मकवानपुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको टिम बनेकाे छ। सभापति थापासहित १७ पदाधिकारी प्रतिस्पर्धाबाट छानिएका हुन् भने वरिष्ठ उपभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए ।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नियमित महाधिवेशनमा सभापतिका अर्का प्रतिष्पर्धी श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराउँदै सभापतिमा दोहोरिएका हुन्। थापाले ६ हजार ५८४ मत पाउँदा खड्कीले ३७५ मत मात्र ल्याए। खुला उपसभापतिको पदमा ७ जनाबिचको प्रतिस्पर्धा हुँदा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भए।
समावेशी उपसभापतिमा ५ जनाबिचको प्रतिस्पर्धामा उद्योगपति विनोद चौधरी निर्वाचित भए। महामन्त्रीमा दुई खुला पदका लागि ८ जनाबिच प्रतिस्पर्धा हुँदा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भए । महिला महामन्त्रीमा ३ जनाबिचको प्रतिस्पर्धाबाट डा. डिला सङ्ग्रौला निर्वाचित भइन्। महालक्ष्मी उपाध्याय (डिना) दोस्रो हुँदा रिता खनाल तेस्रो भइन्।
विभिन्न १० कलस्टरका ११ सहमहामन्त्री निर्वाचित भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा ९ जनाबिच प्रतिस्पर्धा हुँदा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भए। सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्य निर्वाचत भएका छन्। यस्तै सहमहामन्त्री थारुतर्फ योगेन्द्र चौधरी निर्वाचित भए। सहमहामन्त्री मधेसीतर्फ ८ जना प्रतिस्पर्धीलाई पन्छाएर अजयकुमार चौरसिया निर्वाचित भए।
सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भइन्। यस्तै सहमहामन्त्री (आदिवासी जनजाति) बहादुर सिंह लामा तामाङ निर्वाचित भए। यता सहमहामन्त्री दलिततर्फ ३ जनाबिच प्रतिस्पर्धा हुँदा प्रकाश रसाइली स्नेही विजयी भए। सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फ ५ जनाबिच प्रतिस्पर्धा हुँदा जीवनबहादुर शाही निर्वाचित भए। सहमहामन्त्री मुस्लिमतर्फ डा फिर्दोश आलमले बाजी मारे। सहमहामन्त्री अल्पसंख्यक र अपांगतातर्फ आंगेलु शेर्पा निर्वाचित भएका छन्।

