मकवानपुर । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने भएकाे छ । सहकारीकाे शनिबार हेटौंडामा भएको १६ औं वार्षिक साधारणसभाले व्यवसाय बृद्धि गर्न बैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हाे ।
साधारणसभा उद्घाटन गर्दै नारायणी यातायात व्यवसायी संघ तथा नेपाल ट्रक ब्यवसायी महासंघका अध्यक्ष हीरालाल श्रेष्ठले २०७५ पछिका दिनमा नेपालमा सबैखाले व्यवसायमा समस्या आएको बताउँदै सहकारीले मोटर पार्टस्, लुब्रिकेन्ट्स, टायर आदिको बजारमूल्य नियन्त्रण गर्न महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे । सहकारीले सरल मूल्यमा पार्टस् तथा टायर सवारीधनी उपभोक्तालाई उपलब्ध गराएकै कारण बजारमूल्य नियन्त्रणमा रहेको भन्दै सहकारीका सल्लाहकार समेत रहेका श्रेष्ठले यातायात ब्यवसायी बचाउन पनि सहकारी सक्षम हुनुपर्ने बताए ।
सहकारीका अध्यक्ष किरण पौडेलले २०६ जना सेयर सदस्य मिलेर १६ वर्षअघि स्थापना गरेको सहकारीमा पछिल्ला वर्ष सदस्य छोड्ने प्रबृत्ति बढ्दै गएर हाल एक सय १५९ मात्रै कायम भएकाे बताए । यातायात व्यवसायीले आफ्नो सवारी साधनमा गुणस्तरीय पेट्रोलियम, टायर, लुब्रिकेन्टस् र स्पेयर पार्टस् प्रयोग गर्ने वातावरण सहकारीले उपलब्ध गराएको स्पष्ट पार्दै अध्यक्ष पौडेलले सहकारीका ५० भन्दा बढी सेयर सदस्यले ९५ लाख रुपैयाँ भन्दा बढी रकम लामो समयदेखि उधारो नतिरेका कारण चालुपूँजी नै अभाव भएको बताए ।
सहकारीका पूर्वअध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यातायात व्यवसाय नै संकटमा परिरहेको अवस्थामा सहकारी संस्थामा समस्या आउनु सामान्य मान्दै संघसँग सहकार्य गरी आगामी दिनमा प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा सेयरसदस्य बद्रीप्रसाद चौलागाई, सहकारीका कोषाध्यक्ष कुमार बर्तौलाले सहकारीले सोचेअनुरुप लगानीको प्रतिफल प्रदान गर्न नसकेको गुनासो गरेका थिए ।
गत आर्थिक वर्षमा सहकारीले गोसाईकुण्ड आयल सेन्टरतर्फ २३ करोड ४४ लाख ८५ हजारको कारोबार गरी एक लाख ३८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै सहकारीले संचालन गरेको मोटरपार्टसबाट ३ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार गरी ६ लाख ३५ हजार रुपैयाँ मुनाफा गरेको प्रतिबेदनमा छ । सहकारीमा हाल १० जना कर्मचारी रहेका छन् ।
सहकारीले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाट र सचिव कुलप्रसाद चौलागाईंलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको थियो । साधारण सभामा सहकारीका सल्लाहकार सरोजकुमार खनाल, अर्जुन शर्मा कडेंल, नारायणी पेट्रोलियम बिक्रेता संघका अध्यक्ष उत्सव ईटेनी, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।

