मकवानपुर । नेपाली सेनाले मकवानपुरको युवाहरूलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरिएको छ ।
हेटौंडा ५ मा रहेको जेनिथ सेकेण्डरी स्कूलमा आइतबारबाट यो तालीम सुरु गरिएको हो ।
अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्य रहेको राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, इमान्दारिता, बफादारिता, राष्ट्र समर्पण र राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउन नेपाली सेनाले यो तालिम सन्चालन गर्दै आएको छ ।
गोरख बहादुर गणका गणपति रबिन्द्र कुमार श्रेष्ठले तालिमको सुरुवात गर्नु भएको हो । जसमा १५ छात्रा र १५ छात्र गरि ३० जना सहभागी छन् ।
विपद्को समयमा उद्धार तथा राहत वितरण कार्यमा समेत स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने दक्ष युवा दस्ता तयार गर्नमा आफूहरू लागिपरेको श्रेष्ठले बताउनुभयो ।
करिब एकसय दिन अवधिमा सिकाइने विविध सैद्वान्तिक कक्षा तथा व्यवहारिक तालिम / अभ्यासहरुले सहभागी युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाइ राष्ट्र विकासमा सहयोग हुने गणपति श्रेष्ठले बताउनुभयो ।
मकवानपुर जिल्लामा हाल २ वटा एनसीसी जुनियर डिभिजन छन् । जसमा ३० जनाको दरले ६० जना विद्यार्थीले तालिम लिइरहेका छन् ।
आगामी दिनमा अन्य विद्यालयमा थप गर्ने योजना रहेको बताईएको छ । साथै नेपाली सेनाले हालसम्म करिब ९० हजार युवालाई यस किसिमको तालिम प्रदान गरेको जनाइएको छ ।
आईतबार सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रममा विद्यालयका प्रिन्सिपल, व्यवस्थापन प्रमुख, शिक्षक तथा अभिभावकहरुको उपस्थिति थियो ।

