आज फागुन ७ गते ऐतिहासिक गौरवको दिन हो । एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्यपछि नेपाली जनताले नागरिक स्वतन्त्रता र मौलिक अधिकार प्राप्त गरेको आज ७५ वर्ष पुगेको छ। नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको दिन फागुन ७ गते नेपाली जनताको त्याग, बलिदान र संघर्षको प्रतिक प्रजातन्त्र दिवस ।
प्रजातन्त्र प्राप्तिपछिको यो सात दशक लामो यात्रामा नेपाली राजनीतिक उतारचढावहरू जारी छ। २००७ सालको क्रान्तिले बिजारोपण गरेको प्रजातन्त्रकै जगमा उभिएर हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौं। संविधान सभाबाट निर्मित संविधान, समावेशी राज्य प्रणाली र जनतामा निहित सार्वभौमसत्ता प्रजातन्त्रकै महत्वपूर्ण उपलब्धिहरू हुन्। यद्यपि,व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको जनगुनासो व्याप्त छ। प्रजातन्त्रको मुख्यमर्म नै सुशासन र जनताको जीवनस्तरमा सुधार हो। जबसम्म सामान्य नागरिकले राज्यको उपस्थिति महसुस गर्न पाउँदैनन् र न्याय एवम् अवसरमा समान पहुँच हुँदैन, तबसम्म प्रजातन्त्रको वास्तविक फल प्राप्त भएको मान्न सकिँदैन। अहिलेको मुख्य चुनौती प्राप्त उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्नु हो।यसको लागि राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र पनि मजबुत हुनु आवश्यक छ।कानुनी शासन र भ्रष्टाचारमुक्त समाज नागरिकको अपेक्षा हो, आवश्यकता हो।
प्रजातन्त्र भनेको चुनावमा भोट हाल्नु मात्र होइन,नागरिक सचेत हुनु र सत्तालाई जवाफदेही बनाउनु पनि हो। प्रजातन्त्र दिवस मनाइरहँदा ती महान सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली तब मात्र हुनेछ, जब हामी देशको हितलाई सर्वोपरि ठानेर अघि बढ्नेछौं। व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर आवश्यकता अनुसार खबरदारी गर्दै राष्ट्र निर्माणमा योगदान गरौं, हातेमालो गरौ ।

