मकवानपुर । बागमती प्रदेश सरकारकाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेकाे प्रदेश मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएकाे छ । चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको अनुगमन गर्दै उहाँले प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा सेवा विस्तारलाई निरन्तरता दिएको जानकारी दिनु भएकाे हाे ।
‘जनशक्ति अभाव र पर्याप्त भवन तथा भौतिक संरचना नहुँदा अस्पतालले चाहेजति सेवा विस्तार गर्न समस्या भइरहेको छ’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अस्पतालको क्षमता विस्तारमा प्रदेश सरकार केन्द्रित रहेको छ ।’ स्वास्थ्य उपचारका लागि नागरिकले अन्य जिल्ला धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेशका अस्पतालहरूमा विशिष्टीकृत तथा विशेषज्ञ सेवा विस्तार गर्न आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै अस्पतालहरूको सेवा र क्षमता थप विस्तार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
मुख्यमन्त्री थापा मगरका अनुसार हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब ४.५ प्रतिशत मात्र विनियोजन भएकाे छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वास्थ्य क्षेत्रमा बजेटको हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्यसहित आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो।
बकुलहर रत्ननगर अस्पतालको नयाँ भवन निर्माणको म्याद सकिए पनि निर्माण कार्य पूरा नगरेको र निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको विषयमा प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो। निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही अघि बढाउने तथा बैंक ग्यारेन्टी रोक्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउानु भयो। स्वास्थ्य चौकीकाे रूपमा सेवा दिदै आएकाेमा बकुलहर अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेकोले प्रदेशका सरकारी अस्पतालप्रति नागरिकको विश्वास र बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो।
अस्पतालमा हुने सामान्य घटनालाई लिएर तोडफोड गर्ने वा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रवृत्ति रोक्नु पर्ने उहाँकाे भनाई थियाे । स्वास्थ्य संस्थामा कुनै समस्या देखिएमा संवाद र सहजीकरणमार्फत समाधान खोज्नुपर्ने भन्दै उहाँले समाजका बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवालालाई त्यस्ता विषयमा सहजीकरण गर्न आग्रह गर्नुभयो। स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने कामसमेत अघि बढिरहेको उहाँले बताउनु भयो। स्वास्थ्य मन्त्रालयलाई डिजिटल प्रणालीमा लैजाने क्रममा डिजिटल एप्स, अनलाइन टिकट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मार्फत स्वास्थ्य सेवालाई पेपरलेस बनाउने सुरुवात भइसकेको उहाँले जानकारी दिनुभयो।
‘बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु गरिएको छ’ उहाँले भन्नु भयो ’आधारभूत अस्पतालहरूमा रहेको जनशक्ति र उपकरणको अभावलाई प्रविधिमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको छ ।’ हेटौंडा, भक्तपुर र सिन्धुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गरी २४ घण्टा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

