रामेछाप जिल्लाकाे लखनपुरमा जन्मेर हालकाे कर्म थलाे काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखाल नगरपालिकामा बनाएकी मीना चाैलागाईले भर्खरै ‘मुक्तक मिनार´ मुक्तक संग्रह प्रकाशनमा ल्याएकी छिन् । एम.ए सम्मकाे अध्ययन गरेकी उनकाे रुची साहित्य विधाकाे मुक्तकसँगै गजल, गीत, कोपिला, कविता, हाइकु लेखनमा छ । स्कूलमा नेपाली बिषय पढाउने गुरुको प्रेरणाले नै साहित्यमा लागेकाे तथा साहित्यमा रुची सानैदेखि भए पनि निरन्तरता नभएकाे बताउँने चाैलागाईं ५ बर्षदेखि निरन्तर कलम चलाउदै आएकी छिन् । उनकाे गजल संग्रह (प्रकाशोन्मुख) रहेकाे छ तर उनी आफै चाही कविता विधाकाे स्रष्टा भन्न रुचाउँछिन् । अहिलेकाे परिवेशमा रहेर नेपाली साहित्य सन्दर्भमा साहित्यकार मीना चाैलागाईं सँग सहीखबरकाे लागि आरपी गुरागाँईंले गरेकाे कुराकानीको सम्पादित अंशः
साहित्य लेखनमा लाग्नु भएकाे कति भयो ?
लेखनमा रुचि त सानैदेखि थियो तर निरन्तरता भने थिएन । निरन्तर लेख्न थालेको चाहिँ ५ वर्ष पूरा भयो ।
साहित्य लेखनमा प्रेरणा कसरी प्राप्त भयो ?
स्कुल जीवनमा नेपाली पाठ्यक्रममा भएका कविताहरू पढ्दा आफू पनि यस्तै लेख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । विध्यालय स्तरका कविता लेखन प्रतियोगितामा भाग लिएर पहिलो दोस्रो स्थान हासिल गर्दा नेपाली पढाउने गुरुले तिमीभित्र सिर्जना शक्ति छ, यसलाई मर्न नदिनु भनिरहनु हुन्थ्यो । स्कूलमा नेपाली पढाउने गुरुको प्रेरणाले नै म साहित्यमा लागेँ ।
मुक्तक बाहेक साहित्यकाे कुन विधामा कलम चलाउनुहुन्छ ?
मुक्तक बाहेक गजल, गीत, कोपिला, हाइकु, कविता,लघु कथामा कलम चलाउँछु ।
साहित्य लेखन बाहेक अरु कुन पेशामा आवद्ध हुनुहुन्छ ? साहित्य लेखनमा समय कसरी मिलाउनु हुन्छ ?
म गृहिणी हुँ । थोरै समय भयो कि लेखिहाल्ने बानी छ । मन भएपछि समय त आफैँ मिल्छ ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ ? किन ?
म आफूलाई कविता विधाको स्रष्टा भन्न रुचाउँछु । किनभने मेरा प्रायजसो सिर्जनाहरू कविता विधाका नै छन् ।
भर्खरै तपाईंकाे ‘मुक्तक मिनार’ विमोचन भएको छ । पाठकले यसलाई अध्ययन गरेपछी अरु के पाउन सक्नुहुन्छ ?
मुक्तक मिनारका पाठकहरूले सबैभन्दा पहिले त विविध विषय, भाव तथा रसमा अभिव्यक्त भएका समसामयिक समाजकाे प्रतिविम्ब नै पाउँछन् । गहिरिएर पढ्ने पाठकले यसबाट घरपरिवार, सामाजिक मान्यता, पारिवारिक मर्यादा, सम्मान, माया, सद्भाव, गरिब दु:खीहरूकाे पीडा, सामाजिक तथा राजनैतिक विकृति, विसङ्गति, माया, प्रेम, करुणा, काेराेनाकाे कहर, गाउँघरकाे परिवेश आदि सँगसँगै मानवीय उद्वेग र सन्देशहरु पनि पाउनेछन् । यसबाहेक पनि अहिले संरचनागत हिसाबले मुक्तकमा एकरूपता नआइरहेकाे अवस्थामा मैले मेराे मुक्तक मिनारमा समावेश गरेका मुक्तकहरूमार्फत चतुष्पदी मुक्तकलाई संरचना र भावकाे प्रस्तुतिका आधारमा कसरी विशिष्ट बनाउन सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेकाे छु । मुक्तकहरू पढेर सिर्जनशील पाठकहरूले सजिलै र छिटै मुक्तक रचना गर्न पनि सक्छन् ।

मुक्तकलाई कसरी परिभाषित गर्नुहुन्छ ?
चारवटा हरफहरमध्ये पहिलाे, दाेस्राे र चाैथाे हरफमा तुकबन्दी गरी तेस्राे हरफ स्वतन्त्र राखेर चाेटिलाे किसिमले मुक्त भाव प्रस्तुत गर्ने कवितात्मक साहित्यलाई मुक्तक भनिन्छ ।
नेपाली मुक्तकको लेखन र अध्ययनमा वर्तमान अवस्था कस्तो पाउनु हुन्छ ?
हाल आएर नेपाली साहित्यमा मुक्तक सबैभन्दा बढी रुचाइएकाे विधाकाे रुपमा स्थापित भएकाेछ । दशौँ हजार स्रष्टाहरूले मुक्तक लेखिरहनुभएकाे छ । महफिलहरूमा मुक्तकहरू वाचन भइरहेका छन् । सामाजिक सञ्जालहरूमा पनि मुक्तक वाचनका क्लिपहरू भाइरल भइरहेका छन् । वर्षेनी सयौँ मुक्तकसङ्ग्रहहरू निस्किरहेका छन् । पाठकहरूकाे संख्या लाखौँमा पुगिसकेका छन् । छाेटाे, छरिताे, चाेटिलाे, रसिलाे भएकाेले मुक्तक लेख्ने, पढ्ने र सुन्ने कार्यहरूमा तिब्रता आइरहेकाे छ । यसर्थ मुक्तककाे वर्तमान र भविष्य दुवै राम्रो देखिन्छ ।
साहित्यिक स्रष्टाहरूको समाज प्रतिको दायित्व के हो जस्तो लाग्छ ?
समाजका हरेक सदस्यकाे समाजप्रति विशेष दायित्व रहेकाे हुन्छ । तीमध्ये पनि साहित्यकारहरूकाे समाजप्रतिकाे दायित्व सबैभन्दा बढी हुन्छ । समाज भाषामा मुखरित हुन्छ र भाषाबाटै परिचालित पनि हुन्छ । भाषा बाेलिन्छ र लेखिन्छ पनि । लेखिने भाषाकाे सबैभन्दा सुन्दर र प्रभावकारी प्रस्तुति साहित्य हाे । साहित्यमा विचार, भाव, सन्देश, रस, अलङ्कार, जनजीविका, इतिहास, वर्तमान, भविष्य आदि सबै समाहित हुन्छन् । तसर्थ साहित्यकारकाे पहिलाे दायित्व भाषाकाे विस्तार, विकास र सम्बर्द्धन गर्नु हाे । दाेस्राे दायित्व समाजमा रहेका हरेक नकारात्मक कुराहरूलाई हटाएर सकारात्मक र प्रगतिशील बाटाेमा समाजलाई डाेर्याउनु हाे अथवा सभ्यताकाे विकासमा साहित्यकारहरूले निरन्तर र अथक परिश्रम गर्नुपर्छ ।
समाज र साहित्यको सम्बन्धमा कस्तो समानता छ जस्तो लाग्छ ?
एकातिरबाट हेर्ने हाे भने साहित्य समाजकाे ऐना हाे । समाज जस्ताे हुन्छ त्यहाँकाे साहित्य पनि त्यस्तै हुन्छ । अंग्रेजी समाज विकसित भएकाेले नै अङ्ग्रेजी साहित्य पनि विकसित भएकाे हाे । भारतीय समाज पनि तुलनात्मक रुपमा विकसित भएकाेले भारतीय साहित्य पनि माथि छ । इतिहास हेर्दा पनि जुन जुन सभ्यता र समाज विकसित थिए तिनै समाजका साहित्य पनि विकसित देखिन्छन् । नेपाली समाज जुन अवस्थामा छ नेपाली साहित्य पनि त्यही अवस्थामा नै रहेकाे छ । अर्काेतिरबाट हेर्ने हाे भने साहित्य समाजकाे पथप्रदर्शक पनि हाे । समाज विकासकाे एउटा दरिलाे आधार पनि हाे । साहित्यकारहरू जुर्मुराएपछि विभिन्न देशमा क्रान्तिहरू भएका छन् । नेपालमै पनि जति पनि राजनैतिक र समाजिक क्रान्तिहरू भएका छन् ती सबैमा साहित्य र साहित्यकारहरूकाे प्रत्यक्ष संलग्नता देखिएकाे छ । तसर्थ साहित्य र समाज एउटै रथका दुई पाङ्ग्रा जस्तै सँगसँगै अघि बढ्ने र बढाउने पक्षहरू हुन् भन्दा अतिशयाेक्ति नहाेला ।
साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
आफ्नो विचारलाई शब्दहरूका माध्यमबाट उतार्न पाउँदा अरू सामु प्रस्तुत गर्न पाउँदा मनलाई आनन्द आउँछ । साहित्य लेखनबाट आत्मसन्तुष्टि पाएँ भन्ने लाग्छ।
पछिल्लाे समय साहित्यका पाठक कतिका छन् जस्ताे लाग्छ ?
पछिल्लो समयमा पनि साहित्यका पाठक प्रशस्तै छन् । जसलाई यस क्षेत्रमा रुचि छ,उहाँहरूले अध्ययन गर्नुहुन्छ ।
अरु कुनै विधामा पुस्तक प्रकाशनकाे तयारी गरिरहनु भएकाे छ कि ?
अब गजल सङ्ग्रह प्रकशनको तयारी गरिरहेकी छु ।
अन्त्यमा ……?
अहिले मेरो पहिलो मुक्तकसङ्ग्रह `मुक्तक मिनार बजारमा आइसकेको छ । यहाँहरूले अध्ययन गरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला । यहाँहरूको स्वस्थ प्रतिक्रियाबाट म आफ्ना कमी कमजोरीहरू अर्को सङ्ग्रहमा सुधार्ने प्रयास गर्नेछु र यहाँहरूको माया, हौसला पाएँ भनेँ अझै मुक्तक लेखनमा र अन्य विधामा पनि अघि बढ्न सकियाेस बस् यत्ति हाे ।
मलाई मेराे अन्तरमनकाे कुराहरू पाठकबिच राख्ने अवसरकाे लागि सहीखबर परिवारलाई हार्दिक धन्यवाद ।


