भरतपुर। चितवनकाे भरतपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । महानगरपालिकाले तयार गरेकाे स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई नेपालमै पहिलो पटक समावेश गरिएको बताइएकाे छ ।
महानगरपालिकाले कक्षा ५ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको हो । भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले महानगरले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरिएको जानकारी दिए । चितवनमा पटक पटक रगतको अभाव हुने भएकाले रक्तदान गर्न प्रेरणा दिन विपद् भन्ने पाठ्य क्षेत्रमा रक्तदानलाई समेटिएको उनले जानकारी दिए । चिकित्सक र शिक्षाविद्को परामर्शबाट पाठ्यक्रममा स्थान दिइएको बताइएकाे छ ।
नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको भन्दै नेपाल रक्तदाता सङ्गठनले यस कार्यको स्वागत गरेको छ । सङ्गठनले बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो कदम महत्त्वपूर्ण हुने जनाएको छ । सङ्गठनका प्रवक्ता विपिन पाठकका अनुसार केही समयअघि रक्तदान शिक्षा स्थानीय पाठ्यक्रममा समावेश गर्न माग गर्दै महानगरपालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।
रक्तदान शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा विस्तार गर्नुपर्नेमा जोड दिँदै सङ्गठनले यसलाई सामाजिक विषयको पाठ्यक्रममा समावेश गरी आगामी शैक्षिक वर्षदेखि देशभरका माध्यमिक तहका विद्यार्थीलाई समेत रक्तदान शिक्षा प्रदान गर्न आग्रह गर्ने योजना रहेको प्रवक्ता पाठकले जानकारी दिए ।
रक्तदान शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने महानगरपालिका प्रमुख चित्रसेन अधिकारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यसहित महानगरपालिका तथा नेपाल रक्तदाता सङ्गठनका सम्पूर्ण सदस्यप्रति सङ्गठनले आभार व्यक्त गरेको छ ।
बालमस्तिष्कमा मानवताको बीजारोपण गर्ने यो कदम सानो देखिए पनि अर्थपूर्ण र ऐतिहासिक रहेको सङ्गठनले दावी गरेको छ । महानगरपालिकाभित्र सामुदायिक विद्यालय १११ वटा र संस्थागत विद्यालय ९७ वटा रहेका छन् । ती विद्यालयमध्ये निम्न माध्यमिक तह अध्ययन गराउने सामुदायिकतर्फ ७४ र संस्थागततर्फ ८० वटा विद्यालय रहेको छन् ।
भरतपुरमा संघीय अस्पताल भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दा बढी निजी अस्पताल छन् । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत माग हुने गरेको छ । रगत अभावका कारण बिरामीले रक्तदाता खोजेर रगत संकलन गर्नुपर्ने बाध्यता हुने गरेको छ ।

