मकवानपुर । अवैध रूपमा थप सिट जडान गरिएका ४ वटा विद्युतीय गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही गरिएको छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चेकप्वाइन्ट अगाडि सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा अवैध सिट जडान गरिएको गाडी फेला परेको हो ।
सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका ४ वटा गाडी फेला पारेको थियो ।
उक्त सवारी साधनहरूमा तोकिएको १४ सिट क्षमता भन्दा थप ४/४ वटा सिट जडान गरी सञ्चालन गरिएको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम जनही रु. १० हजारका दरले जरिवाना गरिएको हो।
ती सवारीमा थप गरिएका सिटहरु निकालिएको छ । जिप्रका मकवानपुरका अनुसार बा.प्र.०८-००१ ज ००४२, बा.प्र.०१-००२ ज ६२३९, बा.प्र.०१-००२ ज ७००६ र बा.प्र.०१-००२ ज ६९८१ नम्बरका विद्युतीय गाडी थिए ।

