चौटा चुहिने डेक्ची
Tags: No Comments
डेक्ची कसले बनायो ? किन बनायो ? कसरी बनायो ? कहिले बनायो ? कहाँ बनायो ? भन्ने बहस गर्ने फुर्सद अहिलेसम्म कसैले पाएका छैनन् । डेक्चीका सम्बन्धमा अनुसन्धान गरेर नोबेल पुरस्कार पाउने स्थिति भए मानिस जसरी पनि समय निकालेर यतातिर लाग्थे होलान्, तर त्यो स्थिति पनि छैन । जे होस्, डेक्ची भान्छाका लागि सजिलो भाँडो हो । जो कोहीले सजिलोसँग चलाउन सक्ने साधन हो । डेक्ची आलमुनियमको पनि हुन्छ, स्टिलको पनि हुन्छ । यी चलनचल्तीका धातु हुन् डेक्ची बनाउनका लागि । होइन भने डेक्ची अरू धातुका पनि बन्छन् । डेक्ची सानाको घरमा पनि हुन्छ, ठूलाको घरमा पनि हुन्छ । आकारमा पनि यो ठूलोभन्दा ठूलोदेखि सानोभन्दा सानोसम्म पनि पाइन्छ, अरू सामान्य भाँडाकुँडा जस्तै ।
मलाई कहिलेकाहीँ सामान्यभन्दा सामान्य कुराले पनि अँगालो हाल्छ । थाहै नदिई आलिङ्गिन्छ । अनि, सोच्दै नसोचेको लहड एक्कासि मनमा पलाउँछ । बजार घुम्दै गर्दा अचानक त्यस्तै लहड अँगालियो मसँग एक दिन । मेरा आँखाहरू बजारमा बजारिइरहेछन् । चारैतिरको रामरमिता नियालिरहेछन् । बा आमाका पछि लागेर बिना पिरचिन्ता तिनै बा आमाका हात समाएर बजार घुम्दा ससाना केटाकेटीहरू जति रमाउँछन्, त्यसभन्दा बढी रमाइरहेका छन् मेरा दुवै आँखाहरू, त्यसरी बजार घुम्ने अवसर पाउँदा । त्यसैले पनि आँखाहरूलाई सन्तुष्टि दिलाउन म बिस्तारै हिँडिरहेछु । त्यसरी हिँडिरहँदा मलाई मानिसहरूले विरामीको अनुमान पनि गर्न सक्छन् । तर, स्थिति त्यस्तो छैन । म पूर्ण रूपमा स्वस्थ छु ।
म घरबाट ननिस्कीकन मेरा यी आँखाहरू कहिल्यै पनि बजार घुम्न निस्किन पाउन्नन् । म सधैँ बजार आउन्नँ । आक्कलझुक्कल यसरी बजार आएका समयमा यिनलाई सन्तुष्टि दिनु मेरो परम कर्तव्य हो भन्ने लाग्छ मलाई । म आफू जति स्वतन्त्रता खोज्छु, मेरा यी आँखाहरू पनि त्यत्तिकै स्वतन्त्रता खोज्दा हुन् भन्ने आभास हुन्छ । म मेरो गतिलाई बिस्तारै अघि बढाइरहेछु, जसरी सडकको सवारी जाममा परेका गाडीहरू घ्यार्रघुर्र, घ्यार्रघुर्र गर्दै प्रति किलोमिटर एक सय पचासको गतिमा दौडन सक्ने आफ्नो क्षमतालाई खुम्च्याएर शून्यभन्दा थोरै मात्र माथि उचालेर आफूलाई सडकमा अगाडि बढाइरहेका हुन्छन् ।
मेरा दुवै आँखा संयुक्त हेराइमा छन् । अपूर्वको एकता छ यिनमा । बुझ्नेका लागि अनुकरणीय एकता छ यिनको । यिनीहरू जता हेरे पनि सँगै हेर्छन्, जता फर्के पनि सँगै फर्किन्छन् । एउटाले एकातिर अर्काले अर्कातिर हेर्दैनन् । यता हेरे यता सँगै हुन्छन्, उता हेरे उता सँगै हुन्छन् । यता फर्के यता सँगै हुन्छन्, उता फर्के उता सँगै हुन्छन् । त्यही भएर पनि बजार चहारुन्जेल आज यिनलाई म कुनै किसिमको लगाम लगाउँदिनँ भन्ने लागिरहेछ मेरा मनमा । आँखालाई स्वतन्त्रता दिएकै कारण आज मेरा आफ्नै आँखा मेरो अधीनमा नभएर म आँखाका अधीनमा तिनैका पछि लागिरहेछु । तिनका पछि लाग्दा लाग्दै पनि म बजारको बीच भागतिर एक ठाउँमा गएर टक्क अडिन्छु ।
आँखाहरू छेउछाउको हेराइ खेती सकिएकाले मलाई अघि बढ्न भन्दै छन् । म तिनको आग्रह थाहा नपाएझैँ गरी मेरा मनरूपी आँखा खोलेर पसलमा फिँजाई राखेको एउटा आलमुनियमको साधारण डेक्चीमा नियालिरहेछु । त्यस डेक्चीसँग आफूलाई मिहिन तरिकाले दाँजिरहेछु । डेक्चीलाई गाउँ, बस्ती र समस्याग्रस्त झुपडीहरूमा लगेर तेर्स्याइरहेछु । तिनको शक्ति, चाहना र प्रयोगलाई केलाइरहेछु । मेरो मन यी डेक्चीहरू कहिल्यै अघाउन पाउन्नन् भन्ने अनुमानित निष्कर्षमा पुगिरहेछ ।
म कल्पनै कल्पनाका बीच जन्मभूमि भूगोलको कुनै एउटा कुनो नियालिरहेछु । त्यो कुनो सम्पन्न सहरकै हो, विपन्न गाउँको होइन । बस्तीकै अगाडि विगतमा खोला भन्ने गरिएको एउटा खोलो कालो पानी काखी च्यापेर अगाडि बढिरहेछ । पानी न छोउँ छोउँ जस्तो छ, न खाउँ खाउँ जस्तो छ । पानीको नाममा कलङ्क पानी । मानिसहरू यसलाई हेपेर पछिल्लो समय ढल पनि भन्दा रहेछन् । र पनि, पुर्ख्यौली विरासत दह्रिलो भएकाले यसले खोलाकै नाममा बग्न पाइरहेको छ । त्यही खोलाछेउको बस्तीमा म उभिइरहेछु । कतिपय मानिसहरू यसलाई सुकुम्बासी बस्ती भन्छन् । कतिपयले हुकुमबासी पनि भन्छन् । म अनौठो बस्तीमा आइपुगेको छु । अनौठो माटोमा टेकिरहेको छु । देखिने रूपमा न यहाँ कुनै पौरख छ, न कुनै लगनशीलता । न कुनै आकर्षक रोजगारी छ, न के ? कसले कसरी जीवन गुजारा गरिरहेछ थाहा छैन ।
सरकारको परिवार नियोजन कार्यक्रमले यहाँका यी घरमा प्रवेश पाएका छैनन् । परिणाम– चारैतिर च्याँच्याँ र चिँचिँ । ओछ्यानदेखि कोक्रोसम्म सबै भरिभराउ । मुख सबैका छन् । पेट सबैका छन् । तर गर्नेभन्दा कराउने बढी छन् । बाहिरबाट ल्याउनेभन्दा घरपिँढीमै बसेर ‘ले’ ‘ले’ भन्ने बढी छन् । मेरा आँखा कसरी यहाँ परे मलाई थाहा छैन । तर आँखा त्यही बस्तीमा टाँसिएको छ । गर्न केही नसके पनि मानवता नहराएकाले म यो बस्ती नजिकबाट पढिरहेछु । आँसुले आँखाबाट निकास खोज्दै छ । वल्लो घर पल्लो घर भन्नु छैन । जतापट्टि छिरे पनि गति त्यस्तै छ । जुन घरमा छिरे पनि अवस्था उस्तै छ । जसलाई सोधे पनि सबैको उत्तर उही छ ।
‘आमा तरकारी ।’
‘आमा तरकारी ।’
कराउँदै छन् ससाना बालबच्चा । आमा सबैका सामु डाडु घोप्ट्याउँदै छिन् तिनका थालथालमा ।
‘आमा चौटा ।’
‘आमा चौटा ।’
दोहोर्याउँदै छन् बालबच्चा । आमा भन्दै छिन्– आज हिजो जस्तै पकाउँदा पकाउँदै चौटा चुहियो । पख, भोलि अर्को डेक्ची ल्याउँछु । अनि भोलि नै खाऔला चौटा पनि ।
बाल जिज्ञासा थपिँदै छ ।
‘भोलि चौटा नचुहिने डेक्ची ल्याउने हो आमा ?’
‘हो’ भन्ने भावमा आमा मुन्टो हल्लाउँछिन् । केही बोल्दिनन् ।
ती आमासँग दाल, भात, तरकारी जे छ तिनलाई काँचोबाट पाकोमा रूपान्तरण गर्ने साधन छ– एउटा पातलो आलमुनियमको उमेर पाकेको साधारण डेक्ची । डेक्चीले कुनै पनि कुरा पकाउन रोजीछाडी गर्ने अवसर पाउन्न । उसले म यसलाई पकाउँछु, यसलाई पकाउँदिन भन्न पाउन्न । म भरि मात्र पकाउँछु, आधा पकाउँदिन भन्न पनि पाउँन्न । जे बसाल्यो त्यो पकाइदिनु उसको कर्तव्य ठहरिइरहेछ । अर्को डेक्ची ल्याएर चौटा नचुहिने हो र ! आमा मनमनै कुरा खेलाउँदै छिन् । यथार्थ थाहा हुँदाहुँदैै पनि उनी आफ्ना बालबच्चालाई ‘हो, भोलि अर्को डेक्ची ल्याउने’ भनेर थुम्थुम्याउँदै छिन् । बच्चाहरूले नसुन्ने गरी आमा गुनगुनाइरहिछिन् र भनिरहिछिन्– एक डाडु चौटामा एक पाथी पानी मिसाएर उमालेपछि चौटा कहाँ हुनु ? बिचरा ! यो रहस्य यिनलाई के थाहा ?
बालबच्चा भोलि अर्को डेक्ची ल्याउने र चौटा खान पाउने आसमा तातो झोलरूपी पानीसँग हानथाप गरेर सपासप खाना खाइरहेछन् । चौटा चुहिने, झोल नचुहिने कस्तो अचम्मको डेक्ची ! भनेर विश्लेषण गर्न सक्ने कोही छैनन्, त्यहाँ । पकाउने वस्तु कम भएर झोलले साम्राज्य जमाएको बुझ्ने कोही छैनन् । यो दृश्य म ताजुब मानेर नजिकबाट नियालिरहेछु । आमाले बालबच्चालाई थुम्थुम्याउन अचम्मको जुक्ति निकालेकी हुन् । मैले तिनको प्रशंसा गरेँ र मनमनै सोचेँ– कस्तो गजबको डेक्ची ! चौटा चुहिने, झोल नचुहिने !!
यही तर्कनाका बीच म झल्याँस्स बिउँझे झैँ भएछु । म बिउँझैमा सपना देखिरहेको रहेछु । अनि सोचेँ– चौटा चुहिने, झोल नचुहिने यस्ता डेक्ची मेरा घरमा पनि छन् । मेरो मनले अर्को उदेकलाग्दो तर्कना गर्यो र भन्यो– तँ आफैँ पनि त यही डेक्ची जस्तै चुहिने छस् नि । तँ र तेरो घरमा भएको चौटा चुहिने डेक्चीमा के नै फरक छ र ? समानता कि असमानता ?
मेरो मनले मलाई यो प्रश्न जानेर गर्यो, कि नजानेर ? बुझेर गर्यो, कि नबुझेर ? त्यो थाहा छैन । तर उसले मलाई फेरि पनि छिनभरमै दोहोर्याएर सोध्यो– ‘भन् न, किन चुप लाग्छस् ? तँ र तेरो घरको चौटा चुहिने डेक्चीमा के फरक छ ?
मैले भनेँ– तैँले मलाई किन यस्तो प्रश्न गरिस् ? मलाई थाहा छैन । तर म भन्छु– म र मेरो घरको चुहिने डेक्चीमा धेरै समानता छ । हामीबीच आपसमा मिल्दाजुल्दा धेरै विशेषता छन् । त्यसैले भावनात्मक सम्बन्ध छ, मेरो चौटा चुहिने, तर झोल नचुहिने डेक्चीसँग । म पनि त्यो डेक्ची जस्तै सद्धे भएर पनि पाइला पाइलामा चुहिरहेको छु । मबाट श्रम चुहिएको छैन, प्रतिफल चुहिरहेछ । मबाट म र मेरो परिवारको सुख चुहिरहेछ, दुःख चुहिएको छैन । मबाट परिवारका सबै सदस्यको माया र सद्भाव चुहिरहेछ । मबाट के के न प्राप्त हुन्छ र त्यसको उपभोग गरूँला भन्ने उनीहरूको आशा र भरोसा चुहिरहेछ । मबाट साथीभाइ भनाउदाको माया, सद्भाव, सकारात्मक हेराइ र मप्रतिको सम्मानजनक व्यवहार चुहिरहेछ । आफन्त र नजिकका अरू इष्टमित्र तथा टोल छिमेकीहरूको निकटता चुहिरहेछ । तिनीहरूको मीठो आत्मीयता चुहिरहेछ । दाजुभाइको बन्धुत्व चुहिरहेछ । अप्ठ्यारोमा प्राप्त हुनुपर्ने सरसहयोग र मीठो बोलीवचन चुहिरहेछ । आपसी खेलबाड चुहिरहेछ । दैनन्दिनको भेटघाट चुहिरहेछ । बाङ्गो मुख भएका आफूभन्दा माथिका हाकिम र तलका सहयोगीको आत्मीय व्यवहार चुहिरहेछ । अनि, तँ नै भन् त– ‘मेरो घरको त्यो चौटा चुहिने डेक्ची र ममा के फरक रहेछ ? कत्ति पनि फरक छैन । हामी दुवै समान छौँ यस अर्थमा ।’
मेरा आँखाहरू मलाई छिटो हिँड्, बिनाकाम यहाँ किन उभिइरहन्छस् ? भनेर ताकेता गरिरहेछन् । म भने अझै त्यहाँबाट डेग चल्ने अवस्थामा छैन, केही क्षणका लागि । बजारमा देखिएको आलमुनियमको साधारण डेक्चीलाई मेरो घरमा मात्र नभएर म यतिखेर उभिइरहेको बस्तीतिर पनि घुमाउँदै छु । आय कम भएका जनता जनार्दनका भान्सामा लगेर तेर्स्याउँदै छु । जता घुमाए पनि त्यो डेक्ची कतै पनि नचुहिने सावित हुन सकेन । जता लगे पनि चुहिएको छ, छ । चौटा चुहिएको छ, झोल चुहिएको छैन जहाँ लगे पनि, जता पुर्याए पनि । नचुहियोस् पनि किन ? राष्ट्रबाट रोजगारी चुहिएको छ, बेरोजगारी चुहिएको छैन । सस्तोपन दिन प्रतिदिन चुहिएको छ, महँगी चुहिएको छैन; बरु उल्टै दिन प्रतिदिन चुलिएको छ । खाने मुख र घर व्यवहारका सबै कुरा बढ्दो रूपमा जमेका छन्, तर आम्दानी नराम्रोसँग चुहिएको छ ।
म मलाई मात्र नियालिरहेको छैन, यतिखेर । टोल, छिमेक, समाज, राष्ट्र, परराष्ट्र सबै चहारिरहेछु । नियालिरहेछु । जताततै अनावश्यक चिज चुहिएको छैन, चाहिने चिजवस्तु सबै चुहिएको छ । यसरी नियाल्दा म देखिरहेछु– फूट कतै पनि चुहिएको छैन, एकता चुहिएको छ । दुस्मनी चुहिएको छैन, आपसी मेलमिलाप र सौहार्दता चुहिएको छ । सदाचार चुहिएको छ, भ्रष्टाचार चुहिएको छैन । घर परिवारलगायत सर्वत्रको अशान्ति चुहिएको छैन, शान्ति चुहिएको छ । आफूले गर्ने काम सबै चुहिएको छ, अर्काले गर्ने काम कहीँ कतै थोपासम्म पनि चुहिएको छैन । अधिकारका कुरा कतै चुहिएको छैन, कर्तव्यका कुरा पर्याप्त चुहिएको छ । नाराबाजी र भाषण चुहिएको छैन, काम प्रत्येक पाइलामा चुहिएको छ । निर्देशन चुहिएको छैन, परिणाम चुहिएको छ ।
गनाउने पानी बगिरहेको त्यो फोहर खोलाछेउ उभिएर नगर्नु कुरा गरिसकेपछि डेक्चीबाट चौटा चुहिने, झोल नचुहिने प्रसङ्गका केही व्यावहारिक कुरा पनि कोट्ट्याउँ जस्तो लाग्दैछ मलाई । म सोच्छु– डेक्चीबाट चौटाहरू किन चुहिन्छन् ? झोल किन चुहिन्न ? यसका मूर्त कारणहरू के के हुन् ? यसरी खोतल्दै जाने हो भने कुरा मात्र कोट्ट्याउनुपर्छ, बाँकी कुरा क्रमशः आउँदै जान्छन् । केही वर्षअघिसम्म पच्चीस तीसमा पाइने प्याज यतिखेर त्यस मूल्यमा पनि डेढसय जति थपेपछि मात्र भान्सामा भित्रिन मान्छ । पचास साठी पर्ने आलु यतिखेर भरखर तीन सय चानचुन मात्र भएको छ । कुनै बेला पाँच रूपैयाँमा आउने धनियाँ यतिखेर पाँच सय रूपैयाँमा पनि आउन हिच्किचाउँछ । मान्दैन । अझ उल्टै ग्राहकका अनुहारतिर फर्केर मलाई कम्ती ठानेको छस् ? भन्दै गजक्क पर्छ । सात सयमा आउने ग्यास सात तियाँ एक्काइस सय पार गरिसक्यो । अनि म र मजस्ता सर्वसाधारण जनताका घरका डेक्चीबाट चौटा नचुहिएर कसका घरका डेक्चीबाट चौटा चुहिन्छ त ?
जागिर छाड्दा बीस हजार पेन्सन आउने भयो भनेर मख्ख पर्ने कर्मचारी दश वर्षपछि रुवाबासीमा रूपान्तरित हुँदै झन्डै भन्डै सडकमा रुमाल ओछ्याएर हात पसार्न पर्ने स्थितिमा पुग्छ । अनि, उसका घरका डेक्चीबाट चौटा नचुहिएर कसका घरका डेक्चीबाट चौटा चुहिन्छ त ? पाइला पाइलाको रौँ बराबरको दूरीमा यही अवस्था छ । अनि यिनका घरका डेक्चीबाट चौटा नचुहिएर अरू कसका घरका डेक्चीबाट चौटा चुहिन्छन् त ? धारामा पानी नआए पनि धन्न जारवालाले दैलोमा पानी झार्दिन्छन् र डेक्चीमा झोल भए पनि नचुहिएर बसेको छ । होइन भने … !
यसरी चुहिने डेक्चीहरू विस्थापित गरी नचुहिने डेक्ची व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेको राजनीति कान नसुन्ने नाटकको अभिनयमा छ । यसैको हैकममा चल्ने प्रशासन आँखा नदेख्ने अवस्थामा छ । यसैका आडमा अघि बढ्नुपर्ने विकास खोरन्डो छ । आपसी मेलमिलाप धापमा सीमित छ, बातमा विहीन छ । धमिलो पानीमा माछा मार्न पल्केका व्यापारीहरू रातमा लाटोकोसेरो र दिनमा बाज जस्ता भएर चौबीसै घण्टा मौकामा चौका हान्न व्यस्त छन् । ठेकेदार र माफियाका खल्तीमा को को छन् ? अझै यकिन छैन । जनसरोकारका प्रत्येक कार्यालय बिचौलियाको राजधानी बनेका छन् । यी सबै कुरा विश्लेषण गर्दा म र मजस्ताका भान्छाका डेक्चीबाट चौटा चुहिएको तर झोल नचुहिएको घटना अनौठो लागेन । बरु, यस्तै स्थिति कायम भइरहने हो भने म र मजस्ता जनताका भान्साका त्यस्ता डेक्चीबाट चौटा मात्र होइन, थोपो पनि बाँकी नरही झोल पनि चुहिन थाल्नेछन् पछिल्ला समयका कुनै दिनमा । र, समयक्रममा सबैका घर कोठामा चौटा चुहिने डेक्चीहरूले क्रमशः निर्बाध रूपमा प्रवेश पाउँदै जान थाल्नेछन् ।
काठमाडौं
मकवानपुर । हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुवाहक सवारीसाधनलाई आज शुक्रबार एक दिन उक्त मार्ग भएर आवतजावत गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा मेला तथा जात्रा लाग्ने भएकाले उक्त मार्ग हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्ति लोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचनामा शुक्रबार हरिबोधिनी एकादशीका अवसरमा त्रिखण्डीमा मेला लाग्ने भएकाले यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ भएर आवतजावत गर्न भनिएको छ ।
त्रिखण्डेश्वर महादेव मन्दिर सडकछेउमै भएकाले भक्तजनको भीडभाड र साँघुरो तथा भिरालो बाटोको जोखिमलाई मध्यनजर गर्दै यात्रा सुरक्षित र सहज बनाउन शुक्रबार उक्त सडक भएर यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । ‘हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी रुटको सट्टा उक्त दिन कान्ति लोकपथबाट आवतजावत गर्न तथा गराउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ,’ उनले भने ।
कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।
यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
पूजा विधि
- बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने
- भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।
- नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने
- दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।
- राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।
- भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।
एक पटक भगवान् नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ ! अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ । अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ ! तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ । तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो आग्रह अनुसार आजदेखि म हरेक वर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन् तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन् तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदंग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।
यसै सन्दर्भमा जालन्धर नामक असुरकी पत्नी वृन्दा पतिव्रता स्त्री थिइन् । उनलाई भगवान् शिवको आशीर्वाद प्राप्त थियो जबसम्म उनको पतिव्रता व्रत भङ्ग हुँदैन उनको पति जालन्धर जीवित रहनेछ । जालन्धर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान् विष्णुले जालन्धरको वेश धारण गरी वृन्दाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन् र उनको पतिव्रत भङ्ग भयो । वृन्दाको पतिव्रत भङ्ग भएपछि जालन्धर मारियो । विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाइन, तिनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादान गरे सरह फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।
रातोपाटीबाट
मकवानपुर । मकवानपुरको भीमफेदी १ भैसेंमा सुमो खोलामा खस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । बिहीबार बिहान रौतहटबाट हेटौंडा- भैसे – भिमफेदी हुँदै काठमाडौ जान लागेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भइ नदीमा खस्दा ३ जनाको ज्यान गएको हाे भने ७ जना घाइते भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका रौतहट चन्द्रनिगाहपुर – ३ बस्ने ५० वर्षीय बम बहादुर वाइबा र चन्द्रनिगाहपुर – ४ बस्ने २२ वर्षीय जेसिका तिमिल्सिना तथा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ कै २५ वर्षीया अनुसा लामाकाे उपचारकाे क्रममा मृत्यु भएको छ । उक्त सुमो घुम्तिमा आफै अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेर दुर्घटना भएको थियोे ।
सुमो चालक सहित १० जना सवार सुमाे दुर्घटनामा घाइतेहरुलाई तल्काल उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा ३ जनालाई डाक्टरले मृत घोषना गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भैरहेको तथा अबस्था मध्यम रहेको छ ।
घाइतेहरुकाे विवरण
१. रौतहट चन्द्रनिगाहपुर न.पा. ४ बस्ने बर्ष ३३ को कालुमान लोप्चन अवस्था सामान्य ( चालक)
२. रौतहट चन्द्रनिगाहपुर न.पा.३ बस्ने बर्ष १६ को निमा थिङ बायाँ काध र दायाँ हात चोट अवस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष ५८ को कान्छा धोज बाया करङमा चोट अवस्था सामान्य
४.ऐ.ऐ बस्ने बर्ष १५ कि सुमिना थिङ ढाडमा चोट अवस्था सामान्य
५.ऐ.ऐ बस्ने १६ बर्ष को शिखा लामा ढाडमा चोट अवस्था सामान्य
६.रौतहट चन्द्रनिगाहपुर ना.पा.-३ बस्ने बर्ष ५५ कि हरिमाया थिङ सामान्य
७.रौतहट चन्द्रनिगाहपुर न.पा- ४ बस्ने बर्ष १९ को वय हाङ राना मगर टाउको र ढाडमा चोट अवस्था सामान्य
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सार्वजनिक पद अधिकार प्राप्त गर्ने माध्यम नभई जनताको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ ।
बागमती प्रदेश लोक सेवा आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले कर्मचारीतन्त्रमा पदको उपमा भन्दा पनि जनताको मनमा बस्ने राष्ट्रसेवकको भावना हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश प्रमुख देवकोटाले लोक सेवा आयोग सार्वजनिक प्रशासनलाई योग्य, सक्षम, निष्पक्ष र उत्तरदायी बनाउने मुख्य संवैधानिक संस्था भएको उहाँको भनाई थियो ।
उहाँले सुशासन र प्रशासनिक क्षमताको प्रमुख आधार नै दक्ष र योग्य जनशक्ति भएकाले योग्यताको कदर गर्दै निष्पक्ष प्रतिस्पर्धाबाट छनोट गर्नु आयोगको अपरिहार्य उत्तरदायित्व भएको स्पष्ट पार्नुभयो । छनोट प्रक्रियामा कुनै पनि प्रकारको पहुँच, दबाब, प्रभाव वा पूर्वाग्रहभन्दा माथि उठेर सीप र योग्यताको कदर गर्ने संस्थागत संस्कार विकास गर्नुपर्नेमा उहाँको जोड थियोे ।
“विश्वमा भइरहेको द्रुत परिवर्तनसँगै सूचना प्रविधिको अधिकतम उपयोग गरी परीक्षा प्रणालीलाई सरल र प्रविधिमैत्री बनाउन आवश्यक छ” देवकोटाले भन्नुभयो । आयोगको अध्यक्ष महेश्वर श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम भएको थियो ।