मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन्।
‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो। प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गरे। यसैगरी पालिकाले आइतबार गरेको साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको कविता प्रतियोगितामा लालबन्दी नगरपालिका-४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ शीर्षकको कविता द्वितीय ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै अर्जुनधारा नगरपालिका-५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई २० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा काठमाडौँका चेतना शर्माको ‘रातो क्यानभास’ कविता र भीमदत्त नगरपालिका-१८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहन स्वरुप १०-१० हजार रुपैयाँ प्रदान गरिएको छ।
विजयी सबैलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुरस्कार प्रदान गरेका थिए । पालिकाले नेपाली साहित्यको उत्थानमा साहित्यकार तुल्सी थापाको योगदानको स्मरणसहित राष्ट्रियस्तरको कविता प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको लागि सातै प्रदेशबाट प्राप्त ४९२ मध्येबाट छानिएका उत्कृष्ट १० कविता वाचन गराएर नतिजा प्रकाशन गरिएको थियो । पालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो।
पालिकाको आयोजना एवं बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा कवि श्रवण मुकारुङ्, साहित्यकार आभाषलगायत उपस्थिति थियो।

थापाको अर्धकदको प्रतिमा अनावरण
मकवानपुरको भैसेमा जन्मनु भएका तुल्सी थापाको तेस्रो स्मृति विवसको अवसरमा अर्ध कदको प्रतिमा अनावरण गरिएको छ ।
साहित्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा योगदान गर्नुभएका थापाको भीमफेदी गाउँपालिका–२, भैँसेस्थित कृष्ण माध्यमिक विद्यालय परिसरमा अर्धकदको प्रतिमा स्थापना गरिएको हो ।
थापाले साहित्यकारसँगै शिक्षा र सामाजिक सेवाको क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेका छन् । थापाले साहित्यको नाटक विधा र नवसिर्जनामा पनि दाना कविता लेख्नु भएको र नाटक लेखनसँगै निर्देशन समेत गरेका थिए ।
थापाले कृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

