मकवानपुर । मुक्तक मञ्च मकवानपुरले २ जना स्रष्टालाई सम्मानित गर्ने भएकाे छ । मञ्चले २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा २ जनालाई मुक्तक सम्मानबाट सम्मानित गर्ने भएकाे हाे । साेही अवसरमा ३ जना स्रष्ट्राका मुक्तक संग्रह समेत लोकार्पण गरिने भएकाे छ ।
मञ्चले ३० चैतमा २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खला तथा पुस्तक लाेकार्पण कार्यक्रम आयोजना गरी एउटै मञ्चमा स्रष्ट्रा सम्मान र मुक्तक कृति विमोचन गर्ने भएकाे हाे । नेपाली साहित्य क्षेत्रको मुक्तक विधामा दिइएको योगदानकाे कदर गर्दै मुक्तक मञ्च मकवानपुरले २ जनालाई मुक्तक सम्मानबाट सम्मानित गर्न लागिएकाे जनाएकाे छ ।
मञ्चले तारा स्मृति मुक्तक सम्मानबाट चितवनका मुक्तककार बिमला अधिकारी देवकाेटालाई सम्मानित गर्ने भएकाे छ । बिमलाकाे मनकाे किनारा मुक्तक संग्रह २०७५ सालमा प्रकाशित छ । मकवानपुरका साहित्यकार तथा मुक्तक मञ्चका मकवानपुरका संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा पिता तारा प्रसाद पौडेलको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् । सम्मानको राशि स्थापनाको समयमा ५ हजार ५५५ रहेकाेमा २०८० देखि बढाएर ७ हजार ५०० बनाइएको छ। उक्त सम्मानबाट २०७९ सालमा देवराज खरेल मकवानपुर तथा २०८० सालमा हरिकृष्ण काफ्ले रौतहट सम्मानित भएका छन् ।
यसैगरी हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट रुपन्देहीका मुक्तककार रमेश समर्थन सम्मानित हुने भएका छन् । मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाले मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान गर्दै उक्त सम्मान स्थापना गरेका हुन् । मुक्तक विधामा प्रदान गरिने उक्त सम्मानकाे राशि १० हजार रुपैंया रहेको छ। समर्थनकाे ब्रम्हलुट मुक्तक संग्रह २०५३ सालमा प्रकाशित छ । यो सम्मान मञ्चले पहिलो पटक प्रदान गर्न लागेकाे हाे ।
साथै सोही कार्यक्रममा ३ जना मुक्तककारका ३ वटा मुक्तक संग्रह लाेकार्पण हुने भएकाे छ । मकवानपुरे मुक्तककारहरु किशन पौडेल, रामबाबु पहाडी र दिनेश शर्माका मुक्तक संग्रहहरु विमाेचन हुने भएकाे हाे । पौडेलकाे अन्तर्ध्वनी, पहाडीकाे गल्छेडका धुनहरु र शर्माकाे बन्द ढोकाकाे चित्कार मुक्तक संग्रह विमाेचन हुने भएकाे आयोजकले जनाएकाे छ ।
विमोचन गरिने कृति अन्तर्ध्वनीमाथि डीबी बर्तौला, गल्छेडाका धुनमाथि शान्ति प्रीयवन्दना र बन्द काेठाकाे चित्कारमाथि दिपक गौतमले समिक्षात्मक टिप्पणी समेत हुने छ ।

