मकवानपुर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन् ।
साेमबार चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसपछि ओलीले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहेका छन् । सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य भएका हुन् । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।
सर्वसम्मतिको प्रयास भएकाले हिजै हुनुपर्ने चुनावी प्रक्रिया आज बिहान सुरु भएको हो । संशोधित तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।
यसअघि ओलीले गएराति बन्द सत्रमा ३ सय १ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । तर प्रस्तावित सूचीमा नपरेका नेताहरुले उम्मेदवारी दिएका छन् । सहमति नभएका अध्यक्षसहित सबै पदमा चुनाव हुनेछ । गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आइतबार नै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास भएकाेले लम्बिएको हो ।
ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन । प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र उपाध्यक्षमा रावल निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो । तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो ।ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि अन्य समहती हुन नसकेकाे अन्य पदमा पनि निर्वाचन हुनेछ ।
