मकवानपुर । हिन्दु नेपालीहरुले मुख्य पर्वको रुपमा मनाउँदै आएको यमपञ्चक सुरु भइसकेको छ । यमपञ्चक सुरु हुनुभन्दा साता अगाडि नै विद्युतीय झिलिमिली बत्तिले शहरी बस्ति झलमल्ल छन् । शहर उन्मुख बजारमा पनि झिलिमिली बत्तिको उत्तिकै प्रभाव छ ।
घर घरमा लक्ष्मी पूजाको तयारी चल्दैछ । तर तिहारमा जुन रौनकता विगतमा देखिन्थ्यो त्यो विस्तारै हराउँदै गएको छ । यो वर्ष प्राकृतिक प्रकोपको कारण देशमा पीडा थपिएकोले यथार्थ एकातिर छ । तर गाँउघरको पर्वको मौलिकता पनि हराउँदो छ । “दशैं तिहार आउन लाग्यो भन्ने बितिकै बाबियो, बाँसको लिङ्गो, कमेरो माटोको खोजि सुरु हुन्थ्यो अहिले तिनीहरुको वास्तै हुदैन” मकवानपुरगढी ५ का लक्ष्मण घिमिरेले भन्नुभयो “अब ढुङ्गामाटोको घरहरु नै भेट्न गाह्रो छ।”
अहिलेको पुस्तालाई कमेरो माटो खोज्ने, खन्ने र आसार्ने बारे जानकारी नै छैन । कमेरो माटो संकलन गर्न जमिन मूनि धेरै तलसम्म खाल्डो खन्नुपर्दा यो जोखिमपूर्ण पनि हुने गरेको उहाँको अनुभव छ । माटो खन्न खाल्डोभित्र पसेको बेलामा माटो भासिएर कतिको ज्यान जाने गरेले यो उच्च जोखिमको काम हो । त्यो भन्दा अहिले बजारमा पाइने रङहरु नै उपयोगि मान्नुहुन्छ उहाँ।
उबेलाको रमाइलो यस्तो थियो घिमिरे स्मरण गनुहुन्छ, “कमेरो र रातो माटोले घरको भित्तामा पोतिन्थो, विभिन्न चित्रहरु बनाएर काला भरिन्थ्यो, झ्याल ढोकाहरुमा ब्याट्रीको कालो धुललाई पानी र तेल मिसाएर फिटेर लगाउँथ्यौ अनि त घर त चिटिक्कै हुन्थ्यो ।”
कतैकतै कालो माटोले पनि घरको पिढीका भित्ताहरुमा थप आकर्षण र कला थपिने गरिएको उहाँ स्मरण गर्नुहुन्छ। अहिले उबेला जस्तो विभिन्न रङको माटोले घर पोत्ने रङ्ग्याउने चलन हराउँदै गए ।
हाल शहरका मात्रै हैन ग्रामिण घरहरु पनि सिमेन्टलगाएर बनाउने र चुन तथा आधुनिक रङको प्रयोग प्रचलन बढेको छ । यसैले गाउँघरमा दशैँ तिहारसँग जोडिएको माटोले घर रङ््ग्याउने चलन पनि हराउँदै गएको हो ।
माटोको जोडाइ र लिपपोत गरी बनाइएको घरमा विभिन्न रङका माटो प्रयोग गरी हुन्थ्यो घरको लिप पोतपछि दशै तिहार जस्ता पर्वको झल्को आउँथ्यो । घर लिपपोत गर्न घरदेखि घण्टौं लामो यात्रा गरेर वन, खोल्सी तथा डाँडापाखाबाट सेतो माटो (कमेरो) खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदो छ ।
पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले लिपपोत र कमेरो लगाउने घर निर्माणको अभ्याससँगै पुरानो शैलीको यस्ता परम्परागत चलन तथा अनुभव समेत ओझेलमा पर्दै गएको हेटौंडा उपमहानगरपालिका १८ फुर्केचौरका ज्वाला पराजुली बताउँहुन्छ ।
अहिले घरहरु सिमेन्ट जडित हुने तथा बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि माटो खोज्नुपर्ने झन्झटै हटेको उहाँ पराजुली बताउँछन् । गाउँघरमा भएका माटो जडित घरहरुमा समेत बजारिया रङ नै प्रयोग गर्ने गरेकोले समेत माटोको प्रयोग कथा जस्तै बनेको छ ।
माटोको घरघर सितल हुन्थे, वातानुकुलित हुन्थे, अहिले कङ्क्रिटको निर्माणले तापक्रम समेत बढाएको छ । मकवानपुर भिमफेदी गाउँपालिका नामटारका इन्द्र बर्तौला भन्नुहुन्छ “सजिलोको लागि बनेका आवासहरुले विस्तारै मौलिकता पनि गुमाउँदै छन् ।”
समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास हराउँदै गएको उहाँ बताउनुहुन्छ ।
कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, सामुदायिक एकता, सहकार्य, श्रम र पारिवारिक उत्साहसँग पनि जोडिएको परम्परा थियो । अब पहिले जस्तो एकअर्काको सुखदुखमा साथ दिनेहरु समेत कमै भेटिन्छन् हेटौंडा १८ सुकौराकी समित्रा पुडासैनी भन्नुहुन्छ “सामाजिक सञ्जालले वास्ताविका छिमेकी÷समाज, परिवारभित्रै समेत आपसी चासो कम गरेको छ।”
हराउँदै परम्परागत पिङहरू
पर्वहरुको आफ्नै मौलिक, सांस्कृतिक छ, यसको आफ्नै सामाजिक महत्व छ। दशैँ भन्नेबित्तिकै गाउँघरमा हालिने लिङ्गे पिङ र रोटे पिङको सम्झना सबैभन्दा पहिले आउँछ। तर पछिल्लो समय यो पनि हराउँदै छन् ।
प्रविधि, व्यस्त जीवन शैली र शहरीया रहनसहनले सामाजिक जीवनशैलीमा आएको परिवर्तनसँगै लिङ्गे पिङहरु पनि हराउँदै छन् । गाउँघरमा सबै मिलेर बाबियो खोज्ने, लठ्ठा बाट्ने र बाँस खोज्ने पिङ हाल्ने फुर्सद अब छैन । पर्यटकीय स्थलहरुमा व्यवसायीक दृष्टिकोणमा सिमित छन् अहिले पिङहरु । गाउँघरमा पीङ देख्नै मुस्किल छ अचेल ।
बर्तौला भन्नुहुन्छ “रोटे पिङको झन् इतिहास नै खोज्न पर्ने भैसक्यो ।” डोरी र काठका ठूला खाम्बाहरू प्रयोग गरेर घुमाउने तरिकाले बनाइने रोटे पिङ निर्माण गर्न निकै सीप, धेरै मानिसहरूको श्रम तथा ठुलै खर्च आवश्यक हुन्छ । काठको अभाव, निर्माण गर्ने पुराना कालीगडहरूको कमी र आधुनिक मनोरञ्जनका साधनका कारण यो लगभग पूर्ण रूपमा लोप भइसकेको छ। लिङ्गे पिङ बाँसका चारवटा अग्ला लिङगा गाडेर बाबियो वा सनपाटको लठ्ठा (डोरी) बाटेर लिङ्गे पिङ हालिन्छ। दशैँ तिहारमा “एकपटक भए पनि भुइँ छाड्नुपर्छ, मरेपछि स्वर्ग पुगिन्छ भन्दै पिङ खेलिथ्यो” सुमित्रा भन्नुहुन्छ । अब त्यो जनविश्वास पनि रहेन । तर पछिल्लो समय बाँस र बाबियोको डोरीको सट्टा सुतली, प्लाष्टिक वा नायलोनको डोरी प्रयोग हुन थालेको छ ।
मौलिकतासँगै के हराए
दशैंमा माटोले घर लिपपोतमा गरिने कला र पिङ मात्रै हराएका छैनन् । यो सँग जोडिएका कला र परम्परा पनि हराउँदो छन् । प्रकृतिसँगको निकटता हराउँदो छ । ग्रामिण हस्तकलाहरु लोक हुँदैछन् । पिङमा प्रयोग हुने बाँस, बाबियो, डोरी र काठ सबै प्रकृतिका उपज हुन् । पिङमा मच्चिनुलाई धर्ती र आकाशबीचको सन्तुलन तथा प्रकृतिप्रतिको आभार व्यक्त गर्ने तरिका मानिने सस्कृतविद रामचन्द्र आचार्य फुर्सदी बताउनुहुन्छ।
लिङगे वा रोटे पिङ एक्लै बनाउन संभव हुदैन। बाबियो काट्ने, डोरी बाट्ने, बाँस काट्ने र ठड्याउने कार्यमा सिङ्गो चौतारी वा गाउँका मानिसहरू जुट्थे। यसले नेपाली समाजको श्रमदान र अर्मपर्म सामुहिकताको संस्कृतिलाई बलियो बनाउँथ्यो। यो परम्पारा पनि हराउँदो छ ।
दशैँ, तिहारमा घर फर्किएका परदेशी, गाउँले र आफन्तहरू पिङ खेल्ने बहानामा एकै ठाउँमा भेला हुन्थे। यसले मनमुटाव बिर्साएर सामाजिक एकता र सद्भाव अभिवृद्धि गथ्र्यो, त्यो पनि हराउँदो छ ।
काठका ठूला चक्रहरूलाई काठकै किला र चुकुलका भरमा अड्याएर घुमाउने रोटे पिङ र चारवटा बाँसको सन्तुलन मिलाएर उभ्याइने लिङ्गे पिङ नेपाली पुर्खाको मौलिक प्रविधिका उत्कृष्ट नमुना हुन्। अब गुमाउँदै छ गाउँले ।
वातावरणमैत्री सामग्री (बाँस, काठ, बाबियो) को प्रयोगले हाम्रो प्राचीन जीवनशैली प्रकृतिको प्रतिकूल नभई अनुकूल थियो भन्ने प्रमाण दिन्छ। “दशैं तथा तिहारको पिङ र लिपपोत परम्पारा लोप हुनु भनेको माटो, काठ वा बाँसको ढाँचा हराउनु मात्र होइन, यससँगै जोडिएको रैथाने सीप, सामूहिक श्रमको भावना, सामाजिक एकता र मौलिक पहिचान हराउँदै जानु हो” आचार्य भन्छन् ।
देउसी भैलोको लागि समय सिमा
चाडपर्वको समय हुनसक्ने आपाराधिक घटनाहरुलाई मध्ये जनर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले रातको समयमा ढीलोसम्म देउसी भैलो खोल्न रोक लगाएको छ ।
रातको समयमा शान्ति सुरक्षामा प्रतिकुल असर नहोस् भनेर राती ९ बजेभन्दापछि देउसी भैलो खेल्न मनाही गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनु भयो । संस्थागत रुपमा र दिउँसोको समयत अग्रीम पत्रचार गरेर आयोजना गरिने देउसी भैलो कार्यक्रमलाई भने प्रशासनले रोक लगाएको छैन ।
मकवानपुर प्रहरी प्रशासनले चाडपर्व सुरक्षा योजना अन्तरगत सवारी जाँचलाई कडाइ गरेको छ । लागु औषध ओसारपसार तथा प्रतिबन्धित पटाकाहरुमाथि निगरानी बढाएको प्रशासनले बताएको छ ।

