मकवानपुर । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित घरदैलो अभियान सञ्चालन गरेका छन्।
हेटौंडा उपमहानगरपालिका–५ र ७ नम्बर वडामा सनिवार घरदैलो गरिएको छ । आइतबार मकवानपुरगढीमा घरदैलो कार्यक्रम रहेको छ ।
घरदैलोका क्रममा उम्मेदवार रानाले स्थानीय मतदातासँग भेटघाट गर्दै समृद्ध मकवानपुर निर्माणका लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका थिए।
विकास, रोजगारी, सुशासन र जनताको जीवनस्तर उकास्ने विषयलाई केन्द्रमा राख्दै उनले विगतको अनुभव र क्षमताका आधारमा आफू सक्षम प्रतिनिधि हुने दाबी गरे। रानाले मकवानपुरको समग्र विकासका लागि आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गरेका छन् ।
स्थानीय बासिन्दाहरूले रानाको सरल, जनमुखी र विकासप्रेमी नेतृत्वप्रति भरोसा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। घरदैलो कार्यक्रममा देखिएको जनउत्साहले मकवानपुर–१ मा एमालेको चुनावी माहोल थप सुदृढ बन्दै गएको संकेत गरेको छ।
नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूको उल्लेख्य उपस्थितिसहित सम्पन्न घरदैलो अभियानले पार्टीप्रतिको जनविश्वास अझ बढ्दै गएको नेताहरूले बताएका छन्।
फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार रानाले जनताको घरदैलोमै पुगेर मतदाताको मन जित्ने अभियानलाई तीव्र बनाउदै लगेका छन् ।

