निर्वाचन लोकतन्त्रको बलियो आधार हो । जनआधारलाई सम्बोधन गर्ने कडिको रुपमा लिइने निर्वाचनलाई अझै सशक्तता बनाउने आधार मतदाता शिक्षा हो । निर्वाचन प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पाटो हो मतदान प्रक्रिया । सचेत र जिम्मेवारीपूर्ण मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रलाई बलियो बनाउँछ । मतदान गरेर मात्रै हुदैन, सही तरिकाले मतदान गर्नु र बदर हुन नदिनु तर्फ सचेत हुनुपर्छ ।
मतदाता शिक्षाले नागरिकलाई मतदानको अधिकार, प्रक्रिया, महत्व र प्रभावबारे स्पष्ट जानकारी दिन्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ। मतदान किन गर्ने, कसलाई मत दिने र मतको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा पर्याप्त बुझाइ बिना नै लहरको पछिलाग्ने परिपाटी अझै हावी छ । जानकारीको अभावमा धेरै मतदाता भ्रम, हल्ला, लोभलालच वा दबाबमा परेर मत दिन बाध्य हुन्छन्। यस्तो अवस्थाले योग्य नेतृत्व चयनमा अवरोध पुर्याउँछ र लोकतन्त्र कमजोर बनाउँछ। मतदाता शिक्षाले यस्ता विकृति हटाउन सहयोग पुर्याउँछ।मतदाता शिक्षाले मतदातालाई उम्मेदवारको नीति, विचार, आचरण र विगतको कार्यसम्पादन मूल्याङ्कन गर्न सिकाउँछ। यसले जात, क्षेत्र, पार्टीगत अन्धभक्तिभन्दा माथि उठेर विवेकशील निर्णय गर्न प्रेरित गर्छ।
विशेषगरी नयाँ मतदाता र युवा वर्गलाई सही दिशामा मार्गदर्शन गर्न मतदाता शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण छ। मतदाता शिक्षा केवल निर्वाचनको बेला मात्र सीमित हुनु हुँदैन। विद्यालय, समुदाय, सञ्चार माध्यम र नागरिक संस्थामार्फत निरन्तर रूपमा सञ्चालन गरिनुपर्छ। सचेत मतदाता नै स्वस्थ लोकतन्त्रको मेरुदण्ड हुन्।त्यसैले मतदाता शिक्षामा लगानी गर्नु भनेको लोकतन्त्रको भविष्य सुरक्षित गर्नु हो।
मकवानपुर जिल्लामा कुल मतदानको ४ प्रतिशत मत बदर हुने गरेको विगतको तथ्याङ्क छ । यस्तो बदर मत घटाउन आफूले रोजेको चिन्हमा मतदान गर्ने, मसि नलतपतिने गरी , स्वास्तिक छाप राम्रोसँग सुकेपछि मात्रै मतपत्र पट्याउने, एउटा चिन्हमा मात्रै मत संकेत गर्ने जस्ता सवालमा जानकारी आदनप्रदान गरौं । गोप्यमतदानलाई खेर जान नदिन व्यक्ति, व्यक्तिले पनि आपसमा शिक्षा साझा गरौं ।

