मकवानपुर । मकवानपुरकाे हेटौंडामा साहित्यकार क्षितिज समर्पण सम्मानित हुनु भएकाे छ । शनिबार साहित्य सङ्गम मकवानपुरले ‘मकवानपुर कृति सम्मान २०८२’ बाट जाजरकोटका क्षितिजलाई सम्मान गरेकाे हाे ।
उहाँको पहिलो उपन्यास ‘तोरकीन’ का लागि ३५ हजार नगद राशीसहित ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८२’ प्रदान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो । गत वर्ष उक्त सम्मानकाे पुरस्कार राशी २५ हजार रहेकाेमा यस वर्ष बढाएर ३५ हजार पुर्याइएकाे हाे ।
यसअघि साहित्य संगम मकवानपुरले कृति सम्मानका लागि आव्हान गरेको थियो । २०८२ सालभित्र प्रकाशन भएको कृति आव्हान गरिएकाेमा समर्पणको तोरकिनसहित बसन्त पराजुलीको ‘बखान’, सीमा आभाषको ‘महायुग’, निष्प्रभा सजीको ‘याली’, गणेश खनितको ‘लाफा’ र झम्क तिमल्सिनाको ‘विमुक्ति’ लाई अन्तिम सूचिमा अटाएका थिए ।
समर्पणका ‘आगोका फुलहरु’ (एकल गजल सङ्ग्रह २०६७), ‘कैफियत’ (संयुक्त गजल सङ्ग्रह, २०७०) प्रकाशित छन् । उहाँ बाह्रखरी कथा लेखन प्रतियोगिता २०७६ र २०७७ मा समेत पुरस्कृत हुनुभएको थियो । साहित्यकार क्षितिज समर्पण तथा उहाँको कृति तोरकीन माथि मकवानपुरे साहित्यकार सुवास खनालले समीक्षा गर्नुभएको थियो ।
यसैगरी सङ्गमले ३६८ औं नियमित साहित्य सन्ध्या कार्यक्रम गरेकाे छ । मकवानपुरे साहित्यकार डा. केशव श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दिवंगत मकवानपुरे साहित्यकारहरु गोविन्द खड्का, डा. गणेश कुमार पौडेल, दीपक मुडबरीको स्मृति विशेष रुपमा उहाँहरुको जीवनका स्मरणीय घटनाहरु चर्चा गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले मकवानपुरे साहित्यको इतिहास तथा परिवेशबारे चर्चा समेत गर्नुभएको थियो ।

