मकवानपुर । आज तिहारको मुख्य दिन अर्थात भाई टीका । दाजूबहिनी, दिदिभाइहरूको आत्मिय चाड ’भातृद्वितिया’ अर्थात् ’भाईटिका’।
आज टीकाको उत्तम साइत ११ः०७ बजे रहेको छ । शुभ साइतमा दाजूभाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजूभाइहरूलाई टीका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरिएपछी तिहारको मुख्य र अन्तिम दिन दिदिबहिनीले दाजुभाईको पूजा गर्ने भाइटिका । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन आज “भाइटिका“ । दाजूभाइलाई टीका लगाउन माईती जाने गर्छन्,भने कतिपय दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो मिलाउँदै हुनुहुन्छ होला ।
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
भाइटिका लगाउने चलन
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ ।
ति चेलीले यमदूतलाई टीकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टीकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुसीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

