मकवानपुर । फागुन २१ काे लागि तोकिएकाे प्रतिनिधि सभाकाे निर्वाचनकाे मिति नजिकिदै जादाँ मकवानपुरमा तीव्र रुपमा प्रचार प्रसारकाे कार्यमा पार्टी जुटेकाे छ । जिल्लामा क्रियाशील तथा उम्मेदवारी दिएका दलकासहित स्वतन्त्र उम्मेदवार समेत घरदैलोमा व्यस्त छन् ।
यसैबिच मकवानपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश कुमार बर्तौला अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गरे । ‘मैले चुनावका बेला संसदमा निदाएर बस्दिनँ, रेडियो र टेलिभिजन खोल्दा आफ्नो क्षेत्रको मुद्दा उठाएको सुन्न र देख्न पाउने गरी काम गर्छु भनेको थिएँ,’ बर्तौला प्रचारप्रसारमा भने, ‘त्यो वाचा मैले संसदमा देखाएको सक्रियतामार्फत पूरा गरेको छु ।’
थाहानगरकाे गाउँटोलमा पुगेका बर्तौलालाई मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्ट (रुदाने) कै झल्को आउने गरी स्थानीयले सम्झिएका छन् । निर्वाचनका क्रममा घरदैलो गर्दै थाहा नगरपालिका (पालुङ) का गाउँटोलहरुमा पुगिरहेका बर्तौलाको कार्यशैलीमा जनमुखी नेता रुपचन्द्र बिष्ट ‘‘रुदाने’को झल्को पाएको उनीहरुले बताएका छन् ।
आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्लाङ–चन्द्रागिरी–थानकोट सडकलाई प्रस्तुत गर्दै उनले भने ‘मैले यो सडकको स्तरोन्नतिका लागि स्रोतको अभाव हुन दिन्न भनेको थिएँ । ३२ महिनाकै कार्यकालमा सरकारबाट झण्डै ६२ करोड बजेट सुनिश्चित गराउन सफल भएको छु । अहिले सडकको काम तीव्रताका साथ भइरहेको छ ।’
विगतमा चुनाव जितेपछि नेताहरू गाउँ नफर्कने आम गुनासोलाई बर्तौलाले तोडिदिएको स्थानीयले बताएका छन् । २०७९ को निर्वाचनपछि उनी संसद चलेको समयबाहेक अधिकांश समय गाउँकै घरदैलो र जनताका समस्या समाधानमा केन्द्रित हुने गरेका थिए ।
एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार, मतदाताहरूले बर्तौलाको सक्रियतालाई रुदानेको जनमुखी शैलीसँग तुलना गरेका छन् । बुधबार थाहाका मतदाताहरूसँग भेटघाट गर्दै बर्तौलाले स्थानीयका गुनासो सुन्ने, सुझाव लिने तथा आशीर्वाद ग्रहण गरेका थिए ।
यस्तो छ बर्तौलाको १० बुँदे प्रतिवद्धता
महेश कुमार बर्तौलाले १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आउँदो निर्वाचनमा आफ्ना १० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
१. मध्यवर्ती क्षेत्रका समस्याको दिगो समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन्। भूमि समस्या समाधानका लागि कानूनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यायोचित क्षतिपूर्ति र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका विषयमा आवश्यक पहल गर्ने उनको प्रतिवद्धता छ।
२.पूर्वाधार विकासअन्तर्गत खानेपानी, सिंचाइ, कृषि तथा सञ्चार पूर्वाधार विस्तार, बस्ती संरक्षण तटबन्धन, सडक र पुल निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । विशेषगरी रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने सडक) को निर्माण तथा स्तरोन्नतिमा पहल गरिने उल्लेख गरिएको छ।
३. स्वास्थ्य सेवामा नागरिकको सहज र सरल पहुँच स्थापना गर्ने योजना अघि सारिएको छ।
४. कृषि क्षेत्र सुदृढीकरणका लागि दुग्धजन्य र मासुजन्य उत्पादनको बजार विस्तार गर्दै ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन गरिने, वन्यजन्तुबाट हुने बाली क्षतिमा न्यायोचित क्षतिपूर्ति तथा नियन्त्रणका लागि कानूनी र संरचनागत व्यवस्था गरिने प्रतिवद्धता सार्वजनिक गरिएको हो।
५. सहकारी, कृषि र वन स्रोतको परिचालनमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने योजना पनि अघि सारिएको छ ।
६. शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ‘एक पालिका–एक आवासीय विद्यालय’ अवधारणाअनुसार शैक्षिक पूर्वाधार विकास, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता, युवा–विद्यार्थीसँग संसदीय संवाद कार्यक्रम सञ्चालन तथा मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणमा पहल गरिने उल्लेख गरिएको छ। युवा उद्यम प्रवद्र्धन, स्टार्टअप कर्जा सहजता र कर्जाको सीमा वृद्धि गर्न प्रतिवद्ध रहेको बर्तौलाले बताए ।
७. कानून तथा नीति निर्माण प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्ने, विभिन्न जाति, जनजाति, सिमान्तकृत समुदाय, महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिवद्धता पनि सार्वजनिक गरिएको छ ।
८. जनताका विकास आयोजनालाई सम्बोधन गर्न संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गरिने,
९. राक्सिराङ–कैलाश गाउँपालिकामा ‘समृद्धि विशेष कार्यक्रम’ सञ्चालन तथा थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर उत्तरी मकवानपुरमा पर्यटन सर्किट निर्माण गरिने योजना अघि सारिएको छ ।
१०. देशव्यापी रूपमा बढ्दो लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि कानूनी तथा संरचनागत सुधारसहित अभियान सञ्चालन गर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मकवानपुरमा उद्योगधन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने उम्मेदवारको भनाइ छ ।
एमाले देश निर्माणको नेतृत्वदायी शक्ति: राना
मकवानपुर क्षेत्र नं. १ का नेकपा एमाले उम्मेदवार रामेश्वर रानाले यहि फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा माहोल बनाउनी उदेश्यले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन् । उनले पछिल्ला दिनहरूमा आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर रुपमा जनतामाझ पुगेका रानाले हेटौंडा उपमहानगरपालिकाकाे ६ र १६ नम्बर वडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले देश निर्माणको नेतृत्वदायी शक्ति भएको दाबी गरेका छन्।
उनले भने ‘एमाले देश बनाउने शक्ति हो देश बिगार्ने होइन ।’ उनले विगतका सरकारहरूको कामको समीक्षा गर्दै अबको निर्वाचन देशलाई सही मार्गमा फर्काउने अवसर भएको उल्लेख गरे । फरक राजनीतिक परिस्थिति र चुनौतीपूर्ण अवस्थाबीच हुन लागेको यस निर्वाचनलाई उनले निर्णायक मोडको रूपमा व्याख्या गरे।
रानाले कार्यकर्ता र समर्थकहरूलाई घर–घरमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आग्रह गरे। जनताका गुनासा, आलोचना र सुझावलाई गम्भीरतापूर्वक सुन्ने र समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउँदै उनले विकास, सुशासन र स्थायित्वलाई मुख्य प्राथमिकता बनाउने बताए।
‘देशलाई अस्थिरता र अव्यवस्थाबाट मुक्त गर्दै सही ट्र्याकमा ल्याउन देशभर एमालेको जित आवश्यक छ’ उनले भने । राष्ट्रको स्वाभिमान, समृद्धि र स्थायित्वका लागि एमालेको बहुमत अपरिहार्य रहेकाे उनले बताए । ‘घरदैलो क्रममा स्थानीय राखेका समस्या, अपेक्षा र सुझावलाई समेटेर योजनाबद्ध रूपमा समाधान गर्ने बिश्वास रानाले दिएका छन्।

