मकवानुर । पतञ्जलि योग समिति मकवानपुरले स्थापना भएको १९ वर्ष पूरा गरेको अवसरमा आज मानव सेवा आश्रम, हेटौंडामा आश्रित लक्ष्मीनारायणहरूलाई भोजन गराउने विशेष सेवा कार्यक्रम आयोजना गरेको छ।
समितिले १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमको समापनसँगै स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पतञ्जलि योग समिति मकवानपुर, पतञ्जलि महिला समिति, पतञ्जलि युवा समिति, नगर समिति तथा विभिन्न योग साधना केन्द्रका पदाधिकारी, साधक–साधिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
आश्रममा आश्रित ज्येष्ठ नागरिक, असहाय तथा अभिभावकविहीन व्यक्तिहरूलाई सम्मानपूर्वक भोजन गराइएको थियो। सहभागीहरूले सेवा नै धर्म भएको भावना अनुरूप मानव सेवामार्फत योगको वास्तविक मर्मलाई व्यवहारमा उतार्ने प्रयास गरिएको बताएका थिए। पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले योग केवल शरीरलाई स्वस्थ राख्ने अभ्यास मात्र नभई मानवीय संवेदना, सेवा, करुणा र सकारात्मक जीवनदृष्टि विकास गर्ने माध्यम भएको बताउनुभयो।
उहाँले समाजका विपन्न, असहाय तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूप्रति उत्तरदायी बन्नु नै योगको वास्तविक सन्देश भएको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले पतञ्जलि योग समिति मकवानपुरले विगत १९ वर्षदेखि योग, स्वास्थ्य, संस्कार, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको चर्चा गरेका थिए।
उनीहरूले आगामी दिनमा पनि योगलाई जनजीवनसँग अझ नजिक पुर्याउने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। मानव सेवा आश्रममा आयोजित भोजन सेवा कार्यक्रमसँगै पतञ्जलि योग समिति मकवानपुरले आफ्नो १९ औँ स्थापना दिवसलाई सेवामूलक र मानवीय कार्य गरेको बताइन् ।

