कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।
यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
पूजा विधि
- बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने
- भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।
- नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने
- दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।
- राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।
- भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।
एक पटक भगवान् नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ ! अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ । अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ ! तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ । तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो आग्रह अनुसार आजदेखि म हरेक वर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन् तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन् तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदंग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।
यसै सन्दर्भमा जालन्धर नामक असुरकी पत्नी वृन्दा पतिव्रता स्त्री थिइन् । उनलाई भगवान् शिवको आशीर्वाद प्राप्त थियो जबसम्म उनको पतिव्रता व्रत भङ्ग हुँदैन उनको पति जालन्धर जीवित रहनेछ । जालन्धर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान् विष्णुले जालन्धरको वेश धारण गरी वृन्दाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन् र उनको पतिव्रत भङ्ग भयो । वृन्दाको पतिव्रत भङ्ग भएपछि जालन्धर मारियो । विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाइन, तिनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादान गरे सरह फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।
रातोपाटीबाट

