मकवानपुर । बागमती प्रदेशमा अपाङ्गताकाे क्षेत्रमा काम गर्ने अधिकारकर्मी आन्दोलित भएका छन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ काे बजेटमा अपाङ्गता भएकाको क्षेत्रका नियमित कार्यक्रम तथा बजेट कटौती गरेको भन्दै अपाङ्गता अधिकारकर्मीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रदान गरिँदै आएका सहायक सामग्री निःशूल्क वितरण तथा क्षमता विकास, पुनःस्थापना, सीप विकास, सशक्तीकरणका कार्यक्रम कटौति गरेको अधिकारकर्मीको भनाइ छ । प्रदेश सरकारको यस्तो निर्णयले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, दैनिकी, जीवनयापन तथा सामाजिक सहभागिता र सशक्तीकरणमा गम्भीर असर पर्ने भन्दै अपाङ्गता भएकाहरुको स्वतन्त्र आन्दोलन परिचालन समिति बजेट पुनरावलोकन गरी आफ्ना सात बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ ।
अपाङ्गता भएकाहरुको स्वतन्त्र आन्दोलन परिचालन समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । असार ८ गते नै सात बुँदे मागसहित प्रदेश सरकारलाई असार १३ गतेभित्र माग सम्बोधन गर्न आग्रह गरिएको भए पनि प्रदेश सरकारको तर्फबाट हालसम्म कुनै ठोस पहल, संवाद वा सकारात्मक प्रतिवद्धता नआएको भन्दै आन्दोलनलाई थप सशक्त र चरणबद्ध रूपमा अघि बढाउने निर्णय गरिएको आन्दोलन परिचालन समितिका संयोजक अश्विन लम्सालले बताउनु भयो ।
सार्वजनिक कार्यक्रमअनुसार असार १४ गते आइतबार (आज) हेटौंडाको संगमचोकदेखि बुद्धचोकसम्म सिठ्ठी जुलुससहित कोणसभा आयोजना गरिनेछ । असार १५ गते सम्बन्धित मन्त्रालयहरूमा धर्ना दिँदै मन्त्रीहरूको मन्त्रालय प्रवेशमा अवरोध गरिने आन्दोलन परिचालन समितिका उपसंयोजक गणेशचन्द्र दवाडीले जानकारी दिनुभयो ।
त्यसैगरी असार १६ गते प्रदेश सभा सचिवालय परिसरमा धर्ना दिँदै प्रदेश सभा सदस्यहरूको सभा प्रवेश अवरोध गर्ने कार्यक्रम तय गरिएको छ ।असार १७ गतेदेखि २० गतेसम्म रिले अनशन सञ्चालन गरिने तथा असार २१ गतेदेखि माग पूरा नभएसम्म अनिश्चितकालीन आमरण अनशन सुरु गरिने समितिले चेतावनी समेत दिएको छ ।
समितिले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कुनै दया वा अनुदानको विषय नभई संविधानतः सुनिश्चित मौलिक अधिकार भएको उल्लेख गर्दै आफ्ना माग तत्काल सम्बोधन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । अन्यथा आन्दोलन सडकदेखि सदनसम्म थप सशक्त बनाइने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी प्रदेश सरकारले नै लिनुपर्ने बताएकाे छ ।

