मकवानपुर । नारी सिर्जना केन्द्र नेपालको १२ अधिवेशन तथा २८ औ बार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
निवर्तामान अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवशनले नानी माया चापागाईलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यसैगरी केन्द्रको उपाध्यक्षमा दुर्गा देवि दास, सचिव रेनु गुरुङ, कोषाध्यक्ष ईश्वरी पोखरेल (चालिसे) तथा सदस्यहरूमा सुन्तली माया प्रजा, सर्मिला विश्वकर्मा र दानमाया श्रेष्ठ चयन भएका छन् ।
केन्द्रको संस्थापक अध्यक्ष तथा राष्ट्रिय समावेशी आयोग कार्यवाहक अध्यक्ष विष्णु ओझाको उपस्थितिमा भएको साधारण सभामा केन्द्रका फिल्ड कोर्डिनेटर गिता अर्यालले संस्थागत र कार्यक्रम प्रतिवेदन पेश गरेकी थिइन् । यसैगरी कोषाध्यक्ष रेणु गुरुङले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाले आर्थिक बर्ष २०८०।०८१ मा दातृ निकायबाट २ करोड ३१ लाख ७३ हजार ३४९ रुपैया अनुदान प्राप्त गरेको थियो । जसमा बाख्रा पालन, मौरी पालन, बेमौसमी तरकारी खेती तथा सिपमुलक तालिम प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले जलवायु परिवर्तनको प्रभाव घटाउन विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै सहकारीसंग समन्वय गरि बजारीकरणको लागि समेत सहजीकरण गर्दै आएको फिल्ड कोर्डिनेटर अर्यालले बताइन् । कार्यक्रममा केन्द्रको पुर्व कोषाध्यक्ष मुनु सिग्देल, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरति पाठक हेटौंडा उपमहानगरपालिकाका भिमप्रसाद तिमल्सिना, सन्जाल सहसंयोजक तथा माइती नेपाल मकवानपुर प्रमुख माया लामा समेतको उपस्थिती रहेको थियो ।

