मकवानपुर । एक साता अघि चिनको तिब्बतबाट नेपालकाे रसुवाहुँदै भोटेकोशी नदिमा आएको बाढीबाट प्रभावितहरुलाई राहत संकलन कार्य मकवानपुरमा तिव्र पारिएको छ । यसैबीच मकवानपुरको भीमफेदी गाउँपालिकाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित स्थानीय तहहरुलाई राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका ५ वटा स्थानीय तहलाई प्रति पालिका १-१ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
भीमफेदी गाउँपालिकाले रसुवा जिल्लाको गोसााइकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवकोट जिल्लाको आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई सहयोग गर्ने निर्णय गरेको हो । प्रत्येक स्थानीय तहको विपद् व्यवस्थापन कोषमा एक लाख रुपैयाँ जम्मा हुने गरी रकम उपलब्ध गराइने अध्यक्ष लामाले बताउनु भयो ।
अध्यक्ष लामाका अनुसार विपद्को समयमा स्थानीय तहबीच एकता, सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले सहयोगको निर्णय गरिएको हो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अति प्रभावित पालिकाहरुलाई रकम उपलब्ध गराउन लागिएको उनले बताए ।
भीमफेदी गाउँपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने सहयोग रकम र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम व्यवस्थापन गर्ने जनाएको छ ।
त्यस्तै, भोटेकोशी बाढीका क्रममा मृत्यु तथा बेपत्ता भएका भीमफेदी गाउँपालिकाभित्रका परिवारलाई पनि गाउँपालिकाको प्रचलित कार्यविधि तथा मापदण्डअनुसार राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।
गाउँपालिकाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

