मकवानपुर। हेटौँडाबाट राप्ती पुल हुँदै लोथरसम्म जोडिने सडकखण्ड जीर्ण बनेपछि मर्मतको लागि सात दिने अल्टिमेटम दिइएको छ ।
नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका–१९ वडा इकाई समितिले तत्काल मर्मतसम्भार गर्न माग गर्दै यस्तो अल्टिमेटम दिएको हो। समितिले सडक मर्मतको काम सात दिनभित्र सुरु गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको हो ।
समितिका सभापति सुजन बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सात दिनभित्र सडक मर्मतको काम सुरु गर्न माग गरेका हुन्।
ध्यानाकर्षणपत्रमा सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी परेको, सडकका किनारा भत्किएको तथा सतह बिग्रिएको उल्लेख गर्दै सवारी आवागमन जोखिमपूर्ण बनेको जनाइएको छ।
सडकको दुरवस्थाका कारण मोटरसाइकललगायतका सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको र स्थानीयले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको समितिको भनाइ छ।
सडकको खराब अवस्थाले स्थानीय नागरिकको सुरक्षा, सहज आवागमन, रोजगारी तथा व्यवसायमा समेत प्रत्यक्ष असर पारेको भन्दै समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समितिले सडक मर्मतका लागि आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापन गरी तत्काल काम अघि बढाउन माग गरेको छ।
सात दिनभित्र मर्मतसम्भारको काम सुरु नभए प्रभावित क्षेत्रका नागरिक, युवा तथा सरोकारवालालाई एकजुट बनाएर शान्तिपूर्ण जनदबाबमूलक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
विवाद र अवरोध सिर्जना गर्नु आफ्नो उद्देश्य नभएको उल्लेख गर्दै समितिले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ।
ध्यानाकर्षणपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई समेत दिइएको छ।
मकवानपुर । मकवानपुरको भीमफेदी १ भैसेंमा सुमो खोलामा खस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । बिहीबार बिहान रौतहटबाट हेटौंडा- भैसे – भिमफेदी हुँदै काठमाडौ जान लागेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भइ नदीमा खस्दा ३ जनाको ज्यान गएको हाे भने ७ जना घाइते भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका रौतहट चन्द्रनिगाहपुर – ३ बस्ने ५० वर्षीय बम बहादुर वाइबा र चन्द्रनिगाहपुर – ४ बस्ने २२ वर्षीय जेसिका तिमिल्सिना तथा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ कै २५ वर्षीया अनुसा लामाकाे उपचारकाे क्रममा मृत्यु भएको छ । उक्त सुमो घुम्तिमा आफै अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको थियोे ।
सुमो चालक सहित १० जना सवार सुमाे दुर्घटनामा घाइतेहरुलाई तल्काल उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा ३ जनालाई डाक्टरले मृत घोषना गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भैरहेको तथा अबस्था मध्यम रहेको छ ।
घाइतेहरुकाे विवरण
१. रौतहट चन्द्रनिगाहपुर न.पा. ४ बस्ने बर्ष ३३ को कालुमान लोप्चन अवस्था सामान्य ( चालक)
२. रौतहट चन्द्रनिगाहपुर न.पा.३ बस्ने बर्ष १६ को निमा थिङ बायाँ काध र दायाँ हात चोट अवस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष ५८ को कान्छा धोज बाया करङमा चोट अवस्था सामान्य
४.ऐ.ऐ बस्ने बर्ष १५ कि सुमिना थिङ ढाडमा चोट अवस्था सामान्य
५.ऐ.ऐ बस्ने १६ बर्ष को शिखा लामा ढाडमा चोट अवस्था सामान्य
६.रौतहट चन्द्रनिगाहपुर ना.पा.-३ बस्ने बर्ष ५५ कि हरिमाया थिङ सामान्य
७.रौतहट चन्द्रनिगाहपुर न.पा- ४ बस्ने बर्ष १९ को वय हाङ राना मगर टाउको र ढाडमा चोट अवस्था सामान्य
मकवानपुर । अवैध रूपमा थप सिट जडान गरिएका ४ वटा विद्युतीय गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही गरिएको छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चेकप्वाइन्ट अगाडि सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा अवैध सिट जडान गरिएको गाडी फेला परेको हो ।
सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका ४ वटा गाडी फेला पारेको थियो ।
उक्त सवारी साधनहरूमा तोकिएको १४ सिट क्षमता भन्दा थप ४/४ वटा सिट जडान गरी सञ्चालन गरिएको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम जनही रु. १० हजारका दरले जरिवाना गरिएको हो।
ती सवारीमा थप गरिएका सिटहरु निकालिएको छ । जिप्रका मकवानपुरका अनुसार बा.प्र.०८-००१ ज ००४२, बा.प्र.०१-००२ ज ६२३९, बा.प्र.०१-००२ ज ७००६ र बा.प्र.०१-००२ ज ६९८१ नम्बरका विद्युतीय गाडी थिए ।
राप्ती सफाइमा जुटे अभियन्ता र जनप्रतिनिधि (फोटो फिचर)
Tags: No Comments
मकवानपुर । नदी सभ्यता संरक्षण लक्षका साथ हेटौंडाका नगर प्रमुखलगायत अभियन्ताहरु जुटेका छन् । डिभिजन बन कार्यालय हेटौंडाको आयोजना तथा उपमहानगरको सहकार्यमा विभिन्न संघसंस्थाको सहभागीतामा राप्ती सफाइ अभियान अन्तरगत चौथो राप्ती नदी सरसफाइ दिवसमा नदी सफाई गरिएको हो ।
स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान भन्ने नारा सहित हेटौंडा वडा १० बाट राप्ती नदी सफाइ गरिएको हो ।
२०७२ सालमा सुरु गरिएको मकवानपुरको भिमफेदी,हेटौंडादेखी चितवनको गोलाघाटसम्म राप्ती सरसफाइ महाभियान जारी छ । जस अन्तरगत मंसिर १ गते विशेष अभियान सहित सफाइ गरिन्छ ।
नदी सफा राख्ने पहिलो उद्देश्य हो । राप्ती नदी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी भएकोले पनि सफाइ आवश्यक रहेकोले यो अभियान थालिएको हो। राप्ती नदीसँग गैडा, हात्ती, डलफिनलगायत वन्यजन्तुको जीवन पनि जोडिएकोले नदी सफाई अन्यन्तै महत्त्वपूर्ण भएको डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले बताउनु भयो ।
फोहोरले पानीको गुणस्तरलाई बिगार्ने संगै जीवन नै नष्ट गर्ने चुनौती बढेको चन्द्रवंशीले बताउनुभयो । “यस्तो सफाई बार्षिक रुपमा हैन महिनामा एकपटक सबै जुटेर र दैनिक व्यक्तिले आफ्नो वरपरको नदि सफा राख्नुपर्ने भएकोले जनचेतनाको पाटोलाई सशक्त बनाउनु पर्छ” उहाँले भन्नुभयो “जलचर तथा निकुञ्जको वन्यजन्तुले पानी पिउने क्रममा प्लास्टिक पनि खाँदा स्वास्थ समस्या बढेको छ ।”
धार्मिक संस्कारपछि पूजाको सामग्री खोलामा फाल्ने परम्पराले समस्या बढेको छ । औद्योगिक सामग्री बोक्ने गाडी धुने, होटलको सफाई खोलामा फाल्दा, नदीमा आएर चोख्खिने संस्कारका हामी छौ, झन् फोहोर हुने पीडा भएकोले यसलाई नियमित रुपमा सफाइ गर्ने योजना रहेको चन्द्रबंशीले बताउनुभयो । नदी सफाईमा सहभागी नगर प्रमुख मिनाकुमारी लामाले राप्ती जोगाउन सकिदा सबै जिवको जीवन जोगाउन सकिने बताउनु भयो ।
अभियानलाई कुनै दिन विशेषभन्दा पनि दैनिक सफाइ गर्नुपर्ने लामाले बताउनु भयो । आज मकवानपुर जिल्लामा मात्रै ३ स्थानबाट नदी सफाइ गरेको वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ नम्वर वडाले वडा स्तरीय स्नुकर च्याम्पियनसीप सुरु गरेको छ ।
सोमबार हेटौंडा १५ मा खेलको उद्घाटन गर्नुहुदै बागमती प्रदेश पुर्व मन्त्री एकालाल श्रेष्ठले जिविकोपार्जनसंगै खेल क्षेत्रको लगाव प्रभावकारी बन्दै आएको बताउनु भयो ।
युवालाई खेलमा लाग्नुपर्ने औल्याउँदै खेलबाट युवा सशक्तीकरण संभव भएको उहाँले बताउनु भयो । विभिन्न दुर्व्यसनीमा युवाहरू फस्ने क्रम बढिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो “खेलले जीवनलाई अनुशासित र सभ्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।”
कार्यक्रममा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तानले खेलले ब्यक्तिलाई समाजमामात्र नभइ देश र अन्तरराष्ट्रिय स्तरमा समेत चिनाउने बताउनुभयो ।
गत भदौ १० गते रसुवा जिल्लामा आएको बाढीमा परेर ज्यान गुमाएका हेटौडा १५ का युवाहरु सुमन गोले र रमेश थापा मगरको स्मरणमा वडाले यो प्रतियोगिता गरेकझ मोक्तानले बताउनु भयो ।
मंसिर ४ गतेसम्म चल्ने प्रतियोगितामा १५ नम्बर वडाका मात्रै १८ जना खेलाडीहरुले खेल्नेछन् ।
प्रतियोगितामा विजेताले ३० हजार नगर सहित ट्रफि प्राप्त गर्ने छन् । यसैगरी उपविजेताले १५ नगदसहित ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमीफाइनल चरणमा प्रवेश गर्ने खेलाडिहरु २ जनालाई र उत्कृष्ट खेलाडि एक जनालाइ प्रोत्साहन स्वरुप ५/५ हजार प्रदान गरिने ।
उद्घाटन कार्यक्रममा वडा स्तरीय खेलकुद विकास समिति अध्यक्ष गोबिन्द नेगि, मकवानपुर जिल्लाका राष्ट्रिय स्नुकर खेलाडी नितेश खण्डवाललगायतको उपस्थिती रहेको थियो ।