राप्ती सफाइमा जुटे अभियन्ता र जनप्रतिनिधि (फोटो फिचर)
Tags: No Comments
मकवानपुर । नदी सभ्यता संरक्षण लक्षका साथ हेटौंडाका नगर प्रमुखलगायत अभियन्ताहरु जुटेका छन् । डिभिजन बन कार्यालय हेटौंडाको आयोजना तथा उपमहानगरको सहकार्यमा विभिन्न संघसंस्थाको सहभागीतामा राप्ती सफाइ अभियान अन्तरगत चौथो राप्ती नदी सरसफाइ दिवसमा नदी सफाई गरिएको हो ।
स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान भन्ने नारा सहित हेटौंडा वडा १० बाट राप्ती नदी सफाइ गरिएको हो ।
२०७२ सालमा सुरु गरिएको मकवानपुरको भिमफेदी,हेटौंडादेखी चितवनको गोलाघाटसम्म राप्ती सरसफाइ महाभियान जारी छ । जस अन्तरगत मंसिर १ गते विशेष अभियान सहित सफाइ गरिन्छ ।
नदी सफा राख्ने पहिलो उद्देश्य हो । राप्ती नदी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी भएकोले पनि सफाइ आवश्यक रहेकोले यो अभियान थालिएको हो। राप्ती नदीसँग गैडा, हात्ती, डलफिनलगायत वन्यजन्तुको जीवन पनि जोडिएकोले नदी सफाई अन्यन्तै महत्त्वपूर्ण भएको डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले बताउनु भयो ।
फोहोरले पानीको गुणस्तरलाई बिगार्ने संगै जीवन नै नष्ट गर्ने चुनौती बढेको चन्द्रवंशीले बताउनुभयो । “यस्तो सफाई बार्षिक रुपमा हैन महिनामा एकपटक सबै जुटेर र दैनिक व्यक्तिले आफ्नो वरपरको नदि सफा राख्नुपर्ने भएकोले जनचेतनाको पाटोलाई सशक्त बनाउनु पर्छ” उहाँले भन्नुभयो “जलचर तथा निकुञ्जको वन्यजन्तुले पानी पिउने क्रममा प्लास्टिक पनि खाँदा स्वास्थ समस्या बढेको छ ।”
धार्मिक संस्कारपछि पूजाको सामग्री खोलामा फाल्ने परम्पराले समस्या बढेको छ । औद्योगिक सामग्री बोक्ने गाडी धुने, होटलको सफाई खोलामा फाल्दा, नदीमा आएर चोख्खिने संस्कारका हामी छौ, झन् फोहोर हुने पीडा भएकोले यसलाई नियमित रुपमा सफाइ गर्ने योजना रहेको चन्द्रबंशीले बताउनुभयो । नदी सफाईमा सहभागी नगर प्रमुख मिनाकुमारी लामाले राप्ती जोगाउन सकिदा सबै जिवको जीवन जोगाउन सकिने बताउनु भयो ।
अभियानलाई कुनै दिन विशेषभन्दा पनि दैनिक सफाइ गर्नुपर्ने लामाले बताउनु भयो । आज मकवानपुर जिल्लामा मात्रै ३ स्थानबाट नदी सफाइ गरेको वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने तयारीमा आफूहरु लागेको बताउनु भएको छ ।
आज भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिषरमा आयोजना गरेको डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यसको तयारी भइरहेको बताउनुभएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, ‘प्रदेशका १३ जिल्लालाई योगमय जिल्ला बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याएको छ, योग साधना गर्ने पातञ्जल, पतञ्जली, जीवन बिज्ञान सबैलाई के के कुरामा सहयोग आवश्यक छ।’
योगमार्फत स्वस्थकर अभियानको लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो । ‘बागमती प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्न तयारीमा छौं, त्यसका लागि तपाईहरु लाग्नुस्’ उहाँले भन्नुभयो ।
प्रदेश सरकार प्रदेशस्तरको योग समिति बनाएको र त्यसलाई व्यबस्थापन गर्न कार्यबिधि बनिरहेको बताउदै उहाँले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गरेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकारले यसवर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौं, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जिवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने छ ।”
उहाँले डोलेश्वरमा किरियापुत्री भवन प्रयोग गरेर योग गर्न थालेको स्मरण गर्दै भन्नुभयो, ‘बागमती प्रदेश सरकारले डोलेश्वर महादेव मन्दिरमा धेरै संरचना बनाएको छ, अब एउटा धर्मशाला बन्न बाँकी छ, त्यसका लागि डिपिआस बन्दै छ, यसवर्ष बागमती प्रदेश सरकारबाट धर्मशाला निर्माणका लागि नौ करोड रुपैयाँको बजेट विनियोजन गरेका छौं, धर्मशाला बनेपछि त्यहाँको हलमा स्थायी रुपमा योग गर्न निकै सहज हुनेछ ।’
भक्तपुर जिल्लाबाट प्रदेश सरकारको नेतृत्व गरिरहदाँ मैले के गर्नु पर्छ ?, योग साधना क्षेत्रमा, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, विकास निर्माणको सन्दर्भमा र अन्य क्षेत्रमा पनि बागमती प्रदेश सरकाले गर्ने कुरामा पछाडि नपरी का मगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफू स्वास्थ्य मन्त्री हुँदा सिपाडोलमा डोलेश्वरबाट पाटी भञ्याड जाने बाटो निर्माणका लागि १६ करोड बजेटको व्यबस्था गरेको स्मरण गर्दै उहाँले यसवर्ष डोलेश्वरबाट आशापुरीसम्म धार्मिक पर्यटन प्रबर्दन गर्नुपर्छ भनेर १४ करोड रुपैयाँको बजेटका व्यबस्था गरि सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
भरतपुर। चितवनकाे भरतपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । महानगरपालिकाले तयार गरेकाे स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई नेपालमै पहिलो पटक समावेश गरिएको बताइएकाे छ ।
महानगरपालिकाले कक्षा ५ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो । भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको जानकारी दिए । चितवनमा पटक पटक रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिन विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उनले जानकारी दिए । चिकित्सक र शिक्षाविद्को परामर्शबाट पाठ्यक्रममा स्थान दिइएको बताइएकाे छ ।
नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको भन्दै नेपाल रक्तदाता सङ्गठनले यस कार्यको स्वागत गरेको छ । सङ्गठनले बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो कदम महत्त्वपूर्ण हुने जनाएको छ । सङ्गठनका प्रवक्ता विपिन पाठकका अनुसार केही समयअघि रक्तदान शिक्षा स्थानीय पाठ्यक्रममा समावेश गर्न माग गर्दै महानगरपालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।
रक्तदान शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा विस्तार गर्नुपर्नेमा जोड दिँदै सङ्गठनले यसलाई सामाजिक विषयको पाठ्यक्रममा समावेश गरी आगामी शैक्षिक वर्षदेखि देशभरका माध्यमिक तहका विद्यार्थीलाई समेत रक्तदान शिक्षा प्रदान गर्न आग्रह गर्ने योजना रहेको प्रवक्ता पाठकले जानकारी दिए ।
रक्तदान शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने महानगरपालिका प्रमुख चित्रसेन अधिकारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यसहित महानगरपालिका तथा नेपाल रक्तदाता सङ्गठनका सम्पूर्ण सदस्यप्रति सङ्गठनले आभार व्यक्त गरेको छ ।
बालमस्तिष्कमा मानवताको बीजारोपण गर्ने यो कदम सानो देखिए पनि अर्थपूर्ण र ऐतिहासिक रहेको सङ्गठनले दावी गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् । ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको छन् ।
भरतपुरमा संघीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दा बढी निजी अस्पताल छन् । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत संकलन गर्नुपर्ने बाध्यता हुने गरेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा पतञ्जली योग वडासमितिको आयोजना तथा ७ नं. वडा कार्यालयको सहयोगमा ५ दिने योग शिविर सञ्चालन हुने भएकाे हाे ।
आयोजक समितिले कार्तिक १३ गतेदेखि १७ गतेसम्म योग शिविर हुने जनाकारी दिएकाे छ । हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने शिविरमा शिविरमा दुई हजारभन्दा बढी मानिसलाई सहभागी गराउने लक्ष्य रहेको आयोजक समितिका संयोजक प्रकाश मैनालीले जानकारी दिए । योग शिविर बिहान ४ : ४५ बजेदेखि ७ बजेसम्म चल्नेछ । मानिसहरूले गर्ने विभिन्न गलत निर्णयलाई न्यूनीकरण गर्दै सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको बताइएकाे छ ।
शिविरमा सहभागीलाई योग समितिका केन्द्रीय प्रतिनिधि लवदेव मिश्रले प्रशिक्षण दिनेछन् । योगले नकारात्मक संगतबाट टाढा रहन, सकारात्मक सोचको विकास गर्न तथा खानपान र आहारविहारमा सुधार ल्याउन मद्दत गर्ने आयोजकको भनाइ छ । साथै, नसर्ने रोगको जोखिम न्यूनीकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको अभ्यास आवश्यक रहेको प्रचार प्रसार संयोजक नवराज खतिवडाले बताए ।
शिविर सञ्चालनका लागि वडा कार्यालयले दुई लाख रुपैयाँ सहयोग गर्ने भएकाे छ । शिविर सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान छ । अन्य रकम विभिन्न निकायबाट सहयोग उपलब्ध हुने आयोजकले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारकाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेकाे प्रदेश मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएकाे छ । चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको अनुगमन गर्दै उहाँले प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा सेवा विस्तारलाई निरन्तरता दिएको जानकारी दिनु भएकाे हाे ।
‘जनशक्ति अभाव र पर्याप्त भवन तथा भौतिक संरचना नहुँदा अस्पतालले चाहेजति सेवा विस्तार गर्न समस्या भइरहेको छ’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अस्पतालको क्षमता विस्तारमा प्रदेश सरकार केन्द्रित रहेको छ ।’ स्वास्थ्य उपचारका लागि नागरिकले अन्य जिल्ला धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेशका अस्पतालहरूमा विशिष्टीकृत तथा विशेषज्ञ सेवा विस्तार गर्न आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै अस्पतालहरूको सेवा र क्षमता थप विस्तार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
मुख्यमन्त्री थापा मगरका अनुसार हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब ४.५ प्रतिशत मात्र विनियोजन भएकाे छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वास्थ्य क्षेत्रमा बजेटको हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्यसहित आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो।
बकुलहर रत्ननगर अस्पतालको नयाँ भवन निर्माणको म्याद सकिए पनि निर्माण कार्य पूरा नगरेको र निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको विषयमा प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो। निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही अघि बढाउने तथा बैंक ग्यारेन्टी रोक्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउानु भयो। स्वास्थ्य चौकीकाे रूपमा सेवा दिदै आएकाेमा बकुलहर अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेकोले प्रदेशका सरकारी अस्पतालप्रति नागरिकको विश्वास र बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो।
अस्पतालमा हुने सामान्य घटनालाई लिएर तोडफोड गर्ने वा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रवृत्ति रोक्नु पर्ने उहाँकाे भनाई थियाे । स्वास्थ्य संस्थामा कुनै समस्या देखिएमा संवाद र सहजीकरणमार्फत समाधान खोज्नुपर्ने भन्दै उहाँले समाजका बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवालालाई त्यस्ता विषयमा सहजीकरण गर्न आग्रह गर्नुभयो। स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने कामसमेत अघि बढिरहेको उहाँले बताउनु भयो। स्वास्थ्य मन्त्रालयलाई डिजिटल प्रणालीमा लैजाने क्रममा डिजिटल एप्स, अनलाइन टिकट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मार्फत स्वास्थ्य सेवालाई पेपरलेस बनाउने सुरुवात भइसकेको उहाँले जानकारी दिनुभयो।
‘बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु गरिएको छ’ उहाँले भन्नु भयो ’आधारभूत अस्पतालहरूमा रहेको जनशक्ति र उपकरणको अभावलाई प्रविधिमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको छ ।’ हेटौंडा, भक्तपुर र सिन्धुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गरी २४ घण्टा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।