म ढुङ्गाले बनेको मूर्तिसँग प्यार माग्दैछु ।
कसैको जीतको लागि म आफ्नो हार माग्दैछु ।
निमोठी फूलको घाँटी सजाई माथमा तिम्रो,
कुनै संसार भत्काई नयाँ संसार माग्दैछु ।
मुखौटो हुन्छ मान्छेको, चिनिन्नन् झट्ट हेर्दामा
चिनिन्छन् दुःख पर्दामा र पो जङ्घार माग्दैछु ।
कुँड्याई धारिलो तरबार रोजेँ शान्तिको बाटो,
तिमी निर्दोष काट्दैछौ, म चाहिँ धार माग्दैछु ।
थियो जे जे सबै सुम्पेँ, स्वयं रित्तो भएँ आज,
चितामा ढल्नको लागि कुनै आधार माग्दैछु ।
१५ औं चितवन महोत्सव – २०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रथम स्थान प्राप्त गजल

