मकवानपुर । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । प्रतियोगितामा काठमाडौंले ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै प्रथम बनेको हो ।
प्रतियोगितामा ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जित्दै प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्य गरी कुल ८५ पदकसहित तेस्रो भएको छ । प्रथम स्थान हासिल गर्दै काठमाडौंले १ लाख रुपैयाँ, द्वितीय भएको ललितपुरले ७५ हजार रुपैयाँ र तृतीय भएको चितवनले ५० हजार रुपैयाँ नगरसहित ट्रफी प्राप्त गरेका छन् ।
अन्तिम पदक तालिकाअनुसार काभ्रेपलाञ्चोक २२ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५८ पदकसहित चौथो स्थानमा रह्यो । भक्तपुरले १७ स्वर्ण, २२ रजत र ३६ कास्य गरी ७५ पदक, मकवानपुरले ११ स्वर्ण, १० रजत र ३२ कास्य गरी ५३ पदक, सिन्धुपाल्चोकले १० स्वर्ण, ११ रजत र १० कास्य गरी ३१ पदक, नुवाकोटले ९ स्वर्ण, १३ रजत र २० कास्य गरी ४२ पदक, धादिङले ९ स्वर्ण, १० रजत र २१ कास्य गरी ४० पदक जितेका छन् । रामेछापले ८ स्वर्ण, ३ रजत र २१ कास्य, सिन्धुलीले २ स्वर्ण, ११ रजत र २२ कास्य, रसुवाले २ स्वर्ण, ७ रजत र ४ कास्य तथा दोलखाले १ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेका छन् ।
फुटबलमा चितवन र काठमाडौं च्याम्पियन
प्रतियोगिताको अन्तिम दिन फुटबलतर्फ पुरुष र महिलाको फाइनल खेल भएको थियो । फुटबल पुरुषतर्फको उपाधि चितवनले जितेको छ भने महिलातर्फ काठमाडौं च्याम्पियन बनेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको महिलातर्फको फुटबलको फाइनलमा काठमाडौंले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता काठमाडौंका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ र उपविजेता चितवनका खेलाडीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, मंगलबार नै हेटौंडाको गौरीटार रंगशालामा भएको पुरुष फुटबलतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चितवनले मकवानपुरलाई ३–१ गोल अन्तरले हराएको हो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता थियो । विभिन्न १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १ हजार ५१५ पुरुष र १ हजार १९२ महिला गरी कुल २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका खेलहरू हेटौंडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको थियो । महिला भलिबल ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र पुरुष भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो ।
महिला क्रिकेट र कराते चितवनमा, पौडी ललितपुरमा तथा उसु, जुडो र टेबलटेनिस काठमाडौंमा सञ्चालन गरिएको थियो । फुटबल, पुरुष क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, फूलकन्ट्याक कराते र आईटिएफ तेक्वान्दो हेटौँडामा सञ्चालन भएको आयोजकले जनाएको छ । प्रत्येक खेलका विजेता टोलीलाई पुरस्कार र ट्रफी तथा प्रत्येक खेलका सर्वोत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
“प्रदेश सरकारले खेलकुद नीति बनाउँदै छ”
समापन समारोहमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले प्रदेश सरकारले खेलकुद नीति बनाउने काम अघि बढाएको बताउनु भयो । प्रदेशलाई खेलकुदमैत्री बनाउने, नयाँ प्रतिभा पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उहाँले बताउनु भयो । पर्याप्त पूर्वाधार नहुँदा खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्न समस्या भोग्नुपरेको भन्दै मन्त्री नेपालले खेलकुद पूर्वाधार विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।
सदस्य सचिव लामाले सीमित समय र पूर्वाधारका बीच पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । खेलकुदको शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘यो प्रतियोगिता १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटको आधारका रूपमा समेत लिन सकिन्छ ।’ सकिने बताए ।
प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण समारोह गरिएको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन असार ३ गते गरिएकाे थियो ।

