मकवानपुर । माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगितामा स्वरुपा गुरागाईं प्रथम भएकी छिन् । मुक्तक मञ्च मकवानपुरले मंगलबार आयोजना गरेको मुक्तक प्रतियोगितामा हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं प्रथम भएकी हुन ।
हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा भएको
प्रतियोगितामा हेटौंडा-५ स्थित जीएस निकेतनकी नित्यश्री अधिकारी द्वितीय र हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा हेटौंडा-१० स्थित तुलसीमेहर मेमोरियल स्कूलकी अनसुया खनाल र अमर माध्यमिक विद्यालयकी समृद्धि बर्तौलाले सान्त्वना स्थान हासिल गरेका छन् । सान्त्वना हुने दुबै जनाले १/१ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ‘असल समाज निर्माणमा विद्यार्थीको दायित्व एवम् जिम्मेवारी’ विषयलाई आधार मानी लेखेका मुक्तक वाचन गरेका थिए । मुक्तक मञ्चको ३४ औं मुक्तक वाचन श्रृङ्खलाअन्तर्गत माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिएको मञ्च मकवानपुर अध्यक्ष सागर तिमल्सिनाले बताए ।
मुक्तक मञ्च अध्यक्ष तिमल्सिनाको सभाध्यक्षता तथा हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

