मकवानपुर । नदी सभ्यता संरक्षण लक्षका साथ हेटौंडाका नगर प्रमुखलगायत अभियन्ताहरु जुटेका छन् । डिभिजन बन कार्यालय हेटौंडाको आयोजना तथा उपमहानगरको सहकार्यमा विभिन्न संघसंस्थाको सहभागीतामा राप्ती सफाइ अभियान अन्तरगत चौथो राप्ती नदी सरसफाइ दिवसमा नदी सफाई गरिएको हो ।
स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान भन्ने नारा सहित हेटौंडा वडा १० बाट राप्ती नदी सफाइ गरिएको हो ।
२०७२ सालमा सुरु गरिएको मकवानपुरको भिमफेदी,हेटौंडादेखी चितवनको गोलाघाटसम्म राप्ती सरसफाइ महाभियान जारी छ । जस अन्तरगत मंसिर १ गते विशेष अभियान सहित सफाइ गरिन्छ ।
नदी सफा राख्ने पहिलो उद्देश्य हो । राप्ती नदी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी भएकोले पनि सफाइ आवश्यक रहेकोले यो अभियान थालिएको हो। राप्ती नदीसँग गैडा, हात्ती, डलफिनलगायत वन्यजन्तुको जीवन पनि जोडिएकोले नदी सफाई अन्यन्तै महत्त्वपूर्ण भएको डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले बताउनु भयो ।
फोहोरले पानीको गुणस्तरलाई बिगार्ने संगै जीवन नै नष्ट गर्ने चुनौती बढेको चन्द्रवंशीले बताउनुभयो । “यस्तो सफाई बार्षिक रुपमा हैन महिनामा एकपटक सबै जुटेर र दैनिक व्यक्तिले आफ्नो वरपरको नदि सफा राख्नुपर्ने भएकोले जनचेतनाको पाटोलाई सशक्त बनाउनु पर्छ” उहाँले भन्नुभयो “जलचर तथा निकुञ्जको वन्यजन्तुले पानी पिउने क्रममा प्लास्टिक पनि खाँदा स्वास्थ समस्या बढेको छ ।”
धार्मिक संस्कारपछि पूजाको सामग्री खोलामा फाल्ने परम्पराले समस्या बढेको छ । औद्योगिक सामग्री बोक्ने गाडी धुने, होटलको सफाई खोलामा फाल्दा, नदीमा आएर चोख्खिने संस्कारका हामी छौ, झन् फोहोर हुने पीडा भएकोले यसलाई नियमित रुपमा सफाइ गर्ने योजना रहेको चन्द्रबंशीले बताउनुभयो । नदी सफाईमा सहभागी नगर प्रमुख मिनाकुमारी लामाले राप्ती जोगाउन सकिदा सबै जिवको जीवन जोगाउन सकिने बताउनु भयो ।
अभियानलाई कुनै दिन विशेषभन्दा पनि दैनिक सफाइ गर्नुपर्ने लामाले बताउनु भयो । आज मकवानपुर जिल्लामा मात्रै ३ स्थानबाट नदी सफाइ गरेको वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो ।


