मकवानपुर । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विरोदमा मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ मकवानपुरको नेतृत्वमा निकालिएको जुलुसमा सहभागी युवाहरूले उक्त गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन्। राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले झण्डा जलाउने कार्य अस्वीकार्य रहेको भन्दै सम्बन्धित पक्षले २४ घण्टाभित्र कारबाही नगरे आन्दोलनमा जाने चेतावनी दिए।
युवा संघले फागुन ११ गते हेटौैडामा रास्वपा सभापति रवि लामिछाने तथा बालेन शाह सहभागी हुने कार्यक्रममा संयमता अपनाउन समेत आग्रह गरेकाे छ । प्रदर्शनका क्रममा रास्वपाले घण्टी बजाउँदै हिँड्ने शैलीलाई ‘अराजनीतिक गतिविधि’को संज्ञा दिँदै अस्वीकार्य रहेको नगरकोटीले बताए। एमाले संगठित, अनुशासित राजनीतिक संगठन भएकाले यस्ता गतिविधिले पार्टीलाई कमजोर नबनाउने दाबी गरे ।
लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धका यस्ता गतिविधिको प्रतिवाद गर्न आवश्यक भएकाले चेतावनीसहितको प्रदर्शन गरिएको बताइएकाे छ । हाम्रो संगठनको संस्कारका कारण यो हाम्रो सांगीतिक विरोध भएकोले यसलाई सामान्य नदिन युथ भोलेन्टियरका केन्द्रीय सदस्य सानु लामाले चेतावनी दिए ।
यसैगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो ।
एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ । रास्वपाले यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ ।
यसैबीच नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

