यतिबेला नेपाली घर आँगनमा वडा दशैको चलहपहल सुरु भएको छ।संघारमै तिहार, छठलगायतका चाडपर्व छन्। यि केवल धार्मिक आस्था र सांस्कृतिक परम्पराका प्रतीक मात्र होइनन्, सामाजिक सद्भाव, पारिवारिक एकता र राष्ट्रिय पहिचानका आधार पनि हुन्।
यी पर्वले टाढिएका आफन्तलाई नजिक ल्याउँछन्, मनमुटाव बिर्साएर सम्बन्धमा आत्मीयता थप्छन् र समाजमा आपसी सहयोग तथा सद्भावको भावना बलियो बनाउँछन्। तर, पर्वको वास्तविक महत्व देखावटी खर्च र तडकभडकमा होइन, मानवीय सम्बन्ध र सांस्कृतिक मूल्यको संरक्षणमा निहित छ।
पछिल्लो समय चाडपर्वमा बढ्दो उपभोगवादी प्रवृत्ति, अनावश्यक खर्च, महँगी, कालोबजारी र अस्वस्थ प्रतिस्पर्धाले सर्वसाधारणलाई आर्थिक दबाबमा पार्ने गरेको छ। हुनेखानेको तडकभडक र विपन्न परिवारको अभावबीचको दूरीले पर्वको समानताको सन्देशसमेत कमजोर बनाउँछ। त्यसैले पर्व मनाउँदा आर्थिक क्षमताको ख्याल गर्नु, विपन्न तथा असहायलाई सहयोग गर्नु र कसैलाई पनि सामाजिक प्रतिष्ठाका नाममा खर्च गर्न बाध्य नपार्नु सबैको जिम्मेवारी समेत हो ।
यसैगरी, यात्रुको सुरक्षित आवागमन, गुणस्तरीय खाद्यवस्तुको उपलब्धता, बजार अनुगमन, कृत्रिम अभाव नियन्त्रण र सार्वजनिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्छ।नागरिकले पनि मदिरा सेवन गरी सवारी नचलाउने,जुवातासबाट टाढा रहने, वातावरण प्रदूषण नगर्ने र बालबालिकाको सुरक्षालाई प्राथमिकता दिने जिम्मेवारी निर्वाह गर्नुपर्छ।पर्वको सार आपसी प्रेम, सद्भाव र सहअस्तित्व हो।
सबै वर्ग, समुदाय र धर्मका नागरिकले सम्मानपूर्वक पर्व मनाउन पाउने वातावरण निर्माण गर्नु राज्य र समाज दुबैको दायित्व हो।सबैमा पर्वको शुभकामना !

