प्राकृतिक प्रकोपको पूर्वानुमान सतप्रतिशत संभव छैन । कतिपय पूर्वानुमान मेल नखान पनि सक्छ, र कहिलेकाहीँ मानवीय हेलचक्राइमा कारण क्षति भयावह हुन सक्छ। बुधबार रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीले नेपालका विपद् व्यवस्थापन प्रणालीको वास्तविक क्षमता फेरि उजागर गरेको छ। तिब्बततर्फबाट अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायतका क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति गर्यो। बाढीको प्रभाव रसुवामा मात्रै सीमित रहेन नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका नदी तटीय क्षेत्रमा समेत मानवीय क्षति भएको छ।हालसम्म ३५९ जनाको शव फेला परेको छ । बेपत्ताहरुको अझै यकिन तथ्याङ्क छैन । पीडित प्रभावितहरुको चित्कारले सिङ्गो देश शोकमा छ । तर यो पीडा र दर्दनाक अवस्थाबाट धैर्य गरि उठ्नुको विकल्प छैन ।
यो घटना केवल प्राकृतिक विपद्को इतिहास हैन, विपद्पूर्व तयारीप्रतिको गम्भीर प्रश्न पनि हो। हिमताल फुटेको, हिमपहिरो गएको वा नदी थुनिएर एक्कासि पानी छेडिएको के हो यसको प्रारम्भिक अनुमान मात्रै आइरहेको छ । यसले जोखिमयुक्त हिमाली नदी प्रणालीको नियमित निगरानी आवश्यक थियो कि भन्ने प्रश्न उठेको छ।
सरकारले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यो घोषणा र राहतसँगसँगै उद्धार, बेपत्ताको खोजी, पीडितको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई पारदर्शी र समयबद्ध बनाउनुपर्छ। पीडीत परिवारलाई शव पहिचान, संस्कृति अनुरुप अन्तिम संस्कारमा समन्वय र सहायतासँगै मनोसामाजिक परामर्शको पनि जरुरी छ ।
उद्धार गरिएका र प्रभावितहरुको लागि अहिले सबैभन्दा अत्यावश्यक छ खाना, पानी, औषधि, कपडा, आश्रय । विपदग्रस्त क्षेत्रमा महामारी फैलन संभावना उत्तिकै छ । दूषित पानी वा सरसफाइको कमीको कारण स्वास्थ्य समस्या देखिन सक्छ । उद्धार गरिएका, घरबार विहीन भएका बालबालिका, वृद्धाहरु, गर्भवती वा बिरामीका लागि विशेष व्यवस्थामा ध्यान दिनु पर्नेछ । सँगसँगै विभिन्न प्रकारको सुरक्षाको पाटोमा पनि ध्यान दिनु जरुरी छ। सुरक्षाको पाटोमा बालिका र महिला त्यसमा पनि अपाङ्गता भएकाहरुलाई बढी ध्यान दिनु जरुरी छ ।
अझै जोखिमको समाचारहरु आइरहेका छन् । जोखिमयुक्त ठाउँमा बस्दै आएका स्थानीयहरुलाई स्थानीय तहले सहज समन्वय गरेर सुरक्षित राख्ने व्यवस्था मिलाओस् । प्रभावित परिवारलाई अवस्थाकता अनुसारको सुरक्षा, राहत, सहजिकरणमा हातेमालो गरौ ।
यो बाढीलाई केवल दुःखद् घटना मानेर बिर्सनु अर्को विपद्को निम्तो हुनेछ। यसलाई वैज्ञानिक जोखिम मूल्यांकन, प्रभावकारी पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती विकास र जवाफदेही विपद् व्यवस्थापनको राष्ट्रिय पाठ बनाउनुपर्छ। विपद् रोक्न नसकिएला, तर क्षति घटाउने जिम्मेवारी राज्यको हो, राज्यसँगै नागरिकले पनि समन्वय र हातेमालो गर्नु जरुरी छ । प्रकोपबाट विस्तारै जीवन लयमा आउनेछ । यसपछिका कार्यहरु रफ्तारमै अधि बढ्ने नागरिक अपेक्षा छ । यस्तै विपदमा विभिन्न हिंसा तथा बेचविखनको जोखिम पनि बढ्न सक्छ । सचेत बनौं, मानवीयता प्रकट गरौं, आधिकारिक सूचनाहरु पछ्याउने र अफवाह फैलाउने कार्यको निरुत्साहन गरौं । धैर्यताको विकल्प रहेन, एकअर्कोलाई साथ दिउँ । घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना । ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली परिवारमा गहिरो समवेदना ।

