापरबाहीले निम्त्याउने दुर्घटनाले पर्वको खुसीलाई दुःखमा बदल्ने गरेका छन्। त्यसैले चाडपर्व मनाउँदा मनोरञ्जनसँगै जिम्मेवारी र सावधानीलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ।
मनोरञ्जनका रूपमा सुरु भएको खेल कतिपय अवस्थामा आर्थिक लेनदेन, हारजितको तनाव, पारिवारिक कलह र ऋणको बोझसम्म पुग्छ। छिट्टै धनी बन्ने लोभ र हारेको रकम फिर्ता पाउने आशाले मानिसलाई थप जोखिममा धकेल्छ। चाडपर्वको खुसीलाई पैसाको हारजितसँग जोड्नु दुखद हुन्छ । जुवातासबाट टाढा रहँदै परिवारसँग समय बिताउने, सांस्कृतिक गतिविधिमा सहभागी हुने र सामाजिक सद्भाव बढाउने कदमले खुसी बढाउँछ । जुवाजन्य गतिविधि नियन्त्रण गर्नु राज्यको दायित्व हो भने त्यसबाट टाढा रहनु नागरिकको पनि जिम्मेवारी हो।
अर्कोतर्फ, चाडपर्वमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्छ। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र लामो दूरीको यात्रा गर्दा पर्याप्त विश्राम नलिने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउँछ। केही मिनेट छिटो पुग्ने हतारले जीवनभरको पीडा निम्त्याउन सक्छ। चालकले गति नियन्त्रण गर्ने, हेल्मेट तथा सिटबेल्ट प्रयोग गर्ने, सवारीको अवस्था जाँच गर्ने र ट्राफिक नियम पालना गर्नुपर्छ। यात्रुले पनि चालकलाई नियम उल्लङघन गर्न दबाब दिनु हुँदैन।
सरकार, सुरक्षा निकाय र ट्राफिक प्रहरीले निगरानी, जनचेतना र प्रभावकारी नियम कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ। नागरिकले पनि आफ्नो व्यवहारमा जिम्मेवारी देखाउनुपर्छ। चाडपर्वको वास्तविक खुसी महँगो भोज, तडकभडक वा जुवाको हारजितमा होइन, सुरक्षित यात्रा, स्वस्थ परिवार र शान्तिपूर्ण समाजमा निहित छ। यसपालिको चाडपर्वलाई जुवातास तथा मदक पदार्थरहित, सडक अनुशासन पालना गर्ने पर्व बनाऔँ। आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। खुसी बाँडौँ, जोखिम घटाऔं ।

