१.
अरूको इमान्दारितामा कति सजिलैसित, धावा बोल्छन् मान्छेहरू
कुरा के बुझ्दै नबुझी लहैलहैमा किन होला, हावा बोल्छन् मान्छेहरू
धान खाने मुसो चोट पाउने भ्यागुतो, उखान यसै बनेको होइन रहेछ,
विनसित्तिमा गलफत्तिको शिकार बन्नुपर्दा, दावा बोल्छन् मान्छेहरू ।
२.
कोही मौन छ भन्दैमा कसैको सम्मानमा, ठेस लगाउन पाइन्छ र
प्रतिक्रिया गर्दागर्दै पनि व्यक्तित्वमाथि, अडेस लगाउन पाइन्छ र
अति भएपछि खति हुन्छ भन्ने कुरा, कहिले नबिर्सौँ है कसैले पनि,
अनाहकमा कसैमाथि हाकीहाकी यत्तिकै, क्लेश लगाउन पाइन्छ र !
३.
नखट्कियोस् कसैलाई, मेरो कुराले भनी, मौन बस्न मन लाग्छ
अनभिज्ञतामा गरेको सद्भावले, चित्त नदुखोस्, भन्न मन लाग्छ
सोधनी नभएको कुरामा मुख नखोल्नू , भन्नुहुन्थ्यो हाम्रो बुवाले,
प्रश्नोत्तरका बखतमा फेरि, गलतलाई सहीले निफन्न मन लाग्छ ।
४.
मेरा कुराहरू सबैलाई, राम्रै लाग्नुपर्छ, भनेर म भन्दिन
अरूका सबै कुराहरूमा, सही थाप्नुपर्छ, भनेर म भन्दिन
स्वतन्त्र छन् यहाँ, सबै रमाउन, आ-आफ्नै मादकतामा,
मागेको बेला सुझाव दिन्छु, मेरै मान्नुपर्छ, भनेर म भन्दिन ।

