मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ ।
शनिबार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरेर ५१ वटा सूचक पूरा भएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ४७ वटा सूचकमा शतप्रतिशत र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हाे ।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ९ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसैगरी २४ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ६०० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ६४६ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूहलगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको र यहाँ बालबालिकाहरुको उपस्थिती तथा बालसवाल महत्वपूर्ण रुपमा हेर्ने गरिएको वडा सदस्य तथा बालमैत्री स्रोत व्यक्ति रञ्जिता सिलवालले बताइन् ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बाल वचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बालअधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरीएको वडाध्यक्ष घिमिरेले बताए ।
जसमा ४७ वटा सूचकहरु १०० प्रतिशत र बाकीं ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधी, २०७९ को मार्गदर्शन घोषणा गर्न लागिएको हो । यस वडाले बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागि तोकिएको सूचकहरु पुरा गरेको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।
घर धुरी सर्वेक्षण २०७९ अनुसार यस वडामा २ हजार ८७५ घरधुरी रहेका छन् । यस वडाको कुल जनसंख्या १४ हजार १२७ जसमध्ये ७ हजार ९८ महिला, ७ हजार २९ पुरुष रहेका छन् । यस वडामा कुल बालबालिका ३ हजार ७९८ छन् जसमा बालक २ हजार १६ र बालिका १ हजार ७८२ रहेका छन्।
वडाध्यक्ष घिमिरेले २०७९ साल मंसिर १५ गते सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण तथा प्रतिवद्धता जाहेर गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अघि बढेको जानकारी दिए । बालमैत्री स्थानीय शासन दिगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थितिपत्र २०८१ र पञ्चवर्षीय रणनीतिक योजना तयार भइसकेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शनअनुसार २०७९ साल भदौ २४ गते बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्त सविन न्यौपाने, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधि, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी बाल संजालमा आवद्ध बालबालिका लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

