मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भएकाे छ । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएकाे हाे ।
‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन’ उहाँले भन्नुभयो ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता समाचार लेख्ने माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण क्षेत्र भएको उहाँले बताउनु भयो । ‘पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।
‘लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन पत्रकारिता स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार हुनु पर्ने उहाँकाे भनाई थियो । सञ्चारमाध्यमलाई राज्य र नागरिकबीचको महत्त्वपूर्ण कडीका रूपमा रहेकाेले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउन तथा कुनै पनि राजनीतिक वा व्यक्तिगत आग्रह भन्दा माथि उठेर सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।
‘अहिले सूचना प्रविधिको विकाससँगै चुनौती थपिएको छ’ उहाँले भन्नुभयो ‘पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएकोले श्रमजीवी पत्रकारको हितका लागि सम्बद्ध संस्थाहरू समेत क्रियाशील हुनुपर्छ । ‘प्रदेश प्रमुख देवकाेटाले देश राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको चरणमा रहेको भन्दै सुशासन, समृद्धि र जनताका आकांक्षा पूरा गर्न राज्य, राजनीतिक दल र सञ्चारमाध्यमलगायतका पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्पराज अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

