मकवानपुर । बागतमी प्रदेश सभा सभा सदस्य तथा पूर्व मन्त्री एकालाल श्रेष्ठले बालबालिकाको सर्वोपरी विकासको लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु भएको छ । भौतिक विकाससँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्दै सुधारको लागि सबै निकायसँग सहकार्य गर्ने उहाँले बताउनुभयो ।
मानव बेचविखनको बदलिदो स्वरूप, चुनौती, कानुनी प्रावधान र भावी रणनीति सम्बन्धी एक दिवसीय कार्यशालामा हेटौडामा उहाँले यस्तो बताउनुभएको हो । सहभागीहरुले बालविवाह र मानव बेचबिखनबीचको अन्तरसम्बन्ध, सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत बढ्दै गएको बेचबिखनको जोखिम, असल अभिभावकत्वको आवश्यकता, जोखिममा रहेका बालबालिकाको पहिचान, उद्धार, पुनर्स्थापना तथा मनोसामाजिक सहयोगका विषयमा छलफल गरिएका थिए ।
कार्यशालामा सहभागीहरुले मानव बेचविखनको बदलिदो स्वरूप सबैभन्दा चुनौतिपूर्ण भएको बताएका थिए । कार्यक्रममा सहभागीहरुले दीर्घकालीन समाधानको लागि सुझाव समेत प्रदान गरेको माइती नेपालकी कार्यक्रम संयोजक तथा सञ्जाल उपाध्यक्ष माया लामाले बताइन् ।
इस्थर बेन्जामिन स्मृति संस्थाका कार्यकारी निर्देशक आत्माराम थापा र अधिवक्ता जगन्नाथ सुवेदीले सहजिकरण गर्नुभएको कार्यक्रममा बागमती प्रदेशको समस्याका रुपमा दुर्व्यशन, हिंसा, बलात्कार, बाल विवाह, बहुविवाह, बालबालिकाको साइवर दुरुपयोग, सामाजिक सन्जालमा अभिभावकको व्यस्तता र बालबालिका प्रतिको बेवास्ता अशुरक्षित बैदेशिक रोजगारीको यात्रा र त्यसले निम्त्याउने शोषणको जालो आन्तरिक मानव बेचविखन रहेकोले बताइएको थियो ।
नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेको सुवेदीले बताउनुभयो । प्रदेशमा नीति तथा प्रणालीगत चुनौती पनि अधिक रहेको उहाँले बताउनुभयो । स्थानीय तहमा भरपर्दो तथ्याङ्कको अभाव, संघ-प्रदेश-स्थानीय तहबीच समन्वयको कमी, नयाँ प्रविधिसँग सम्बन्धित साइबर जोखिम बढ्दो समस्या कानुनी कार्यवाहीमा ध्यान नपुर्याइने जस्ता कारण पनि समस्या रहेकाे छलफलमा बताइएको थियो ।
सञ्जाल अध्यक्ष आरती पाठकले बेचविखन विरुद्धको अभियानमा गैससहरुको सहकार्य सधै रहने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख देवेन्द्रराज आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका जयश्वर चापागाई, सञ्जालकी पूर्व अध्यक्ष एवं हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी बाईवा बागमती प्रदेश को प्रदेश बाल अधिकार समितीको सदस्य प्रकाश खतिवडा, हेटौँडा उपमहानगरपालिकाकी गंगा चौलागाई, गैसस महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।
मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको संजालको आयोजना तथा इस्थर बेन्जामिन स्मृति संस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो ।

