मकवानपुर । नारायाणी यातायत व्यवसायी कम्पनी प्रा.लिले सवारी धनी, चालक र सहचालकको हितमा हुने गरी विशेष राहत कोषको सुरुवात गरेको छ ।
कार्यक्षत्रमा खटिदा सवारी दुर्घटनाको कारण ज्यान गुमाएका सवारी धनी, चालक र सहचालकको परिवारलाई राहत हुने गरी कम्पनीले ५ लाख रकम प्रदान गर्न सुरु गरेको हो । अब यस कम्पनीमा आवद्ध सवारी धनी, चालक र सहचालकको सवारी दुर्घटनामा ज्यान गुमेमा आश्रित परिवारले कम्पनिबाट ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यो राहत नेपाल सरकारले व्यवस्था गरेकाे मजदुर बीमा अन्तरगत प्राप्त हुने ५ लाख बाहेकको राहत रकम हाे । ‘नियम अनुसार बीमाबाट पाउने ५ लाख छंदैछ हामीले कम्पनीबाट छुट्टै थप राहत दिन सुरु गरेका हौ’ नारायणी यातायात कम्पनी प्रा.लिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले भन्नुभयाे । ‘दुर्घटनामा कसैकाे ज्यान नजाओस् यसरी राहत दिनुपर्ने परिस्थति नआओस्, यदि परिआएमा हामीले केही राहत दिउँ भनेर सुरु गरेका हौं’ पराजुलीले भन्नुभयो ।
कम्पनीले कार्यविधि बनाएर यो राहत कोषको थालनी गरेकाे बताइएको छ । विशेष राहत कोषमा सहभागी गराउनको लागि कम्पनीले प्रति सवारी धनीसँग वार्षिक १ हजार ५ सय लिने गरेको छ । सवारी धनी एक जनाले तिरेको वार्षिक १ हजार ५ सयबाट दुर्घटनामा ज्यान गुमेमा परिवारलाई राहत ५ लाख प्रदान गरिने पराजुलीले बताउनु भयो ।
यस कार्यक्रमको पहिलो लाभ हेटौडा ३ निवासी २४ वर्षिया सर्मिला न्यौपानेले प्राप्त गर्नु भएको छ । विहीबार कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुले सर्मिलालाई रकम हस्तान्तरण गरेको सञ्चालक खेम काफ्लेले बताउनुभयो । कम्पनीमा २ हजार ४ सय ७५ सवारी धनीहरु आवद्ध छन् ।
को हुन् सर्मिला
१८ महिना अघि विवाह गरेकी हेटौडा ३ बसामाडिकी २४ वर्षिया सर्मिला न्यौपानेको काँधमा पारिवारिक जिम्मेवारी थपिएको छ । काखमा छ ८ महिनाको छोरा, साथमा हुनुहुन्छ ७३ वर्षिया सासु रामकुमारी बर्तौला । यि नाबालक र वृद्ध सासुको साहारा बन्नु परेको छ २४ वर्षिया सर्मिला।
उनका श्रीमान् ३० वर्षीय दलबहादुर बर्तौला सवारी चालक हुनुहुन्थ्यो । गत जेठ १६ गते कान्तिराजपथ अन्तरग बगुवा खोला नजिकै दलबहादुरले चलाएको ट्रक दुर्घटना भयो । र घटना स्थलमै दलबहादुरको ज्यान गयो ।
हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ट्रक भएको थियो । राति खोलामा डुबेको ट्रक केही घण्टापछी निकालिएको थियो । खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट निकाल्दा चालकको शव चालक सिटमा नै भेटिएको थियो ।

