मकवानपुर । सुर्तीजन्य पदार्थको प्रयोगको कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत लक्ष्मण घिमिरेले विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो।
सुर्तीजन्य पदार्थ सेवनका कारण हुने मृत्युमध्ये करिब २८ प्रतिशत मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको बताउनुभयो। उहाँका अनुसार धूम्रपान सुरु गर्ने औसत उमेर १७.७ वर्ष रहेको छ, जसले युवापुस्तामा बढ्दो जोखिमलाई संकेत गर्छ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा “सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं” रहेको जानकारी दिँदै उहाँले बजारमा उपलब्ध करिब १६ हजार प्रकारका स्वादयुक्त निकोटिन तथा धूम्रपानजन्य उत्पादनले विशेषगरी युवालाई आकर्षित गरिरहेको बताउनुभयो।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख व्यक्तिले आफैं धूम्रपान नगरे पनि अरूले गरेको धूम्रपानको धुवाँका कारण ज्यान गुमाउने गरेका छन्।
हालको अवस्था कायम रहे सन् २०३० सम्म सुर्तीजन्य पदार्थका कारण हुने वार्षिक मृत्यु संख्या एक करोड पुग्ने अनुमान गरिएको छ।
नेपालले सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरेपछि Bloomberg Philanthropies Award प्राप्त गरेको उल्लेख गर्दै हाल २०८२ भदौ १ गतेदेखि १०० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरिएको छ।
घिमिरेले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐनअनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ती सेवन निषेध गरिएको सूचना टाँस्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न नसकेको बताउनुभयो।

