मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहापालिकाका उपभोक्तालाई दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी वितरण हुँदै आएकाे छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका उपभाेक्तालाई उक्त परिमाणकाे प्रशाेधित पानी वितरण गर्दै आएकाे हाे ।
हेटौंडा उपमहापालिकाकाे १७ वटा वडामा पिउने पानी वितरण हुने गरेकाे खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । १९ वटा वडा रहेकाे उपमहानगरमा वडा नम्बर १२ र १३ बाहेकका वडामा पिउने पानी वितरण हुँदै आएकाे छ । करिब १ लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको न्यौपानेले जनाकारी दिए । उनका अनुसार उपमहानगरका विभिन्न वडामा बाेर्ड मार्फत हालसम्म २९ हजार ८ सय ३ वटा धारा जडान गरिएको छ ।
बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको बतांइएकाे छ । बोर्डले कार्यालय परिसरभित्र अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेट खरिद गरेको जनाएको छ ।
बोर्डले हेटौंडा–१४ मा डिपट्युवेल, २ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरेको बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौंडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेल निर्माण र करिब साढे ३ किलोमिटर पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको सापकोटाले बताए ।
यसैगरी हेटौंडा–१५ को सानो सुकौलीमा बोर्डले १ लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौंडा–११ थाना भर्याङको सिमलटार क्षेत्रमा हाल २ वटा समवेल, ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की तथा घर निर्माण गरिएको प्रमुख सापकोटाले बताए । हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानी ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी प्रत्येक घरमा खानेपानीको व्यवस्थापन गरेकाे बताइएकाे छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गरेका क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ। हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा पम्पिङ प्रणालीमा आधारित केही स्थानमा अल्पकालीन समस्या देखिए पनि समग्र नगर क्षेत्रमा खानेपानी आपूर्ति सहज रहेको बोर्डले जनाएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार तीव्र शहरीकरण र जनसंख्या वृद्धि भइरहेका बेला पनि दीर्घकालीन योजना, स्रोत व्यवस्थापन तथा पूर्वाधार विस्तारका कारण नगरवासीले खानेपानी अभावको समस्या भोग्नुपरेको छैन।
“नेपालका धेरै शहरमा सुख्खा मौसममा पानीको हाहाकार हुने अवस्था छ, तर हेटौंडामा स्रोत संरक्षण, पूर्वाधार विस्तार र व्यवस्थापनका कारण नियमित सेवा दिन सफल भएका छौं,” अध्यक्ष विष्टले बताए। बोर्डका अध्यक्ष विष्टका अनुसार हाल खानेपानीको मुख्य स्रोतमा एक सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल रहेका छन्। पानी भण्डारण क्षमता ८ हजार ९५२ घनमिटर रहेको छ भने करिब ८०० किलोमिटर लम्बाइको मुख्य तथा शाखा पाइपलाइनमार्फत वितरण प्रणाली सञ्चालन भइरहेको छ।
क्रमागत योजनाअन्तर्गत हेटौंडा–९ बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, हेटौंडा–१४ मा डिप ट्युबवेल तथा २ लाख लिटर क्षमताको ट्यांकी निर्माण, हेटौंडा–१५ मा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युतीकरणका काम अघि बढिरहेका छन्।
यसैगरी बेतखोल्ची डाँडादेखि स्मृति चोकसम्म मुख्य पाइपलाइन विस्तार, रोटरी पम्प हाउसदेखि पिस पार्कसम्म करिब ४ किलोमिटर डिआई पाइपलाइन विस्तार तथा बुङ्दल मुहानदेखि सामरी पुलसम्म इन्टेक निर्माणसहित पाइपलाइन सुधार कार्य पनि सञ्चालनमा रहेको बोर्डले जनाएको छ।

