कहिले कुन र कहिले कुन विषयमा घोत्लिनु मानवीय विशेषता हो । यो सबै भूगोल र प्रकृतिका मानिसमा लागु हुन्छ । घोत्लकको यस किसिमको घोत्ल्याइँले जुन विषयमा ऊ घोत्लिएको हो त्यस विषयमा केही न केही निष्कर्ष निकाल्छ । त्यस्तो निष्कर्ष कसैलाई मान्य होला, कसैलाई नहोला । व्यक्तिले निकालेको निष्कर्ष समूहका लागि पाच्य हुन पनि सक्छ, नहुन पनि सक्छ । पाच्य भए मान्य होला, नभए नहोला । विभिन्न अनुसन्धानबाट विज्ञानले निकालेको निचोडमा त अनेक किसिमका तर्क वितर्क हुन्छन् र परिणाममा नयाँ सिद्धान्त प्रतिपादन हुन्छन् भने व्यक्ति केन्द्रित विषयमा विमति हुनु कुनै अनौठो विषय होइन ।
मेरो मनले मृत्युका विषयमा मानसिक बहस गरेको दशकभन्दा बढी समय व्यतीत भइसकेको छ । म अलिकति फुर्सद भयो कि मृत्युका विषयमा सोच्न पुगिहाल्छु । मृत्यु के हो ? कस्तो अवस्थामा मानिसको मृत्यु हुन्छ ? यस सृष्टिभित्र मानिसको मात्र मृत्यु हुन्छ कि अरूको पनि मृत्यु हुन्छ ? प्राण भएकाको मात्र मृत्यु हुन्छ कि प्राण नभएका चिज वस्तुको पनि मृत्यु हुन्छ ? मृत्युको कुनै निश्चित समय हुन्छ कि हुँदैन ? मृत्यु सधैँ असामयिक मात्र हुन्छ कि सामयिक पनि हुन्छ ? यी यावत् जिज्ञासाले म कहिलेकाहीँ आफैँमा निकै रोमाञ्चित हुन्छु । रोमाञ्चित यस अर्थमा कि म कसैले मन नपराउने यस्तो अनावश्यक र अप्रासङ्गिक विषयमा पनि घन्टौँ घोत्लिएर आफूलाई भुलाउन सक्छु । यो अनौठो अवसर र अनुभूति हो मेरा लागि ।
मृत्युका विषयमा केन्द्रित भएर मनमा अनेकौँ बहस भइरहँदा म कतिखेर निद्रामा छु कि अनिद्रामा छु ? भन्ने पनि चाल पाइरहेको हुन्नँ । यस स्थितिमा कसैले चाल नपाउने गरी मेरा मनमा एकाएक भित्रभित्रै हाँसो उम्लिन्छ । अनि मनमनै सोच्छु– कतै मेरो दिमाग सामान्य अवस्थाबाट गुज्रिएर असन्तुलित भएको त छैन ? तत्काल त्यस्तो अवस्था उत्पन्न भएको छैन भने पनि कि यो मेरो दिमाग असन्तुलितताको पूर्वावस्था हो ? एकपछि अर्को गरी भित्रभित्रै यस्तै यस्तै जिज्ञासाको खात लाग्छ मेरा मनमा । तर, यो मेरो मानसिक अन्तद्र्वन्द्वको अवस्था कसैले चाल पाउन्नन् । यी सबै विषयवस्तु मेरै नियन्त्रणमा हुन्छन् । मैले कुनै पनि विषयमा नियन्त्रण गुमाएको हुन्नँ । यसले मेरा मनमा सन्तोषको अवस्था सिर्जना गर्छ । म मनमनै सन्तुष्टिन्छु र त्यसैमा परम आनन्दको अनुभूति पनि गर्छु ।
एक समय आकाशवाणी भए जस्तै अवस्थामा एक्कासि म एउटा अमूर्त वार्तालापमा होमिन्छु । यस वार्तामा कुनै बनिबनाउको अवस्था हुन्न । उताबाट जसरी फटाफट जिज्ञासा आउँछ, उसरी नै म पनि फटाफट त्यसको प्रत्युत्तरमा उत्रिन्छु । यस अनौठो वार्तालापीय क्षणको अवस्था यस्तो रहन्छ–
‘तँ मरेर पनि अझै यहाँ !?’
‘को मर्यो ? को मरेर पनि यहाँ ? के भनेको त्यस्तो !?’
‘सही बोल्दै छु । तँ मरिसकिस् । तँ कसरी यहाँ ?’
‘म कदापि मरेको छैन । म यहीँ छु ।’
‘होइन । तँ सरासर भ्रममा छस् । तँ हिजै मरिसकिस् । तैँले पत्याए पनि, नपत्याए पनि तेरा लागि यो तितो यथार्थ हो । तैँले मृत्यु वरण गरेको आज पुरापुर दुई दिन भइसक्यो । म साँचो भन्दै छु । तैँले यस विषयमा थप शङ्का र बहस गरिरहनुको कुनै अर्थ छैन । बुझिस् ?’
म झसङ्ग भएँ । म कसरी आफैँले पनि पत्तो नपाई एकाएक मरिसकिछु । आफू मरेको दुई दिन हुँदा पनि पत्तो नपाउने म कति हुस्सू ? कति अचम्मको मृत्यु मेरो ? अर्को अर्थमा आफैँले आप्mनो मृत्युको चाल नपाउने म कति भाग्यमानी ? आहा ! मृत्यु होस् त यस्तो पो होस् । मेरो जस्तो मृत्यु ।
मरेको दुई दिन हुँदा समेत आफू मरेको आफैँ थाहा नपाउने कस्तो मृतक म ? सोधूँ, कसलाई सोधूँ ? मरिसकेको छु । मलाई थाहा छ, मरेको मानिस र जिउँदो मानिसका बिच कुनै किसिमको वार्ता हुन सक्तैन । आपसी संवाद र तर्क वितर्क हुन सक्तैन । आपसी छलफल र परामर्श हुन सक्ने अवस्था नै हुँदा पनि कहाँको मृत्युलोक ? कहाँको मत्र्यलोक ? न भाषामा तादात्म्यता, न भेषभुषामा । न चालचलनमा, न रहनसहनमा । त्यसैले आफू मरेका कुरामा म विश्वस्त भएँ र जिउँदो अवस्थामा जस्तै मनमनै फेरि घोत्लिन थालेँ, उही मृत्युका विषयमा ।
सामान्यतया जिउँदा मानिसहरू प्राणीको शरीरबाट सदाका लागि प्राण निस्कनुलाई मृत्यु भन्ने गर्छन् । कसैले यस्तो अवस्थालाई मृत्यु वरण भन्छन् । तर मृत्यु कसैको रोजाइमा हुन्न । रोजाइमा नहुने कुरा कसरी वरण हुन सक्छ ? रोजाइमा नहुने कुरा अँगाल्न पर्नु भनेको बाध्यता हो वरण होइन । यो सबैका लागि बहसको विषय बन्ला । यसर्थ मृत्यु वरण वा बाध्यता जे भए पनि जीवमा रहेको भनिएको प्राण एक पटक उसबाट निस्किएपछि उसैमा फेरि फर्केर आउँदैन । यही भएर उनीहरू प्राणीको यस्तो अवस्थालाई जीवनको अन्त्य मान्छन् र यथार्थ पनि यही हो । यस किसिमको तितो यथार्थ बोध हुँदाहुँदै पनि कोही कसैको मृत्यु वा प्राण त्यागमा बचेका जिउँदा मानिसहरू पुनः आफैँमा अनावश्यक रोइकराइ गर्छन् । पुनः प्राप्ति नहुने कुराको खोजी गर्छन् र क्षणिक वा दीर्घकालका लागि आफूलाई दुःखको भुमरीमा पुर्याउँछन् ।
फुर्सदमा छु । किनकि, म मरिसकेको छु । आज मलाई घर, परिवार, समाज, टोल, देश, विदेश, गाँस, बास, हिँडाइ, डुलाइ कुनै कुराको चिन्ता छैन । न मलाई सामाजिक सञ्जालमा छरिएका विविध जानकारी बटुलेर दिमागलाई दिग्भ्रमित पार्नु छ, न आफूले सम्पादन गर्नुपर्ने कुनै काम हतारिएर सम्हाल्नु वा टार्नु छ । कुनै भय, त्रास, आशा, अपेक्षा, जिम्मेवारी, कर्तव्य निर्वाह, दायित्वबोध, उत्तरदायित्वको अवस्था केही नभएपछिको आनन्दित क्षणमा छु म अहिले । यी सबै सांसारिक विषयवस्तु र बन्धनबाट पूर्ण रूपमा मुक्त छु । यो मेरो पुरापुर व्यक्तिगत स्वतन्त्रताको अवस्था हो । बन्धनरहितताको पल हो । चरम सुखको क्षण हो । म यतिखेर दायाँ बायाँ केही नसोची आकाशलाई गन्तव्य बनाएर एकपछि अर्को गरी नयाँ नयाँ चङ्गा उडाउँदाको क्षणमा जस्तै चिन्तारहित उमङ्गमा छु ।
अहो ! मृत्यु कति पीडादायी हुँदो रहेछ । कति छटपटाहटयुक्त हुँदो रहेछ । कति कष्टकर हुँदो रहेछ । यी सबैको आआफ्नो मृत्युमा आआफ्नो तौल होला । मराइको प्रकृति फरक होला । तर मृत्यु सबैको उस्तै हो । यस्तो डरलाग्दो अवस्थालाई छलेर मैले भने आफैँले पनि थाहा नपाउने गरी लुसुक्क मृत्युलाई अँगाल्न पाइछु । जिउँदो अवस्थामा केही गर्न नसकेर मृत्यु जस्तै जीवन बाँचिरहेको मलाई धन्न कसैले तँ मरिसकिस् भनेर भनिदियो र मैले आफू मरेको चाल पाएँ । होइन भने म मरेर पनि यहाँ हिँडिरहको हुने रहेछु । अरूलाई अनाहकमा हँसाइरहने रहेछु । त्यतिखेर सृष्टिको नियम भाँचिने रहेछ । तोडिने रहेछ । त्यसैले सृष्टिको नियम नभाँचियोस्, नतोडियोस् भन्नैका लागि कसैले मलाई म मरिसकेको जनाउ दियो र ऊ मेरो धन्यवादको पात्र बन्न सफल भयो ।
लामो समयदेखिको सांसारिक काम, क्रोध, लोभ, मोह आदिबाट पुरापुर छुटकारा पाएको छु । यतिखेर म मनमनै कल्पना गरिरहेछु– मेरा लागि यो भन्दा आनन्दित क्षण अरू के नै होला र ? यस दुनियाँमा । सायद मानिसहरूले भन्ने गरेको मोक्षको अवस्था पनि यही हो, जो जिउँदो अवस्थामा चाहेर पनि जो कोही मानिसले कसै गरी प्राप्त गर्न सकिरहेका हुँदैनन् ।
मृत्युपछि पनि म फेरि मृत्युकै विषयमा चिन्तन गर्छु । मनमनै सोच्छु– के मृत्यु मान्छेको मात्र हुन्छ ? पशुपक्षीको मात्र हुन्छ ? कीटपतङ्गको मात्र हुन्छ ? रुख बिरुवाको मात्र हुन्छ ? अथवा, समग्रमा सृष्टिका प्राणी मात्रको हुन्छ, अरूको हुँदैन ? घोत्ल्याइँलाई निरन्तरता दिन्छु र फेरि सोच्छु– मैले केही समयअघि सोचेका कुराहरूको अहिले मृत्यु भइसकेको छ । पुराना विचारको मृत्यु भएपछि नयाँ विचारहरूको जन्म हुँदो रहेछ । यस निष्कर्षपछि मैले निचोड निकालेँ– विचारहरूको पनि प्राणीहरूको जस्तै मृत्यु हुँदो रहेछ । यति मात्र होइन, हिँड्दा पछिल्लो पाइलाको मृत्यु हुँदो रहेछ र अगाडिको पाइला जन्मिदो रहेछ । मानवीय जीवनका प्रत्येक पलका आशा, अपेक्षा, अभिलाषा, अभीष्ट जति अगाडि बढ्यो उति मर्दै जाँदा रहेछन् र नयाँ नयाँको जन्म हुँदो रहेछ । एउटा सडकको मृत्यु भएपछि अर्को सडक भेटिँदो रहेछ । भेटिएको अर्को सडकको मृत्यु भएपछि पुनः अर्को सडक भेटिँदो रहेछ । जन्म मृत्यु, मृत्यु जन्म यो क्रम निरन्तर चलिरहँदो रहेछ ।
म मेरा अगाडि शालीन अवस्थामा बगिरहेको समुद्रतिर नियाल्छु । सोच्छु– समुद्र सृष्टि मात्र नभएर महासृष्टि रहेछ । आकाशबाट बर्सिएको पानीको मृत्यु भएपछि ऊ पृथ्वीमा भेल बनेर दौडिँदो रहेछ । भेलहरू जम्मा भएर आफूलाई मृत्युमा परिणत गराएपछि खोल्सा बन्दारहेछन् । खोल्साहरूको मृत्यु भएपछि खोलो बन्दो रहेछ । यसरी जन्मिएका पाइला पाइलाका खोलाको ठाउँ ठाउँमा मृत्यु हुँदै गएपछि समुद्र बन्दो रहेछ । कस्तो अचम्मको मृत्यु ? सोच्दासोच्दै म कता हराएँ, हराएँ । फेरि सोचेँ– यस किसिमको हराइ पनि अर्को मृत्यु हो । आफूसँग भएका जुनसुकै चिज वस्तु रित्तिनु तिनको मृत्यु हो । तिनको स्थान नयाँले लिँदै जान्छन्, र ती पनि कालान्तरमा मर्दै जान्छन् । अन्ततः समुद्रलाई पनि बादलले रित्याएपछि उसको पनि मृत्यु हुँदो रहेछ । यसरी हेर्दा यस सांसारिक जगत्मा चिरञ्जीवी कोही नहुँदा रहेछन् । सबैको मृत्यु हुँदो रहेछ ।
एउटा झोलुङ्गे पुलको मृत्यु भएपछि अर्को त्यस्तै वा भिन्न प्रकृतिको पुलको जन्म हुँदो रहेछ । खोलामा बग्दै गरेको पानीको एउटा झोँक्काको मृत्यु भएपछि त्यसका स्थानमा लगत्तै अर्को झोँक्काले स्थान लिँदो रहेछ र क्षणभरमै त्यसको पनि मृत्यु हुँदो रहेछ । रातको मृत्युपछि बिहानको जन्म हुँदो रहेछ । बिहानको मृत्युपछि क्रमशः मध्याह्न, अपराह्नको जन्म हुँदो रहेछ । यी दुवैको मृत्युपछि साँझको जन्म र साँझको पनि मृत्युपछि पुनः रात जन्मिदो रहेछ । सोचेँ– सृष्टिको चक्रीय प्रणाली भनेको सायद यही नै होला ।
म हिजै मरिसकेको मान्छे । कसैले देख्ने कुरा भएन । जहाँ उभिए वा बसे पनि फरक नपर्ने हुँदाहुँदै पनि म जिउँदो अवस्थामा जस्तै सडकका छेउमा उभिएको छु । मानिसको भिड छ । गाडीको आवतजावत त्यत्तिकै छ । यत्तिकैमा अलिक परबाट जिन्दावाद र मुर्दावादको नारा लगाउँदै एक हुल मानिस आए । केही समय पूर्ववत नाराबाजी गरेपछि ती सबै भाषणमा उत्रिए । यस बीचमा थप के के क्रियाकलाप भए थाहा छैन । चारैतिरबाट सुरक्षाकर्मीले भिडलाई तितरबितर पार्न खोजे । लाठीचार्ज, पानीको फोहरा, अश्रुग्यास, गोली सबैले एकपछि अर्को गरी उपस्थिति जनाए । कोही ढले, कोही च्यापिए, कोही मरे, कोही अपाङ्ग बनेर मूल सडकबाट बाहिरिए ।
म मृत्युका विषयमा सोचिरहेकाले मृत्युका दृष्टिले मात्र ती परिदृश्यलाई नियालिरहेँ, अरू गतिविधिमा खासै ध्यान दिइनँ । मेरो नियालाइले के निष्कर्ष निकाल्यो भने यस जुलुसको मृत्युपछि यही ठाउँमा अर्को जुलुसको जन्म हुन्छ । जुलुसमा उपस्थित भिडको मृत्युपछि छिन्नभिन्न अवस्थाको जन्म हुन्छ । यहाँ पनि छिन्नभिन्न अवस्थाको जन्माइअघि सुरक्षाकर्मीबाट बर्साइएका प्रत्येक लाठीको मृत्यु भयो । पानीका फोहराको मृत्यु भयो । छाडिएका अश्रुग्यासको मृत्यु भयो । हानिएका प्रत्येक गोलीको मृत्यु भयो । गोलीको मृत्युपछि मात्र जुलुसमा सम्मिलित केहीको मृत्यु भयो । म अचम्ममा परेँ । म मरिसकेको हुँदा ती कुनै पनि प्रहारको प्रभाव ममा परेन । तर मेरो मृत मनले भन्यो– अहो ! कहिल्यै नटुङ्गिने मृत्युको कत्रो महाभारत ? पार पाइनसक्नुको कहालीलाग्दो शृङ्खला ।
आँखा खुला गरेर उभिइरहेको म आँखा चिम्लेर ध्यानमग्न भएँ । पुराना सोच मर्दै गए । नयाँ जन्मिँदै गए । सोचेँ– भूकम्पले घरहरूको मृत्यु हुन्छ । बाढी र पहिरोले बस्तीहरूको मृत्यु हुन्छ । सडकको मृत्यु हुन्छ । फाँटका फाँट अन्नबालीको मृत्यु हुन्छ । बर्सौँ लगाएर हुर्काएको वन जङ्गलको मृत्यु हुन्छ । फेरि सोचेँ– एउटा सत्ताको मृत्युपछि अर्को सत्ताको जन्म हुन्छ । उसको मृत्युपछि पुनः अर्को सत्ताको जन्म र मृत्यु हुन्छ । मृत्युका मुखमा मुलुकका राजनीतिक व्यवस्था पर्छन्, संविधान पर्छन्, कानुन, नियम, आदेश, परमादेश सबै मृत्युका मुखमा पर्छन् । म नै सबैथोक हुँ भन्ने अभिमानीको मृत्यु हुन्छ । यस क्रममा राज्यका कतिपय शक्तिशाली मानिएका पदको मृत्यु हुन्छ । स्वयं शक्ति र उसमा रहेको अभिमानको मृत्यु हुन्छ । समय बलवान् छ भनिन्छ, तर त्यसको पनि पाइला पाइलामा मृत्यु भइरहेको हुन्छ । एउटा राज्यको मृत्युपछि ऊ अर्को राज्यमा गाभिन पुग्छ । यस्तो अवस्थामा त्यहाँका जनताको स्वपहिचान र आत्मगौरवको मृत्यु हुन्छ । उसले पाएको नागरिकताको मृत्यु हुन्छ । त्यतिखेर स्वयं उसको ठडिएको नाकको मृत्यु हुन्छ । स्वाभिमानको मृत्यु हुन्छ ।
यी यावत् कुराको विश्लेषणपछि मलाई लाग्यो– अहो ! मृत्यु कति पीडादायी हुँदो रहेछ । कति छटपटाहटयुक्त हुँदो रहेछ । कति कष्टकर हुँदो रहेछ । यी सबैको आआफ्नो मृत्युमा आआफ्नो तौल होला । मराइको प्रकृति फरक होला । तर मृत्यु सबैको उस्तै हो । यस्तो डरलाग्दो अवस्थालाई छलेर मैले भने आफैँले पनि थाहा नपाउने गरी लुसुक्क मृत्युलाई अँगाल्न पाइछु । जिउँदो अवस्थामा केही गर्न नसकेर मृत्यु जस्तै जीवन बाँचिरहेको मलाई धन्न कसैले तँ मरिसकिस् भनेर भनिदियो र मैले आफू मरेको चाल पाएँ । होइन भने म मरेर पनि यहाँ हिँडिरहको हुने रहेछु । अरूलाई अनाहकमा हँसाइरहने रहेछु । त्यतिखेर सृष्टिको नियम भाँचिने रहेछ । तोडिने रहेछ । त्यसैले सृष्टिको नियम नभाँचियोस्, नतोडियोस् भन्नैका लागि कसैले मलाई म मरिसकेको जनाउ दियो र ऊ मेरो धन्यवादको पात्र बन्न सफल भयो ।
सुलेख, २०८३ वैशाख ।

