मकवानपुर। मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा रामेछापको हिमागंगा ४ स्थायी घर भई हाल हेटौंडा १५ फारलाइन बस्ने २५ वर्षीय मनोज पुलामी मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौंडा–७ क्याम्पडाँडा नजिक सनउड कोलोनी बस्ने कृष्णप्रसाद गौतमको घरकाे पूर्वतर्फको ढोका फुटाई चोरी भएको थियो।
चोरीमा करिब एक तोला सुन, २५.५ तोला चाँदी १५ वटा चाँदीका सिक्का तथा नगद चार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। मगरलाई बस्दै आएकाे घरबाट पक्राउ गरिएकाे बताइएकाे छ । प्रहरीका अनुसार उनको कोठामा खानतलासी गर्दा चाँदीका सिक्का, नगद, गरगहना, सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना तथा अन्य सामान बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मगर यसअघि जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको समेत खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई बरामद सामानसहित आवश्यक कानुनी कारबाहीका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा गरगहना नराख्न, घर छोड्दा छिमेकी वा आफन्तलाई जानकारी गराई आवश्यक निगरानीको व्यवस्था मिलाउन आग्रह गरेको छ।

