मकवानपुर । मकवानपुरकाे हेटौंडामा ५ जना स्रष्टालाई सम्मान गरिएकाे छ । मातृभूमि साहित्य समाजले शनिबार हेटौडामा शिक्षालयमा सांस्कृतिक सन्देश परिचर्चा, निबन्ध विमर्श तथा काव्य वाचन कार्यक्रम आयोजना गरी ५ जनालाई सम्मान गरेकाे हाे ।
समाजले गुल्मीका साहित्यकार शशी पन्थीलाई एघारौं इश्वरी स्मृति मातृभूमि सम्मान प्रदान गरेकोे छ । उहाँलाई १५ हजार नगद राशीसहितको सो सम्मान प्रदान गरिएको हो । यस्तै धरानका साहित्यकार गिरीराज आचार्यलाई चौथो मञ्जु सुवेदी स्मृति मातृभुमि सम्मान प्रदान गरिएको छ । उहाँलाई पनि १५ हजार नगद राशीसहितको सम्मान प्रदान गरिएको हो ।
यस्तै चौधौं शेखर शर्मा रिजाल स्मृति मातृभूमि सम्मानबाट हेटौंडाका चित्रकार तथा कलासाधक माधव सिलवाल सम्मानित हुनु भएकाे छ । उक्त सम्मानकाे राशी १५ हजार नगद रहेकाे छ । यसैगरी मकवानपुर बकैयाकी गजलकार स्वस्तिका दाहाल र राक्सिराङकी मुक्तककार सुमि थिङलाई जनही ७ हजार ५ सय राशीसहित तेह्रौं शेखर शर्मा रिजाल स्मृति मातृभूमि सम्मान प्रदान गरिएको छ ।
हेटौंडा १० वडा कार्यालयको सहयोग तथा मातृभूमि साहित्य समाज मकवानपुर द्वारा आयोजित कार्यक्रममा कार्यक्रममा साहित्यकार डा. रेनुका सोलुको तुइन जिन्दगी निबन्ध संग्रहमाथी साहित्यकार प्रभा बरालले परिचर्चा गर्नुभएको थियो । निबन्ध संग्रहमा लेखक स्वयम् जीवनका भोगाइहरु समेटेर समाजमा रहेको सोच, मान्यतालाई देखाउदै आफैंले बिद्रोही तवरले गरिएका व्यक्तिगत क्रान्ति र यसले ल्याएको परिवर्तन बारे उल्लेख गरिएकाले सो कृति वास्ताविकता र प्रेरणादायी रहेको साहित्यकार प्रभा बरालले बताउनु भयो । कार्यक्रममा वरिष्ठ समालोचक डा. ज्ञानु अधिकारीले निबन्धको स्वरूप, विकासक्रम र सैद्धान्तिक पक्षबारे आफ्नो विचार राख्नुभएको थियो।
यस्तै कार्यक्रममा शिक्षालयमा साँस्कृतिक चेत सन्देश कि मनोरञ्जन हो भन्ने शिर्षकमा बहस कार्यक्रम भएको थियो । पुर्व शिक्षक रमेश लामिछानेले सहजीकरण गर्नुभएको परिचर्चा कार्यक्रममा बामगती प्रदेशकी मुख्य न्यायधिबक्ता अप्सरा बस्नेत, अमर माविका प्रधानाध्यापक मालती उप्रेती, बालजागृति इङ्गलिस बाेर्डिङ स्कुलका प्रिन्सिपल बिनोद सुवेदी सहभागि हुनुभएको थियो । कार्यक्रममा एकदर्जन बढी स्रष्टाहरुले रचना बाचन गर्नु भएकाे समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले बताउनु भयो ।

