कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।
यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
पूजा विधि
- बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने
- भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।
- नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने
- दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।
- राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।
- भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।
एक पटक भगवान् नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ ! अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ । अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ ! तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ । तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो आग्रह अनुसार आजदेखि म हरेक वर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन् तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन् तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदंग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।
यसै सन्दर्भमा जालन्धर नामक असुरकी पत्नी वृन्दा पतिव्रता स्त्री थिइन् । उनलाई भगवान् शिवको आशीर्वाद प्राप्त थियो जबसम्म उनको पतिव्रता व्रत भङ्ग हुँदैन उनको पति जालन्धर जीवित रहनेछ । जालन्धर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान् विष्णुले जालन्धरको वेश धारण गरी वृन्दाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन् र उनको पतिव्रत भङ्ग भयो । वृन्दाको पतिव्रत भङ्ग भएपछि जालन्धर मारियो । विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाइन, तिनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहाँ प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । कार्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादान गरे सरह फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।
रातोपाटीबाट
मकवानपुर । छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको छ ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताबीचको एकतालाई राष्ट्रिय शक्ति र मौलिक पहिचानका रूपमा उहाँले व्याख्या गर्नुभएको हो।
उहाँले छठजस्ता मौलिक सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आज जारी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको हो ।
छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले विविधताबीचको एकतालाई नेपालको विशिष्ट पहिचानका रूपमा प्रस्तुत गर्नुभएको हो।
उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र हो ।
विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो। छठ जस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन्।”
मुख्यमन्त्री थापा मगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको उल्लेख गर्नुभएको छ। अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने छठ पर्वको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी अत्यन्त निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने नेपालीहरूको ऐतिहासिक एवं सांस्कृतिक छठ पर्व २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”
तराई–मधेसबाट सुरु भएको छठ पर्व अहिले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा उत्तिकै श्रद्धा र भक्तिभावका साथ मनाइनु नेपाली समाजको सांस्कृतिक एकताको उदाहरण भएको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ। उहाँले यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको उल्लेख गर्नुभएको छ।
उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “छठ पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले अत्यन्त विशिष्ट र अद्वितीय छ । तराई-मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबिचको अटुट सम्बन्धलाई जीवन्त राखेको छ।”
जल र सूर्यको उपासनामार्फत पर्यावरण संरक्षण, अहिंसा, सामाजिक सद्भाव र विभेदविहीन समाज निर्माणको सन्देश प्रवाह गर्नु छठ पर्वको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ। सबै वर्गका मानिस एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने परम्पराले समानता र सामाजिक एकताको सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ, “जल र सूर्यको उपासनामार्फत पर्यावरणको संरक्षण, अहिंसा, सामाजिक सद्भाव र विभेदविहीन समाजको निर्माण गर्नु यस पर्वको मुख्य सन्देश हो। सबै वर्ग एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने भएकाले यस पर्वले आपसी समानता, एकता र भाइचाराको अनुपम उदाहरण प्रस्तुत गर्दछ।”
यसैगरी, बागमती प्रदेश सरकार मौलिक चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ। स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभएको छ, “बागमती प्रदेश सरकार आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्दै, स्थानीय तह र सरोकारवाला निकायहरूसँगको सहकार्यमा यस्ता राष्ट्रिय गहनाका रूपमा रहेका अमूल्य चाडपर्व, भाषा एवं संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको छ।”
मुख्यमन्त्री थापा मगरले छठी माताको कृपाले सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र उज्यालो छाओस् भन्ने कामना गर्नुभएको छ। साथै, छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव र मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै पुनः सम्पूर्ण नेपालीमा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।
मकवानपुर । आज तिहारको मुख्य दिन अर्थात भाई टीका । दाजूबहिनी, दिदिभाइहरूको आत्मिय चाड ’भातृद्वितिया’ अर्थात् ’भाईटिका’।
आज टीकाको उत्तम साइत ११ः०७ बजे रहेको छ । शुभ साइतमा दाजूभाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजूभाइहरूलाई टीका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरिएपछी तिहारको मुख्य र अन्तिम दिन दिदिबहिनीले दाजुभाईको पूजा गर्ने भाइटिका । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज “भाइटिका“ । दाजूभाइलाई टीका लगाउन माईती जाने गर्छन्,भने कतिपय दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ होला ।
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
भाइटिका लगाउने चलन
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ ।
ति चेलीले यमदूतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुसीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
मकवानपुर । तिहार अर्थात् यमपञ्चको दिन आज गोवर्द्धन पुजा गरि मनाइदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज मंगलबार गोवर्द्धन संगै बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाउने गरिन्छ ।
आजको दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । गोवर्द्धन पुजा द्वापरयुगसंग सम्बन्धित रहेको मानिन्छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद्हरु बताउँछन ।
बलि, हली एवं गोरु पूजा
भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउछन । ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो ।
बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ । साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ । कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन् ।
तिनीहरूले नै मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्छन् भन्ने विश्वास गरिन्छ । कुकुरलाई प्रसन्न राख्दा यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गरिएको हो । महाभारत कथा अनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्छन्, बाटोमा एक एक गरी सबै ढल्छन् । अन्तिममा धर्मराज युधिष्ठिर र उहाँसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन् । स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्न भन्नुहुन्छ तर युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ । युधिष्ठिरको यो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा प्रकट हुन्छ, जो स्वयं ‘धर्मराज’ (यमराज) हुनुहुन्थ्यो ।
त्यस्तै तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो । लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए । त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ ।
पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो । राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो । सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन (धागो) बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण (विष्णु) लाई मुक्त गराउनुभयो । बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ ।
पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ । यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ । सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ ।