मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सार्वजनिक पद अधिकार प्राप्त गर्ने माध्यम नभई जनताको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।
बागमती प्रदेश लोक सेवा आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले कर्मचारीतन्त्रमा पदको उपमा भन्दा पनि जनताको मनमा बस्ने राष्ट्रसेवकको भावना हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश प्रमुख देवकोटाले लोक सेवा आयोग सार्वजनिक प्रशासनलाई योग्य, सक्षम, निष्पक्ष र उत्तरदायी बनाउने मुख्य संवैधानिक संस्था भएको उहाँको भनाई थियो ।
उहाँले सुशासन र प्रशासनिक क्षमताको प्रमुख आधार नै दक्ष र योग्य जनशक्ति भएकाले योग्यताको कदर गर्दै निष्पक्ष प्रतिस्पर्धाबाट छनोट गर्नु आयोगको अपरिहार्य उत्तरदायित्व भएको स्पष्ट पार्नुभयो । छनोट प्रक्रियामा कुनै पनि प्रकारको पहुँच, दबाब, प्रभाव वा पूर्वाग्रहभन्दा माथि उठेर सीप र योग्यताको कदर गर्ने संस्थागत संस्कार विकास गर्नुपर्नेमा उहाँको जोड थियोे ।
“विश्वमा भइरहेको द्रुत परिवर्तनसँगै सूचना प्रविधिको अधिकतम उपयोग गरी परीक्षा प्रणालीलाई सरल र प्रविधिमैत्री बनाउन आवश्यक छ” देवकोटाले भन्नुभयो । आयोगको अध्यक्ष महेश्वर श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

