मकवानपुर । मकवानपुरकाे हेटौंडामा निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ मा पतञ्जली योग वडासमितिको आयोजना तथा ७ नं. वडा कार्यालयको सहयोगमा ५ दिने योग शिविर सञ्चालन हुने भएकाे हाे ।
आयोजक समितिले कार्तिक १३ गतेदेखि १७ गतेसम्म योग शिविर हुने जनाकारी दिएकाे छ । हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने शिविरमा शिविरमा दुई हजारभन्दा बढी मानिसलाई सहभागी गराउने लक्ष्य रहेको आयोजक समितिका संयोजक प्रकाश मैनालीले जानकारी दिए । योग शिविर बिहान ४ : ४५ बजेदेखि ७ बजेसम्म चल्नेछ । मानिसहरूले गर्ने विभिन्न गलत निर्णयलाई न्यूनीकरण गर्दै सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको बताइएकाे छ ।
शिविरमा सहभागीलाई योग समितिका केन्द्रीय प्रतिनिधि लवदेव मिश्रले प्रशिक्षण दिनेछन् । योगले नकारात्मक संगतबाट टाढा रहन, सकारात्मक सोचको विकास गर्न तथा खानपान र आहारविहारमा सुधार ल्याउन मद्दत गर्ने आयोजकको भनाइ छ । साथै, नसर्ने रोगको जोखिम न्यूनीकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको अभ्यास आवश्यक रहेको प्रचार प्रसार संयोजक नवराज खतिवडाले बताए ।
शिविर सञ्चालनका लागि वडा कार्यालयले दुई लाख रुपैयाँ सहयोग गर्ने भएकाे छ । शिविर सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान छ । अन्य रकम विभिन्न निकायबाट सहयोग उपलब्ध हुने आयोजकले जनाएकाे छ ।

