अहिले शरद ऋतुकाे मौसम छ । असोज र कार्तिक महिनामा पर्छ शरद ऋतु । शरद भनेकाे रमाइलो घमाइलाे ऋतु हाे । यही ऋतुमा नेपालीहरूको महान् चाड दशैं र तिहार पर्छ । अहिले नेपालीहरुकाे घर-आँगनमा दशैं पर्व भित्रिएकाे छ। दशैंको आगमनको सन्देश नीलो सफा आकाश, सिरसिर चल्ने हावा, घमाइलाे दिन बिहानै लाग्ने हुस्स सानीपहेँली सयपत्री फूल र मालश्री धुनको गुञ्जनले दिइरहेकाे हुन्छ।
कौतूहल, पर्खाइ र सादगीको उत्सव थियाे दशैं । खासगरी पहिले जहाँ सञ्चार र प्रविधिको विकास भइसकेको थिएन, त्यो समयको दशैं र आजको आधुनिक प्रविधिको युगको दशैंबीच एउटा ठूलो सांस्कृतिक र सामाजिक अन्तर देख्न सकिन्छ। सम्झँदा लाग्छ— त्यो युग पर्खाइ र सादगीको थियो। त्यतिबेला दशैं केवल एउटा चाड मात्र नभएर वर्षभरिको सबैभन्दा ठूलो आशा र उत्साहको केन्द्र हुन्थ्यो।
त्यतिबेला आजको जस्तो दिनहुँ नयाँ लुगा किन्ने वा मासु-भात खाने अनुकूलता धेरैजसो परिवारमा थिएन। बालबालिकाका लागि नयाँ कपडा र मिठो-मसिनो खानेकुरा पाउन दशैं नै कुर्नुपर्थ्यो। दर्जीकोमा नयाँ कपडा सिलाउन दिएर त्यो कहिले तयार होला भनेर दिन गन्ने कौतूहल बेग्लै हुन्थ्यो। दशैंका दिन नयाँ कपडा लगाएर गाउँभरि देखाउँदै हिँड्दा पाइने खुसीको तुलना आजको कुनै पनि भौतिक सुखसँग हुन सक्दैन।
सञ्चार र प्रविधिको पहुँच नभएको त्यो समयमा मनोरञ्जनका साधनहरू पूर्णतः प्राकृतिक र सामाजिक थिए। घटस्थापना सुरु भएसँगै घरका धुरीबाट चङ्गा उडाउने प्रतिस्पर्धा हुन्थ्यो। गाउँका चोक-चोकमा बाँसको लिङ्गे पिङ र रोटे पिङ हालिन्थ्यो। पिङ हाल्न र मच्चाउन गाउँका युवा तथा वृद्धहरू एकजुट हुन्थे। दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने धार्मिक र सामाजिक मान्यताका कारण पिङमा मानिसहरूको घुइँचो लाग्थ्यो। वर्षमा एक पटक नयाँ लुगा किनिदिनु हुन्थ्यो बा आमाले त्यो पनि स्कुलकाे ड्रेस । यताउता हिड्दा त्यही लगाइन्थ्यो । त्यसमा पनि रमाइलो लाग्थ्यो । ढुंगा र माटोले बनाइएका हुन्थ्ये घर । त्यही घर सिगार्न कमेरो कालाे र राताे माटो ल्याइन्थ्यौ घण्टौ टाढा गएर । लिङ्गे पिङ हाल्न बाबियाे ल्याइन्थ्यो र लठारो बाटिन्थ्यो ।
विभिन्न कामकाे लागि घरदेखि पर परदेशसम्म रहेकाेहरु गाउँ आइपुग्थे र चोक चौतारीमा जम्मा भएर गफ गरिन्थ्यो । जहाँ पुगेका भएपनि परिवारका सदस्य घर आइपुग्थे र रमाइलो गरिन्थ्यो । टाढा रहेका आफन्तहरूसँग सम्पर्क गर्ने एक मात्र माध्यम चिठीपत्र र हुलाक थियो। घटस्थापनाअघि नै परदेशिएका आफन्तले पठाएका शुभकामना चिठी र ग्रीटिङ कार्डहरू घर आइपुग्दा परिवारमा छुट्टै खुसी छाउँथ्यो। चिठीमा लेखिएका शब्दहरूमा आत्मीयता, माया र घर फर्कने उत्सुकता पोखिएको हुन्थ्यो। मिठो मसिनो खाने र राम्रो लगाउन दशैं नै कुर्नु पर्ने बाध्यता थियाे ।
प्रविधि, सुलभता र व्यस्तताको युगसमय बदलिएको छ । नेपालमा सूचना र सञ्चार प्रविधिमा आएको व्यापक क्रान्तिले दशैंको स्वरूपलाई पनि ठूलो परिवर्तन गरिदिएको छ। आजको दशैं प्रविधिसँग जोडिएको छ र धेरै कुराहरू सहज र सुलभ बनेका छन्। आज मिठो-मसिनो खान वा नयाँ लुगा लगाउन दशैं नै कुर्नुपर्ने बाध्यता छैन। आर्थिक रुपमा सक्षम र बजारको पहुँचका कारण मानिसहरू वर्षभरि नै आफ्नो इच्छा अनुसार किनमेल गर्न सक्छन्। बजार तथा ठुला शहर जान यातायातकाे सुविधा छ । उति बेला दशैंकाे लागि किनमेल गर्न तथा चिउरा कुटाउन बुबाकाे पछि लागेर घण्टौ हिडेर बजार गएकाे याद यतिबेला ताजै छ ।
अहिले बजारी तथा यातायातकाे सुगमता रहेकाे स्थानमा अनलाइन सपिङ (Online Shopping) का कारण घरमै बसेर एक क्लिकमा मनपर्ने लुगा वा सामानहरू मगाउन सकिन्छ। दशैं अहिले नयाँ कपडाको पर्खाइभन्दा पनि नयाँ ग्याजेट, सवारी साधन वा ठूला इलेक्ट्रोनिक्स सामान किन्ने र छुट (Discount) को फाइदा उठाउने पर्व छ। आज टाढा रहेका आफन्तलाई चिठी पठाउनुपर्ने बाध्यता छैन। फेसबुक, ह्वाट्सएप, भाइबर र टिकटक जस्ता सामाजिक सञ्जालका माध्यमबाट सेकेन्डमै शुभकामना आदानप्रदान हुन्छ। भिडियो कल (Video Call) मार्फत सात समुद्रपारि रहेका आफन्तसँग पनि प्रत्यक्ष जोडिएर टीका र आशीर्वाद लिने-दिने वातावरण बनेको छ। प्रविधिले भौतिक दूरीलाई निकै कम गराइदिएको छ।
घटस्थापनादेखि नै विद्यालय बिदा हुन्थे। दशैं आएको सङ्केत पात्रोले भन्दा पहिले स्कुलको बिदाले दिन्थ्यो। घर पोत्न रातो माटो खोज्न साथीभाइसँग टाढाटाढासम्म पुगिन्थ्यो। रातो माटो र कमेरोले घरका भित्ता पोतिन्थे, चुनाले घर सेताम्मे बनाइन्थ्यो। घर सफा गर्ने, आँगन लिपपोत गर्ने र घरलाई नयाँ रूप दिने चटारोले गाउँघर नै व्यस्त हुन्थ्यो। घर सानो होस् वा ठूलो, दशैंमा सबैको घरमा नयाँपन छाउँथ्यो।
पहिले साना बालबालिका नयाँ नोटको कडकडिया दक्षिणा पाउन पाउँदा औधी खुसी हुन्थे। आजको युगमा डिजिटल वालेट र मोबाइल बैंकिङमार्फत क्युआर कोड स्क्यान गरेर दक्षिणा पठाउने क्रम बढेको छ। यसले नगद बोक्ने झन्झट हटाएको छ भने नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गरेको छ।
चाडपर्व अहिलेको भन्दा पनि वाल्यकालमा सर्व प्रिय थिए । हिजोको दिन सबैलाई प्रिय नै लाग्छ । गुमिसकेको चिज प्रिय लाग्छ र सम्झनामा आइरहन्छ । भोलीको दिन दिक्क र उदेकलाग्दो हुन सक्छ सायद गर्नु पर्ने संघर्ष आउने भएर हाेला । त्यसैले होला अहिले भन्दा बाल्यकालको पलको चाडपर्व नै प्रिय लाग्ने गर्छन् । यद्यपी अहिले बाल्यकाल बिताइरहेकाहरुलाई हाम्राे पालाका जस्तो रमाइलो अनुभव नहुन सक्छ ।
बाल्यकालकाे दशैंमा आशिर्वादको लागि नभएर दक्षिणाको लागि टिका लगाउन गईन्थ्यो । आशिषको साटो पहिल्यै दक्षिणा दिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो बेला पाईने दक्षिणा भनेको सुका, माेहर १,२ बढीमा ५ रूपैयाँका नोटहरू हुन्थे । छाेरीहरुलाई दक्षिणा दिने गरेकाे देखिन्थ्यो । दक्षिणा बढी पाउने भएर पछि छोरी भएर जन्मेको भए भन्ने लाग्थ्यो । त्यतिबेला त्यहि पैसा ठूलो लाग्थ्यो । त्यसकाे लगानीले लङ्गुर बुर्जा खेल्दा बिस्कुट वा चकलेट किन्न पाँदा संसारको अद्भूत आनन्द लाग्थ्यो । बालापन सानो संसार, सानो चाहना तर विन्दास समय ।
तर, समयको गतिसँगै दशैं मनाउने शैली, यसको रौनक र मानिसहरूको भावनामा ठूलो परिवर्तन आएको छ। स्मार्टफोन, सोसल मिडिया, अनलाइन गेमिङ र भिडियो स्ट्रिमिङले जितेकाे छ । हिजोको दशैंमा जे जति अभाव थिए, त्यसमा एउटा अर्गानिक मिठास र भावनात्मक सामिप्यता थियो। मानिसहरू प्रविधिका पर्दामा होइन, एक-आपसका आँखामा हेरेर खुसी साट्थे। गाउँघरमा सामूहिक रूपमा पिङ हाल्नु, बाटोघाटो सफा गर्नु र चौतारीमा बसेर गफिनुले सामाजिक एकतालाई बलियो बनाउँथ्यो। आज प्रविधिले हाम्रा भौतिक कामहरूलाई सहज बनाएको छ। विदेशमा रहेका नेपालीहरूका लागि भर्चुअल रूपमा परिवारसँग जोडिन पाउनु प्रविधिको ठूलो वरदान भएकाे छ ।
यसका केही नकारात्मक पक्षहरू पनि उब्जिएका छन्। आज एउटै कोठामा बसेका परिवारका सदस्यहरू पनि आ-आफ्नै मोबाइलमा व्यस्त हुने, पिङ खेल्ने र चङ्गा उडाउने परम्पराहरू हराउँदै जाने र चाडबाड केवल फोटो खिचेर सोसल मिडियामा हाल्ने माध्यम मात्र बन्न थालेको हो कि भन्ने चिन्ता पनि थपिएको छ। समयको परिवर्तनसँगै पर्व मनाउने शैली बदलिनु स्वाभाविक प्रक्रिया हो। दशैंको मौलिकताको आफ्नै ऐतिहासिक महत्त्व थियो भने आजको प्रविधिको युगको सुलभता र सहजताको आफ्नै फाइदाहरू छन्।
दशैं भन्नेबित्तिकै मनमा एउटा छुट्टै उमङ्ग, अनुहारमा मुस्कान र हृदयमा पुराना सम्झनाहरूको लहर चल्न थाल्छ। आजजस्तो तामझाम, आधुनिक सुविधा र सामाजिक सञ्जालमा सीमित दशैं होइन, हाम्रो बाल्यकालको दशैंमा आफ्नै किसिमको रौनक थियो। अभावहरू थिए, तर खुसीको कुनै कमी थिएन। साधनहरू कम थिए, तर आत्मीयता र अपनत्व प्रशस्तै थियो।
घटस्थापनादेखि नै विद्यालय बिदा हुन्थे। दशैं आएको सङ्केत पात्रोले भन्दा पहिले स्कुलको बिदाले दिन्थ्यो। घर पोत्न रातो माटो खोज्न साथीभाइसँग टाढाटाढासम्म पुगिन्थ्यो। रातो माटो र कमेरोले घरका भित्ता पोतिन्थे, चुनाले घर सेताम्मे बनाइन्थ्यो। घर सफा गर्ने, आँगन लिपपोत गर्ने र घरलाई नयाँ रूप दिने चटारोले गाउँघर नै व्यस्त हुन्थ्यो। घर सानो होस् वा ठूलो, दशैंमा सबैको घरमा नयाँपन छाउँथ्यो।
आहा! कति सुन्दर थिए ती दिन, कति आत्मीय थियो त्यो समय! मुख्य कुरा के हो भने, दशैंको वास्तविक मर्म—परिवारको पुनर्मिलन, ठूलाबडाको आशीर्वाद, आपसी सद्भाव, क्षमाशीलता र खुसीको आदानप्रदान—कहिल्यै बदलिनु हुँदैन। हामीले प्रविधिलाई जोडिनका लागि प्रयोग गर्नुपर्छ, तर यसलाई हाम्रा मौलिक परम्परा, संस्कृति र प्रत्यक्ष आत्मीयता खोस्न दिनु हुँदैन।
दशैं नजिकिँदै जाँदा परदेशको यात्रामा रहेका लाहुरेहरू धमाधम घर फर्किन्थे। रोजगारीका लागि गाउँ छाडेकाहरूको आगमनले घरपरिवारमा खुसी छाउँथ्यो। सहरमा पढ्न गएका दौतरीहरू गाउँ फर्किन्थे। लामो समयपछि भेटिएका साथीभाइसँगका गफ, हाँसो र रमाइलोले गाउँका चौतारीहरू फेरि जीवन्त बन्थे। दशैं केवल चाड थिएन, बिछोडिएका आफन्त र साथीभाइलाई पुनः जोड्ने एउटा सुन्दर अवसर थियो।
गाउँमा कसको घरमा कत्रो खसी काटिँदै छ भन्ने पनि सबैको चासोको विषय हुन्थ्यो। खसी हेर्न, घरघरमा भइरहेको तयारी नियाल्न र साथीहरूसँग रमाइलो गर्न हिँडिन्थ्यो। नयाँ लुगा लगाउने रहरले मनमा छुट्टै उत्साह जगाउँथ्यो। वर्षमा एकपटक पाइने नयाँ कपडा लगाएर आफूलाई संसारकै सुन्दर मान्ने त्यो बालसुलभ खुसी आजका महँगा लुगाले पनि कहाँ दिन सक्छन् र!
दशैंको अर्को ठूलो आकर्षण थियो—रोटे पिङ। पिङ खेल्न पालो कुर्नुपर्थ्यो, साथीभाइसँग हाँस्दै र जिस्किँदै घण्टौँ बित्थे। पिङको मच्चाइसँगै मनका रहरहरू पनि आकाश छुन्थे। अहिलेका मनोरञ्जनका अनेक साधनभन्दा त्यतिबेलाको एउटा पिङमा बढी आनन्द भेटिन्थ्यो।
अनि आउँथ्यो टीकाको दिन! निधारमा रातो टीका, कानमा जमरा, ठूलाबडाको आशीर्वाद र हातमा दक्षिणा। रात परेपछि टुकी बालेर दक्षिणा बटुल्न हिँडेको त्यो समय पनि कति रमाइलो थियो! कसले कति दक्षिणा पायो भन्ने कौतूहलले मन थामिन्थेन। घर फर्किएपछि खाम उप्काई उप्काई पैसा गन्ने र साथीहरूसँग तुलना गर्ने हतारो झन् बेग्लै हुन्थ्यो। थोरै दक्षिणा पाउने पनि उत्तिकै खुसी, धेरै पाउनेको खुसीको त कुरै नगरौँ!
दशैंमा घरमा फलेका केरा, फलफूल र विभिन्न परिकार प्रसादका रूपमा खाइन्थ्यो। आफ्नै बारीमा फलेका फलफूलको स्वादमा माटोको सुगन्ध मिसिएको हुन्थ्यो। पेट अघाउन्जेल प्रसाद खाँदा पनि मन अघाउँदैनथ्यो। छिमेकीको घरमा जाने, आफन्तकहाँ टीका लगाउने र एकअर्काको सुखदुःख साटासाट गर्ने परम्पराले गाउँलाई एउटै परिवारजस्तो बनाउँथ्यो।
आज समय बदलिएको छ। गाउँका धेरै घरहरू सुनसान छन्। कोही रोजगारीका लागि विदेशमा छन्, कोही सहरमा व्यस्त छन्। रोटे पिङको ठाउँमा आधुनिक मनोरञ्जनका साधन आएका छन्। नयाँ लुगाको रहर र दक्षिणाको उत्साह पनि समयसँगै फेरिएको छ। प्रविधिले संसारलाई नजिक बनाएको छ, तर कहिलेकाहीँ लाग्छ—हाम्रो मनलाई जोड्ने ती साना-साना परम्परा भने बिस्तारै टाढिँदै गएका छन्।
आजको दशैंमा सुविधा धेरै छन्, तर बाल्यकालको जस्तो निश्चिन्त खुसी कहाँ छ र? त्यतिबेला ठूलो भोजभन्दा परिवारसँग बसेर खाएको सामान्य खाना प्रिय हुन्थ्यो। महँगा उपहारभन्दा आफन्तको आगमन अमूल्य लाग्थ्यो। धेरै पैसा पाउनुभन्दा टीका लगाएर ठूलाबडाको आशीर्वाद थाप्नु ठूलो कुरा हुन्थ्यो।
सायद त्यसैले त दशैं आउनासाथ मन फेरि त्यही पुरानो गाउँमा पुग्छ—रातो माटोले पोतेका घरहरूमा, चुनाले सेताम्मे बनेका भित्ताहरूमा, साथीभाइको हुलमा, रोटे पिङको मच्चाइमा, टुकीको मधुरो उज्यालोमा र दक्षिणा गनेर रमाएका ती निर्दोष आँखाहरूमा। दशैं त हरेक वर्ष आउँछ, तर बाल्यकालको त्यो दशैं फेरि फर्केर आउँदैन। समयले धेरै कुरा बदलिदियो, उमेरले बालापन खोसिदियो, परिस्थितिले आफन्तलाई टाढा पुर्यायो। तर ती दिनका सम्झनाहरू आज पनि मनको कुनै कुनामा उत्तिकै ताजा छन्। पुराना दिन सम्झिँदा मन एकातिर रमाउँछ, अर्कोतिर कताकता भावुक पनि हुन्छ।
अन्ततः दशैं भनेको नयाँ लुगा, मिठो परिकार र टीका-दक्षिणा मात्रै होइन। दशैं भनेको परिवारसँगको मिलन, आफन्तसँगको आत्मीयता, गाउँघरको अपनत्व, बाल्यकालको निश्चल खुसी र जीवनभर साथ रहने मीठा सम्झनाहरूको नाम हो। आहा! कति सुन्दर थिए ती दिन, कति आत्मीय थियो त्यो समय! मुख्य कुरा के हो भने, दशैंको वास्तविक मर्म—परिवारको पुनर्मिलन, ठूलाबडाको आशीर्वाद, आपसी सद्भाव, क्षमाशीलता र खुसीको आदानप्रदान—कहिल्यै बदलिनु हुँदैन। हामीले प्रविधिलाई जोडिनका लागि प्रयोग गर्नुपर्छ, तर यसलाई हाम्रा मौलिक परम्परा, संस्कृति र प्रत्यक्ष आत्मीयता खोस्न दिनु हुँदैन।
पहिले दशैं र खुसी बुबा आमा सँगै आउथ्यो । अहिले केही फरक भएकाे छ र दशैं छोराछोरीसँगै आउँछ । तर उबेला जस्तै आउँदैन । हिजोको दशैंको त्यो न्यानोपन र आजको प्रविधिको सुलभतालाई सन्तुलनमा राखेर अघि बढ्न सके मात्र दशैंको वास्तविक रौनक र महत्त्व कायम रहिरहनेछ।
सबैमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना!

