मकवानपुर । हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुवाहक सवारीसाधनलाई आज शुक्रबार एक दिन उक्त मार्ग भएर आवतजावत गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा मेला तथा जात्रा लाग्ने भएकाले उक्त मार्ग हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनामा शुक्रबार हरिबोधिनी एकादशीका अवसरमा त्रिखण्डीमा मेला लाग्ने भएकाले यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ भएर आवतजावत गर्न भनिएको छ ।
त्रिखण्डेश्वर महादेव मन्दिर सडकछेउमै भएकाले भक्तजनको भीडभाड र साँघुरो तथा भिरालो बाटोको जोखिमलाई मध्यनजर गर्दै यात्रा सुरक्षित र सहज बनाउन शुक्रबार उक्त सडक भएर यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी रुटको सट्टा उक्त दिन कान्ति लोकपथबाट आवतजावत गर्न तथा गराउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ,’ उनले भने ।
मकवानपुर। हेटौँडाबाट राप्ती पुल हुँदै लोथरसम्म जोडिने सडकखण्ड जीर्ण बनेपछि मर्मतको लागि सात दिने अल्टिमेटम दिइएको छ ।
नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका–१९ वडा इकाई समितिले तत्काल मर्मतसम्भार गर्न माग गर्दै यस्तो अल्टिमेटम दिएको हो। समितिले सडक मर्मतको काम सात दिनभित्र सुरु गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको हो ।
समितिका सभापति सुजन बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सात दिनभित्र सडक मर्मतको काम सुरु गर्न माग गरेका हुन्।
ध्यानाकर्षणपत्रमा सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी परेको, सडकका किनारा भत्किएको तथा सतह बिग्रिएको उल्लेख गर्दै सवारी आवागमन जोखिमपूर्ण बनेको जनाइएको छ।
सडकको दुरवस्थाका कारण मोटरसाइकललगायतका सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको र स्थानीयले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको समितिको भनाइ छ।
सडकको खराब अवस्थाले स्थानीय नागरिकको सुरक्षा, सहज आवागमन, रोजगारी तथा व्यवसायमा समेत प्रत्यक्ष असर पारेको भन्दै समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समितिले सडक मर्मतका लागि आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापन गरी तत्काल काम अघि बढाउन माग गरेको छ।
सात दिनभित्र मर्मतसम्भारको काम सुरु नभए प्रभावित क्षेत्रका नागरिक, युवा तथा सरोकारवालालाई एकजुट बनाएर शान्तिपूर्ण जनदबाबमूलक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
विवाद र अवरोध सिर्जना गर्नु आफ्नो उद्देश्य नभएको उल्लेख गर्दै समितिले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ।
ध्यानाकर्षणपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई समेत दिइएको छ।
मकवानपुर । मकवानपुरको भीमफेदी १ भैसेंमा सुमो खोलामा खस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । बिहीबार बिहान रौतहटबाट हेटौंडा- भैसे – भिमफेदी हुँदै काठमाडौ जान लागेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भइ नदीमा खस्दा ३ जनाको ज्यान गएको हाे भने ७ जना घाइते भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका रौतहट चन्द्रनिगाहपुर – ३ बस्ने ५० वर्षीय बम बहादुर वाइबा र चन्द्रनिगाहपुर – ४ बस्ने २२ वर्षीय जेसिका तिमिल्सिना तथा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ कै २५ वर्षीया अनुसा लामाकाे उपचारकाे क्रममा मृत्यु भएको छ । उक्त सुमो घुम्तिमा आफै अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको थियोे ।
सुमो चालक सहित १० जना सवार सुमाे दुर्घटनामा घाइतेहरुलाई तल्काल उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा ३ जनालाई डाक्टरले मृत घोषना गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भैरहेको तथा अबस्था मध्यम रहेको छ ।
घाइतेहरुकाे विवरण
१. रौतहट चन्द्रनिगाहपुर न.पा. ४ बस्ने बर्ष ३३ को कालुमान लोप्चन अवस्था सामान्य ( चालक)
२. रौतहट चन्द्रनिगाहपुर न.पा.३ बस्ने बर्ष १६ को निमा थिङ बायाँ काध र दायाँ हात चोट अवस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष ५८ को कान्छा धोज बाया करङमा चोट अवस्था सामान्य
४.ऐ.ऐ बस्ने बर्ष १५ कि सुमिना थिङ ढाडमा चोट अवस्था सामान्य
५.ऐ.ऐ बस्ने १६ बर्ष को शिखा लामा ढाडमा चोट अवस्था सामान्य
६.रौतहट चन्द्रनिगाहपुर ना.पा.-३ बस्ने बर्ष ५५ कि हरिमाया थिङ सामान्य
७.रौतहट चन्द्रनिगाहपुर न.पा- ४ बस्ने बर्ष १९ को वय हाङ राना मगर टाउको र ढाडमा चोट अवस्था सामान्य
मकवानपुर । अवैध रूपमा थप सिट जडान गरिएका ४ वटा विद्युतीय गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही गरिएको छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चेकप्वाइन्ट अगाडि सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा अवैध सिट जडान गरिएको गाडी फेला परेको हो ।
सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका ४ वटा गाडी फेला पारेको थियो ।
उक्त सवारी साधनहरूमा तोकिएको १४ सिट क्षमता भन्दा थप ४/४ वटा सिट जडान गरी सञ्चालन गरिएको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम जनही रु. १० हजारका दरले जरिवाना गरिएको हो।
ती सवारीमा थप गरिएका सिटहरु निकालिएको छ । जिप्रका मकवानपुरका अनुसार बा.प्र.०८-००१ ज ००४२, बा.प्र.०१-००२ ज ६२३९, बा.प्र.०१-००२ ज ७००६ र बा.प्र.०१-००२ ज ६९८१ नम्बरका विद्युतीय गाडी थिए ।
मकवानपुर । हेटौडा-भीमफेदी-काठमाडौँ सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षता बसेको बैठकले हेटौंडा भिमफेदी देउराली हेवी सडक खण्डलाई चौडा गर्ने र आवश्यक सडक पुलको उचित व्यवस्थापन तथा निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।
सवारि दुर्घटना न्युनिकरण्को लागि प्रदेश सरकारले यस्तो पहल थाल्ने निर्णय गरेको हो । अत्यावश्यक स्थानमा तत्का निमार्ण कार्य अगाडी बढाउन निर्देशन सो कार्यका लागि आवश्यक श्रोत व्यवस्थापन भौतिक पूर्वाधार विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयबाट गर्ने र आवश्यक थप बजेटका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको प्रदेश विपद् व्यवस्थापन कोषबाट समेत व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
सवारीको गुणस्तर मापन गर्नका लागि उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई VFTC (Vehicle Fitness Test Center) को स्थापना गर्नका लागि निर्देशन दिने, सोको सन्दर्भमा आवश्यक निर्णयको लागि आगामी प्रदेश मन्त्रिपरषद्को बैठकमा प्रस्ताव सोही मन्त्रालयले पेश गर्न समेत निर्देशन गर्ने निर्णय भएको छ ।
यसैगरी सवारी चालक अनुशासन तथा आचरण पालना सम्बन्धी विषयको नियमनका लागि ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जनस्वास्थ्य कार्यालय, मकवानपुरसंगको समन्वयमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशलाई मादकपदार्थ तथा लागू पदार्थ सेवन गरे नगरेको जाँचको दायरा बढाउने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी.ले बताउनुभयो।
सोको लागि आवश्यक सामाग्री (किट) व्यबस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश, हेटौंलाई निर्देशन दिइएको छ।
एकतर्फी सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्गका रूपमा भिमफेदी-कोगटेतर्फ मालबाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सोको सन्दर्भमा रुट पर्मिट तथा पटके अनुमति व्यवस्थापन गर्नका लागि यातायात व्यवस्था कार्यालय, मकवानपुरलाई जिम्मेवारी दिने निर्णय भएको केसीले बताउनु भयो।
सडक सुरक्षाका सन्दर्भमा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सडक सुरक्षा सामाग्री (Road safety equipment) को नियमानुसार आपूर्ति गरी आवश्यक स्थानमा पूर्वाधार विकास गर्न निर्देशन पनि दिइएको छ।
हेटौडा भिमफेदी हुँदै काठमाडौं चल्ने सडकको मकवानपुर जिल्ला अन्तर्गत पर्ने देउरालीको उपयुक्त स्थानमा सम्बन्धित स्थानीय तहसंग समन्वय गरी प्रहरी चौकी व्यवस्थापन गर्न आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयलाई निर्देशन गर्ने र सो चौकीबाट सवारी चेक जाँच गर्ने कार्यको जिम्मेवारी सुरक्षा निकायबाट सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने पहल सुरु गरिने निर्णय गरिएको छ।
सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण हेतु उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मार्फत जनचेतना अभिवृद्धि, अभिमुखीकरणलगायतका रोकथामजन्य र प्रचारप्रसारजन्य आवश्यक कार्यक्रमहरू कार्यान्वयन गर्ने, अन्तर-प्रदेश सडक सुरक्षा व्यवस्थापन समन्वय बैठक मधेस प्रदेश र बागमती प्रदेशबिच आयोजना गर्ने निर्णय भएको उहाँले बताउनु भयो।
विद्युतीय सवारी (EV) गाडीको सन्दर्भमा प्रचलित कानून अनुरूप निर्धारण भएका सिट संख्याको अक्षरस पालना गराउन सोको जाँच गरी नियम विपरित सिट संख्या थप गरिएको पाइएमा कानून अनुसार कारवाही प्रकृया अगाडी बढाउने सम्बन्धी नियमनकारी गतिविधी सञ्चालनका लागि उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ।
उक्त निर्णयका विषयहरूको कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवहरूलाई जिम्मेवार बनाई पाक्षिक रूपमा रिपोर्टिङ गर्न निर्देशन गरिएको छ।
बैठकमा पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी. प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री. एका लाल श्रेष्ठ,प्रदेश सभा सदस्य, पूर्व मन्त्री प्रेमभक्त महर्जन, प्रदेश सभा सदस्य रघुनाथ महर्जन, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष देबराज रोका, मुख्यन्याधिबक्ता शिबराम तिमिल्सिना, मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक बसन्त अधिकारी, निर्देशक, उद्योग, पर्यटन, श्रम तथा यायायत मन्त्रालय उपसचिव हरिहर पोखेललगायतको उपस्थिति रहेको थियो ।