मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुङ्गिनु पर्ने बताउनु भएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित कार्यक्रम उहाँले यस्तो बताउनु भएकाे हाे ।
मुख्यमन्त्री थापामगरले संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह समेत गर्नु भएकाे छ । प्रहरी समायोजन ढिलाइ हुँदा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन व्यावहारिक कठिनाइ भइरहेको उहाँले बताउनुभयो। ‘प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारलाई प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने वातावरण आवश्यक रहेको छ ।’
‘सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजनको प्रक्रिया छिटो निष्कर्षमा पुर्याउन आग्रह गर्दछु’ मुख्यमन्त्री थापामगरले भन्नुभयो समायोजनपछि प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन व्यवस्थित हुनुका साथै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न सकारात्मक परिणाम आउने छ ।’
मुख्यमन्त्री थापामगरले प्राकृतिक विपद्का बेला नेपाल प्रहरीले निर्वाह गर्दै आएको साहसिक र मानवीय भूमिकाको प्रशंसा गर्नुभयो। बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्का समयमा प्रभावित नागरिकले सबैभन्दा पहिले राज्य र सुरक्षाकर्मीबाट सहयोगको अपेक्षा गर्ने उहाँले बताउनुभयो। हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उहाँले कठिन परिस्थितिमा नेपाल प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
जोखिमपूर्ण भूगोल, अवरुद्ध सडक, प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद प्रहरी कर्मचारीले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि काम गरेको भन्दै प्रहरीको कर्तव्यनिष्ठा र सेवाभावको मुख्यमन्त्रीले प्रशंसा गर्नुभयो। विपद्का बेला कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीका परिवारजनको योगदानप्रति पनि उहाँले सम्मान व्यक्त गर्नुभयो।
मुख्यमन्त्री थापामगरले प्रहरी संगठनको सबैभन्दा ठूलो शक्ति जनविश्वास भएको बताउँदै प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो। कानून सबैका लागि समान रहेको अनुभूति प्रत्येक नागरिकले गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्रै प्रहरीप्रतिको जनविश्वास बलियो बनाउन सक्ने बताउनुभयो। अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
बागमती प्रदेशमा तीव्र सहरीकरण, बढ्दो सवारी चाप, सडक दुर्घटना, लागुऔषध दुरुपयोग, साइबर अपराध तथा घरेलु हिंसालगायतका चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता समस्याको समाधानका लागि प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्राङ्गणमा आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका पत्रकार प्रताप विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा राम्रो काम गर्ने प्रहरी उच्च अधिकृतहरु लगायतकालाई पनि सम्मान गरिएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलान लगायतकाको आतिथ्यता रहेको थियो ।

