मकवानपुर । अणकुमारी स्मृति साहित्य पुरस्कार निकुञ्ज कार्की तथा शेषजङ्ग स्मृति कथा पुरस्कार रिदम घिमिरेले प्राप्त गरेका हुन् । शनिबार साहित्य सङ्गम मकवानपुरको ३६४ औं नियमित साहित्य सन्ध्याको अवसरमा कार्की र घिमिरेलाई ५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
साहित्य सङ्गमले आयोजना गरेको प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत कार्कीको ‘जीवन एक प्रयोगशाला’ शिर्षकको संस्मरण उत्कृष्ट भएको हो । कार्की ८ जनालाई पछि पार्दै उत्कृष्ट भएकी हुन् । यसैगरी कथा प्रतियोगितामा ११ जना प्रतियोगीहरुलाई पछाडि पार्दै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत रिदम घिमिरेको ‘अधुरो बिहानी’ कथा उत्कृष्ट भएको हो ।
अणकुमारी स्मृति साहित्य पुरस्कार कक्षा ९ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई प्रदान गर्ने गरि मकवानपुरका साहित्यकार आरसी रिजालले आमा अणकुमारी रिजालको स्मृतिमा स्थापना गरेका हुन् । यो पुरस्कार साहित्य सङ्गमले प्रत्येक पटक साहित्यका विविध विधााहरु तोकेर प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई प्रदान गर्दै आएको छ ।
यस्तै शिक्षक डेन्टीजंग शाहले छोरा शेषजंगको स्मृतिमा स्थापना गरेको कथा पुरस्कार कक्षा ९ देखि कक्षा १२ सम्मका छात्र तथा छात्रा दुवैलाई प्रदान गर्दै आएको छ । यो पुरस्कार कथा प्रतियोगितामा उत्कृष्ट हुनेले मात्र प्राप्त गर्दछ । साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्य तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

